‘प्रतिगमनविरुद्ध सम्पूर्ण तागत लगाएँ’

|

चितवन : पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावपछिको अवधि नमिठो रहेको बताएका छन्। भरतपुरमा निर्माण हुन लागेको बहुउद्देश्यीय व्यापारिक भवन ‘भरतपुर मेट्रो प्लाजा’को आज बुधबार शिलान्यास गर्दै प्रचण्डले निर्वाचनका बेला प्रतिबद्धता गरेअनुसार काम गर्न नपाएको दु:खेसो गरे।

आफैँले बनाएको प्रधानमन्त्री आफूप्रति पूर्वाग्रही बनेको उनले आरोप लगाए। यद्यपि कांग्रेससँग गठबन्धन गरेर सरकार बनाएपछि वातावरण सहज भएको उनले बताए। निर्वाचनका बेला अबको बाँकी जीवन सामाजिक न्यायसहितको विकासका लागि भनेर प्रतिबद्धता जनाएको तर त्यसअनुसार काम गर्न नपाएको उनले बताए। 

‘निर्वाचनपछिको अवधि मिठो रहेन हाम्रा लागि। नारायणी र राप्तीमा तटबन्ध गर्ने, रिङरोड बनाउने, माडी जाने बाटोमा ओभर ब्रिज बनाउने वा अण्डरग्राउण्ड लैजान, पाँच वर्षभित्रमा सबै बाटो पिच गर्ने जस्ता सबै किसिमका विकासलाई गति दिने भनेर संकल्प गरेका थियौँ। बडो मुश्किलले मात्रै यति भयो’, उनले भने।

भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना भए पनि त्यसलाई अघि बढ्न नदिइएको उनले आरोप लगाए। ‘आफ्नै पार्टीको सरकार थोरै भए पनि चितवनप्रति सकरात्मक भएको भए धेरै क्रान्तिकारी रुपमा विकासका आयोजना अघि बढ्ने थियो’, उनले भने, ‘पीडाका साथ भनिरहेको छु। आफैँले बनाएको प्रधानमन्त्री चितवन र मप्रति पूर्वाग्रही बने।’

पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा पुनःस्थापना हुन्छ भन्नेमा थोरै मान्छेलाई मात्रै विश्वास रहेको उनले बताए। प्रतिकूल अवस्थामा पनि जनताको साथ रहेको उनले बताए। आफ्नो अभियानमा राम्रा दिमाख भएका सबैले साथ दिएको उनको भनाइ थियो।

‘मैले आफूभित्रको सम्पूर्ण तागत लगाएर यो प्रतिगमन नै हो, नेपाललाई अँध्यारो सुरुङभित्र हालेर नेपाली जनतालाई फेरि भुमरीमा पार्ने हो भनेर पूरै ताकतको साथ देशव्यापी अभियानमा लागेको देख्नुभएकै होला’, उनले भने।

‘विकास प्राधिकरणमार्फत विकास गर्ने सपना’

मकवानपुरको हेटौंडादेखि नवलपुरको दाउन्नेसम्मको भूभागको विकास गर्न विकास प्राधिकरण बनाउने आफ्नो सपना रहेको प्रचण्डले बताए।। यस भूभागलाई समेटेर विकास प्राधिकरणको अवधारणाअन्तर्गत पर्यटन, शिक्षा र कृषिको क्षेत्रमा वृहत्तर रुपमा विकास गर्न सकिने उनको भनाइ छ।

‘मध्यवर्ती जनताको रक्षाका लागि मेस जाली बनाउनेदेखि रिउ कोरिडोर बनाउने कुरामा अबको मेरो ध्यान बढी केन्द्रित हुनेछ’, उनले भने, ‘चितवनको विकासका निम्ति वातावरण सहज भएको छ।’ आफ्नो गठबन्धनको सरकारले नारायणी नदी तटबन्धका लागि बजेट विनियोजन गर्ने कुरामा कन्जुस्याइँ नगर्ने उनले विश्वास व्यक्त गरे। 

विकासलाई तीव्रता दिन निजी क्षेत्रसँग भएको स्रोत साधन र क्षमतालाई राज्यले सदुपयोग गर्नुपर्ने उनले बताए। नेपालको राज्य व्यवस्था र संरचनाले निजी क्षेत्रलाई सकरात्मक ढंगले हेर्ने उदारता देखाउने इतिहास नरहेको भन्दै उनले सार्वजनिक निजी साझेदारीबाट नै समाजवाद उन्मुख विकास गर्न सकिने बताए।

आफ्नी छोरी रेणु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिकाले भ्रष्टाचार र अनियमितता नियन्त्रणमा उदाहरणीय काम गरेको उनले बताए। काठमाडौँ महानगरको बेरुजु एक अर्बमाथि हुँदा भरतपुरमा जम्मा १० करोड भएको भन्दै उनले महानगर नेतृत्वको प्रशंसा गरे।

भरतपुर महानगरभित्र लगभग सबैजसो बाटो पिच भइसकेको उनले बताए। अबको एकवर्षभित्र सबै बाटो पिच बनाउने आफ्नो संकल्प पूरा हुने उनले विश्वास व्यक्त गरे। मेट्रो प्लाजा बहुउद्देश्यीय मात्र नभएर बहुआयामिक भवनसमेत हुने भन्दै उनले गुणस्तरमा कुनै कमी हुन नदिन कम्पनीलाई आग्रह गरे।

मेट्रो प्लाजा निर्माण गर्न महानगरले आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालीलाई महानगरको स्वामित्वमा रहेको लायन्सचोक पुरानो सब्जीमण्डीको ११ कठ्ठा पौने धुर जग्गा भाडामा दिएको हो। मेट्रो प्लाजा निर्माण गर्न जग्गा भाडामा दिने र ३० वर्षपछि लिने विषयमा महानगर र आर्या बिल्डर्स बीच साउन २४ गते सम्झौता भएको थियो।

सम्झौताअनुसार तीन वर्षमा मेट्रो प्लाजा निर्माण गरिसक्नुपर्छ। दुई वटा बेसमेन्ट पार्किङसहित १६ तलाको हुने मेट्रो प्लाजामा पाँच तारे होटल, सिनेमा हल, बैंक, मिटिङ तथा कन्फ्रेन्स हल, फुड कोर्ट लगायतका व्यवसाय सञ्चालन हुने सम्झौतामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.