|

काठमाडौं :  प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतमा बुधबार बहस सकिएको छ। बुधबार बिहान रिट निवेदक कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालको तर्फबाट अधिवक्ताहरुले प्रत्युत्तर बहस गरेपछि बहस सकिएको हो। बुधबार नै साँझसम्म फैसला आउने सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र तेजबहादुर केसीको पूर्ण इजलासमा भएको सुनुवाईको फैसला आएपछि प्रहरीको नेतृत्व चयनमा १७ दिनदेखि देखिएको अन्योल अन्त्य हुनेछ।

सरकारले वरियता मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गर्ने तयारी गरेको भन्दै माघ अन्तिम हप्ता नै सर्वोच्च अदालतमा अधिवक्ता कपिलदेव ढकालले रिट निवेदन दायर गरेका थिए। तर सरकारले फागुन १ गते तेश्रो बरियतामा रहेका डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्ति गर्‍यो।

सर्वोच्च अदालतले त्यसै दिन ढकालको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चन्दलाई महानिरीक्षक नबनाउन अन्तरिम आदेश दिएको थियो। फागुन १ गते नै पहिलो वरियताका डीआईजी नवराज सिलवालले पनि वरियता र कार्यसम्पादनमा आफू सक्षम रहेकाले महानिरीक्षक नियुक्ति गर्नुपर्ने दावी गर्दै रिट दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई विपक्षी बनाइ दायर भएको दुबै रिटमा सर्वोच्चले एकैपटक सुनुवाई गरेको छ।

अघिल्लो हप्ता बुधबार रिट निवेदकको तर्फबाट बहस भएको थियो भने बिहीबार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए। त्यसपछि सोमबार डीआईजी जयबहादुर चन्द पक्षका अधिवक्ताहरुले बहस गरेका थिए। बुधबार रिट निवेदको तर्फबाट प्रत्युत्तर बहस भएपछि बहस सकिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.