|

डडेल्धुरा :  डडेल्धुराबाट सुदूरपश्चिम प्रदेशसभामा नयाँ अनुहारले प्रवेश पाउने भएको छ। प्रदेशसभा–१ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा–२ बाट स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी निर्वाचित भएका छन्।

भट्ट र जोशी पहिलो पटक प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन्। यसअघि यहाँबाट सुदूरपश्चिम सरकारमा प्रतिनिधित्व गरेका बहालवाला सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पराजित भएका छन्।

बोहरा २०७४ मा नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए। पठान भने प्रत्यक्षबाट निर्वाचित हुँदै प्रदेशसभा सदस्य बनेका थिए। २०७४ मा वाम गठबन्धनका तत्कालीन उम्मेदवार बोहराले नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई २ हजार १६९ मतले पछि पार्दै विजयी भएका थिए।

बोहराले १३ हजार ५६३ मत ल्याउँदा भट्टले ११ हजार ३९४ मत पाएका थिए। बोहरा गत चैत अन्तिम साता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए। पठानसिंह २०७४ फागुनमा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।

नेकपा विभाजनपछि उनलाई २०७७ पुसमा मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए। केपी शर्मा ओली पक्षमा रहेका मन्त्री बोहरालाई भट्टले पदमुक्त गरे। दोस्रोपटक प्रदेशसभा सदस्य बन्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका बोहरालाई यसपटक जनताले अनुमोदन गरेनन्।

उनलाई वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार भट्टले पराजित गरे। भट्ट १२ हजार १ सय १२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भए। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले एमालेका बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरेका हुन्। बोहराले ९ हजार १ सय ९५ मत पाए।

यसबाट प्रत्यक्ष चुनाव जित्दै दोस्रोपल्ट प्रदेशसभा प्रवेश गर्ने मनस्थिति बनाएका गोविन्दराजको सपना पूरा भएन। उनी स्वतन्त्र उम्मेदवार जोशीसँग पराजित भए। पहिलो पल्ट प्रदेशसभामा विजयी भएका जोशीले ११ हजार १ सय ६२ मत पाउँदा बोहराले १० हजार ७ सय ३७ मत ल्याए। बोहरा र जोशीबीचको मतान्तर ४ सय २४ रह्यो।

यसअघि चुनाव हारेका नेता भट्ट र जोशी

डडेल्धुरामा सक्रिय राजनीति गरिरहेका भट्ट र जोशी अघिल्ला चुनावमा पराजित हुँदै आएका उम्मेदवार हुन्। भट्ट संसदीय राजनीतिमा तीन पटकसम्म हारेका नेता हुन्। उनी नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन पटक चुनाव हारे।

संसदीय निर्वाचनमा देउवाको छायामा परिरहेका नेता भट्टले यसपटक भने हारको श्रृंखलालाई तोडे। उनलाई हारको खराब रेकर्ड तोड्न १५ वर्ष लाग्यो। उनी देउवासँग ०६४, ०७० र ०७४ को चुनावमा पराजित भएका थिए। यसपल्ट भने देउवाको पार्टी नेपाली कांग्रेसको सहयोगमा भट्ट विजयी भएका हुन्।

यसैगरी जोशीले पनि हारको श्रृंखलालाई तोडेका छन्। उनी दुई पटक नेपाली कांग्रेसका उम्मेदवारसँग चुनाव हारे। उनी पहिलो पटक ०७० को संविधानसभा चुनाव लडे। तर, सफल हुन सकेनन्। एमालेबाट चुनाव लडेका उनी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो भए।

त्यसपछि उनी तत्कालीन वाम गठबन्धनबाट एमालेका उम्मेदवार बन्दै जोशीले ०७४ सालको निर्वाचनमा प्रतिस्पर्धा गरे। उनी त्यतिबेलाको प्रदेशसभाको चुनावमा झिनो मतले पराजित भए। जोशी तत्कालीन नेपाली कांग्रेसका कर्णबहादुर मल्लसँग ३ सय ५६ मतले हारेका थिए।

मल्लले १३ हजार ४१३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए। अहिले तिनै मल्लको समर्थनको जोशीले चुनाव जितेका हुन्। नेपाली कांग्रेस वीपीका मल्लले जोशीलाई समर्थन गरेका थिए। जोशीले प्रतिनिधिसभामा मल्ललाई सहयोग गरे।

नेकपा एकीकृत समाजवादीका नेता जोशीलाई वाम–लोकतान्त्रीक गठबन्धनले टिकट दिएन। त्यसपछि उनी स्वतन्त्र भएर चुनाव लडे। र, प्रदेशसभा सदस्यमा यहाँका जनताले अनुमोदन गरिदिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.