|

अर्घाखाँची : जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १   का ७८ वर्षीय रोमप्रसाद खनाल आजभोलि बस चढेर सदरमुकाम सन्धिखर्क बुटवल जान पाउँदा निकै खुसी छन्। 

पहिला पहिला  हप्तौं दिनको बाटो पैदल हिँडेर पथ्थरकोट, बुटवल, कृष्णनगर घ्यू बेच्न जाने र  बर्षदिन पुग्ने लत्ताकपडा , नुन ल्याएर गुजारा चलाउदै आएका उनी भन्छन्, बाच्नुपर्छ, सबै देख्न पाइँदो रहेछ। अहिले घर घरमा बस आउँदा आफूलाई निकै खुसी लागेको उनले बताए।

२०१७ सालमा कृष्णनगर पुगेर आफूले गाडी देखेको स्मरण गर्दै खनालले भने, अहिले जे चाहिए पनि घरैमै गाडीले ल्याएको छ। ७३ वर्षीय धनिश्वर खनालले गाडी देख्न कृष्णनगर जानू पर्दथ्यो, अहिले आफ्नो  गाँउमा बस देख्न पाउँदा निकै खुसी छु।

उनले भने, 'आफूले विगतमा दु:ख कष्ट पाएको सँम्झिदा विरक्त लागेर आउँछ तर घरमै गाडि आउँदा अहिलेका नयाँ पुस्तालाई दु:ख के हो थाहा छैन ।'

७१ वर्षीय माधव खनालको खुसी पनि उस्तै छ। सबै सु:ख घरमै आएकाले मन खुसी भएको  उनले बताए। पहिलो पटक गाउँमा बस आउँदा खुसीले बन्चेबाजा बजाएर स्थानीय छमछमी नाचेका थिए।

भुमिकास्थान–१ साम्नेगाउँको छेंडापोखरी बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजासहित बस चालक र सहचालकलाई फूलमाला र अबिर लगाई दिएका थिए।

२०६१ सालमा स्थानीयले कोदालोले बाटोको ट्र्याक खनी जिपसेवा सञ्‍चालन भएको साम्नेगाउँमा १५ वर्षपछि पहिलो बस पुगेपछि यहाँका स्थानीय हर्षित भएका हुन्।  वडा नम्बर १ को डाँडा–धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखते र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर–२ का सिउते–सिउडेनी–बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित भएका छन्।

अझ बढी सहयोग गर्छौं : नगर प्रमुख थापा

 नगरकै वडा नम्बर १० पाकुमा ट्याक खनेको २५ वर्षपछि पहिलो पटक बस गाउँमा पुगेपछि स्थानीय निकै खुसी छन्।  नगरप्रमुख रेशम थापाले रिवन काटेर सडक उद्दघाटन गरे।

उद्दघाटन समारोहमा सम्बोधन गर्दै नगरप्रमुख थापाले साँघुरो सडकलाई अझ फराकिलो बनाउने, नियमित बस सञ्‍चालन गर्ने र सडकलाई कालोपत्रे गर्ने योजना अनुरूप नगरपालीका अगाडि बढेको बताए।

नगरको सबै वडामा बाटो पुगेको छ। अब नगरको योजना भनेको सडकको स्तरोन्नति कालोपत्रे गर्ने रहेको नगरप्रमुख थापाले बताए। वडा अध्यक्ष खगिश्वर पन्थीले धेरै जनताको अथक प्रयास बाट गाँउमा बस ल्याउन सफल भएको बताए।

वडा तथा नगरपालिकाको करिब एक करोड पचास लाखको लागतमा डेवा-पुत्के,डोढुवा –रातामाटा हुँदै पाकु गाउँसम्म पहिलो पटक बस ल्याइएको हो।  स्थानीय प्रेम शर्माले बिकासले गति लिँदा एक युगको अन्त्य भएको बताए।  २०५३ सालमा गाउँलेले कोदालोले खनेर ट्याक खोलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.