|

जुम्ला : गत वैशाख १९ गते हराएकी कनकासुन्दरी ६ पछाइबाडाकी २३ वर्षीय पानसरा  (दानसरा) रावतको शव ११ दिनपछि गत मंगलबार तिला नदीमा भेटियो। ​

तिला गाउँपालिका–२ लर्मी माइती भएकी उनको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गरिदिन आग्रह गर्दै आफन्त जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन गए। तर प्रहरीले पहिले शव पोष्टमार्टम  गरी बुझेर लिएपछि मात्रै किटनी जाहेरी लिने जवाफ दियो। 

छोरीको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्ष प्रहरीले किटानी जाहेरी नलिएसम्म शवको पोष्टमार्टम नगर्ने अडान लिँदा मंगलबार शव कर्णाली स्वाथ्य विज्ञानको शवगृहमा रह्यो। बुधबार पीडित पक्षले फेरि जाहेरी लिएर आए। उनीहरू आउँदा मध्याह्न १२ बजेको थियो। तर २ बजेसम्म प्रहरीले जाहेरी लिएन। पीडितका आफन्त हरिबहादुर रावतका अनुसार त्यो जाहेरीमा आशंका लागेका दुई जनाको नाम थियो। त्यसैले प्रहरीले जाहेरी लिन नमानेको रावतले थाहा संवाददातालाई बताए। 

म पत्रकार मात्रै नभई तिला गाउँपालिकावासीको नागरिकको हिसाबले प्रहरी कार्यालय पुगेँ। नायब उपरीक्षक प्रल्हाद कार्कीलाई पीडितको जाहेरी किन दर्ता भएन भनेर जिज्ञासा राखेँ। कार्कीले पीडित ‘जाहेरी दिन्छौँ भन्छन्, आउँदैनन्’, भन्ने जवाफ दिए। शवमा बार्गेनिङ गरिरहेको उनको आरोप थियो।

त्यसपछि म आफैँ प्रहरीको मुद्दा फाँटमा गए। त्यहाँ प्रहरीले जाहेरी लिन मानेकै थिएन। ‘पीडितविरुद्ध जाहेरी  दिए तपाईँको शव कसले बुझ्छ? अनि काजक्रिया कसले गर्छ?’, प्रहरीको दबाब थियो। जाहेरीमा राखिएको नाम हटाए मात्रै जाहेरी दर्ता गर्ने प्रहरीले पटक–पटक दोहोर्‍याई रह्यो।

कानूनतः पीडितले आशंका गरेका व्यक्तिको नाम किटानी गरी जाहेरी दिन पाइन्छ। तर प्रहरीका मुद्दा फाँटकाले त्यो नाम हटाउन लगाए। नाम नहटाए जाहेरी नलिने बताएपछि उनीहरूले त्यो नाम केरे। पछि त्यो नाम काटेको जाहेरी हुदैन भन्दै प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जाहेरीको फाइल टेबुलमा ठोेक्दै ठूलो स्वरमा हप्काए। उनले नाम काट्न लगाउने मुद्दा फाँटका प्रहरीलाई नभई पीडितलाई थर्काएका हुन्। 

पीडित भन्छन्– प्रहरीले नै किटानी जाहेरीमा राखेको नाम हटाउन लगाएको हो 

मृतककी आफन्त हरिबहादुरले जाहेरीमा लेखिएको नाम हटाउन प्रहरीले नै केर्न लगाएको बताए। ‘मुद्दा फाँटका प्रहरीले हटाउन लगाएको कुरा डीएसपी कार्कीलाई बताएपछि फेरि उनले नै थप्न लगाए। त्यसपछि किटानी दर्ता भयो।’

‘जाहेरी दर्ता गरेपछि शव बुझ्नु पर्छ  भन्दै  सबै प्रहरी एक भएर हप्काए। उनीहरूले हामीलाई कि शव बुझ्नु पर्छ। होइन भने, त्यो किटानी जाहेरी फिर्ता लिनुपर्छ भन्दै दबाब दिए’, हरिबहादुरले भने, ‘शव भेटिएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन।’

मृतकका श्रीमान् रतिमान पछाइले यसअघि उनको हुलिया बताउने क्रममा प्रहरीलाइ दिएको निवेदनमा उनको नाम पानसरा बताएका थिए। मृतक रावतको आधिकारिक र सबैले चिन्ने नाम दानसरा नै रहेको माइती पक्षका मुनबहादुर रावतले बताए। तर मृतकका श्रीमान् रतिमान पछाइले गलत नाम दिएकाले पनि शंका उब्जिएको मृतकका आफन्त कमल रावत बताउँछन्। 

प्रशासनसँग समन्वय  गर्दैन प्रहरी 
दानसरा घटनाको घटना यसको एउटा उदाहरण हो। सर्वसाधरण नागरिकले राजनीतिक संरक्षणमा अपराधका घटना बढिरहेको गुनासो गर्ने गरेको छ। राजनीतिक संरक्षणमा हुने अपराध बढिरहेको बताइन्छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले फौजदारी मुद्दामा अनुसन्धानकर्ता प्रहरी र अभियोनकर्ता सरकारी वकिल हुने व्यवस्था छ। उनका अनुसार घटना मुचुल्का, किटानी जाहेरी लिने र अनुसान्धान गर्ने सबै जिम्मेवारी प्रहरी हो। 

उनका अनुसार फौजदारी मुद्दाको जाहेरी लिनेदेखि अनुसन्धान गर्ने निकाय प्रहरी भए पनि प्रशासनसँग समन्वय गर्नु पर्ने हो। तर पछिल्लो समयमा प्रहरीमा आउने यस्ता किसिमका घटनाको बारेमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको छैन। 

शान्ति सुरक्षाको हिसाबले पनि  प्रहरीमा आएका घटनाबारेमा  प्रहरीले प्रजिअलाई जानकारी दिनुपर्ने हो। यसअघिका प्रमुख जिल्ला अधिकारीसँग  प्रहरीले आफ्नोमा आएका घटनाको जानकारी दिने गरेको थियो। जिल्ला प्रहरी कार्यालयमा  प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की आएपछि प्रशासनसँगको समन्वय हुन नसकेको बताइन्छ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अहिले प्रहरीले प्रशासनसँग समन्वय नगरेको देखिएको बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.