|

काठमाडौं : नेकपा एमालेले भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल थाल्न माग गरेको छ। आइतबार राति मतगणनास्थलमा उत्पन्न तनावपछि रोकिएको मतगणना सुरु गर्न एमालेले माग गरेको हो।

नेकपा एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका उम्मेदवार हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाएको छ। 'घटनाका दोषीलाई कानुनी कारबाही गर्न र मतगणना कार्य तत्काल सुचारु गर्न' एमालेको माग छ।

आइतबार राति मतगणनास्थलमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चितकालसम्म स्थगित भएको हो। भरतपुर- १९ को मतगणना जारी रहँदा मध्यरातमा उत्पन्न तनावका क्रममा मतपत्र च्यातिएपछि मतगणना रोकिएको हो।

च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्रहरु गणना गर्न माग गरे पनि सुनुवाई नगरिएको एमालेको आरोप छ। 'च्यातिएको मतपत्र र घटनाको बारेमा सत्य तथ्य जानकारी मिडियामार्फत सार्वजनिक गर्न र च्यातिएका मतपत्रहरु अलग राखी बाँकी मतपत्रहरु तत्काल गणना गर्नुपर्दछ भन्ने निर्वाचन अधिकृत समक्ष माग राखेका थियौँ तर निर्वाचन अधिकृतले हाम्रा मागलाई कुनै सुनुवाई नगरी मतगणना कार्य स्थगित गरिएको छ', विज्ञप्तिमा उल्लेख छ।

नेकपा एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका उम्मेदवार हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाएको छ। 'माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालको पराजय हुने र नेकपा एमालेका देवी ज्ञवालीको विजय सुनिश्चित हुने भएपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ को शान्तिपूर्ण ढंगले मतगणना भई करिव २४०० मतगणना सम्पन्न हुने अवस्थामा निर्वाचन कार्यालयका मतगणकहरुले मतगणना गर्दागर्दै माओवादी केन्द्रका नेतृत्वको निर्देशमा उक्त पार्टीका द्रोण सिवाकोटी, मधु न्यौपाने लगायतका मतगणना प्रतिनिधिहरु कर्मचारीहरुमात्र प्रवेश गर्न पाउने मतगणनास्थलमा अकस्मात छापामार शैलीमा प्रवेश गरी कर्मचारीको हातमा रहेको र भुईँमा थुपारिएको मतपत्र आफ्नो हातमा लिई च्यातेका थिए', एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

एमालेले नाम मुछेका द्रोण सिवाकोटी र मधु न्यौपाने प्रहरीको नियन्त्रणमा छन्। सँगै पक्राउ परेका एमालेका गंगा लामालाई भने प्रहरीले रिहा गरेको छ।

यसप्रकारको घटना हुन सक्ने सूचना निर्वाचन अधिकृत तथा प्रहरी प्रशासनलाई दिए पनि गम्भीरतापूर्वक नलिइएको दावी एमालेले गरेको छ। 'मतगणनामा भएको ढिलासुस्ती, मतगणना कार्यमा पटक पटक गरिएको अवरोध, फितलो सुरक्षा र माओवादी केन्द्रका प्रतिनिधिहरुले बेला बेलामा गरेका असामान्य गतिविधिका कारण कुनै पनि बेला केही न केही घटना घट्न सक्छ भन्ने आशंका सिर्जना भएको हुँदा एमालेले यस कुराको जानकारी निर्वाचन अधिकृत तथा प्रहरी प्रशासनलाई समयमा नै गराएको थियो तर पनि हाम्रो आग्रहलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिई आवश्यक सुरक्षाको प्रबन्ध नगर्नाले यस प्रकारको आपराधिक कार्य घटित हुन पुग्यो', विज्ञप्तिमा भनिएको छ।

वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेका बेला भरतपुरमा आइतबार राति मतगणनास्थलमा मतपत्र च्यातिएको थियो।

कसले च्यात्यो मतपत्र ?

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपत्र कसले च्यात्यो भन्ने आफूलाई जानकारी नभएको जनाएका छन्। सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै न्यौपानेले भनेका छन्, 'राति ११ बजेर ४५ मिनेट जाँदा म शौचालय जान निस्किएको थिएँ। बीचबाटोमा पुग्दा होहल्ला सुरु भयो। फर्केर आउँदा मतगणनास्थल रणभूमिमा परिणत भइसकेको रहेछ। केही मतपत्र च्यातिएको छ। कसले च्यात्यो भन्ने जानकारी छैन।' घटनाबारे निर्वाचन आयोगलाई जानकारी गराउने भन्दै उनले प्राप्त निर्देशनअनुसार अघि बढ्ने बताए।

दुवै पक्षको आ-आफ्नै दाबी 

मतपत्र च्यातिएको विषयमा एमाले र माओवादी दुवै आरोप प्रत्यारोपमा उत्रिएका छन्। मतगणना स्थगित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महानगर प्रमुखका एमाले उम्मेदवार देवी ज्ञवालीले कांग्रेस-माओवादी गठबन्धनले हार स्वीकार्न नसकेर मतपत्र च्यातेको बताएका छन्।

माओवादी केन्द्रले भने मुख्य निर्वाचन अधिकृत बाहिर निस्किएको मौका छोपेर आफूहरुको पक्षमा परेको मत मसी लगाएर बदर गर्न थालेपछि तनाव उत्पन्न भएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.