|

ओखलढुंगा : आगामी आर्थिक वर्षको बजेट भाषण सुनेपछि ओखलढुंगाको लिखु गाउँपालिका-६ का गौरीनारायण श्रेष्ठ निकै खुसी भएका छन्‌। आफूले पाउँदै आएको वृद्धभत्ता एक हजार रुपैयाँले वृद्धि गरिएको सुनेपछि उनी खुसी भएका हुन्‌।

​आफ्नो घर भएर बाटो हिँड्नेहरूलाई शनिबारदेखि नै उनले 'ए नानी ! अब हामीलाई सरकारले नै पाल्ने भयो नि!' भन्दै सुनाइरहेका थिए। उनी आफ्नो पेन्सन बढ्यो भन्दै खुसी देखिन्थे।

सामान्य खेतीपाती र ज्यालादारीमै सक्रिय जीवन निखारेका उनलाई अशक्त हुँदै गएपछि राज्यले दिँदै गरेको सामाजिक सुरक्षा भत्ताले भरथेग गरिरहेको छ। भत्ता बढेपछि अब आफूलाई खान/लगाउन ढुक्क भएको उनी बताउँछन्।

यतिबेला गाउँका सबै बृद्धबृद्धाहरू निकै खुसी छन्। लिखु गाउँपालिका-६ कै भमाया रम्तेल भत्ता बढेको खबर सुनेपछि गद्‌गद् भएकी छिन्। 'ज्यानमा तागत होउञ्जेल अरूकहाँ काम गरेँ। बिहान-बेलुकै नघोटिए भोकै बस्नुपर्ने हुन्थ्यो, उमेर पुगेपछि अहिले सरकारले नै पालेको छ, निकै खुसी लागेको छ।' सरकारले भत्ता बढाएपछि थप ढुक्क भएको उनी बताउँछिन्। 

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि गौरी नारायण र भमाया मात्रै होइनन्‌, यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन्। मासिक तीन हजार रुपैयाँका दरले भत्ता बुझिरहेका वृद्धवृद्धा त्यसमा थप एक हजार बढेर चार हजार रुपैयाँ पाउने भएपछि उनीहरू खुशी भएका छन्।  

सरकारले भत्ता बढाएको खबर छिमेकीबाट थाहा पाएपछि लिखु गाउँपालिका-६ की ८१ वर्षीय पद्मा कुमारी भट्टराई पनि निकै खुशी छन्। मासिक ३ हजार रुपैयाँ बुझ्दै आएकी भट्टराई मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउने भएपछि आफ्ना छोरालाई 'अब त मेरो पनि भत्ता बढ्यो, तिमीहरूले अब खासै केही दिनुपर्दैन, मेरा लागि सरकारले खर्च दियो' भन्दै थिइन्‌। 

नेपालमा सामाजिक सुरक्षा भत्ता शुरू गरेका 'मनमोहन अधिकारीले दिएको' १०० रुपैयाँ दर अहिले बढेर ४ हजार रुपैयाँ पुगेपछि सरकारलाई बृद्धबृद्धाहरूले धन्यवाद दिएका छन्‌।

वि.सं. २०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला वृद्धभत्ता कार्यक्रम थालनी भएको थियो। वृद्धावस्था लागेदेखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तान पालेसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकहरू बताउँछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.