तटबन्धका लागि प्रदेश र संघलाई गुहार्दै स्थानीय सरकार

|

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–७ मा पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ।

गाउँको छेउबाट  बग्ने भालुखोला, कोइराले खोलाले वर्षेनि कटान गर्न थालेपछि डाइनीका स्थानीयका घर तथा खेत बाढीपहिरोको उच्च जोखिममा परेका हुन्।

यहाँका ३५ परिवार बाढीको उच्च जोखिमा रहेको डाइनीका स्थानीय चक्रबहादुर धामीले बताए। वर्षायाम सुरु हुनै लाग्दा यहाँका स्थानीयलाई बाढीपहिरोले उठिबास नै लगाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ। 

यस वर्ष यहाँ राम्रोसँग तटबन्ध नभए बस्ती नै सखाप हुने उनले बताए। ‘बर्खाका बेला तलबाट खोला आउँछ। माथिबाट पहिरो आउँछ। त्यतिबेला हामीलाई कहाँ जाऊँ हुन्छ, भाग्ने ठाउँ पनि छैन,’ धामीले भने, ‘यहाँ २०६५ देखि खोलाले कटान गर्दै आइरहेको छ तर हाम्रो समस्या कसैले पनि सुनेका छैनन्।’

बजेट आए पनि दिगो रूपमा तटबन्ध हुन नसकेको स्थानीय विमल धामीको गुनासो छ। उनले तीनै तहका सरकार मिलेर यहाँ दिगो रूपमा तटबन्ध गर्नुपर्ने माग गरे।

‘यहाँ दिगो रूपमा तटबन्ध हुन सकेको छैन। अलिअलि बजेट आउँछ त्यसले त्यति राम्रो काम हुँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले हाम्रो बस्ती जोगाउनका लागि बजेटको व्यवस्था गरिदिनु पर्छ।’

बझाङबाट २०४० सालमा बसाइँसराइँ हुँदै आलिताल–७ डाइनी आएका भुवन बोहराले नदी कटान नै यहाँको मुख्य समस्या रहेको बताए। 

‘बझाङबाट बसाइँसराइँ भएर यहाँ आउँदा त्यतिबेला राम्रो थियो। यो हाम्रो बस्ती यस क्षेत्रकै उर्वर भूमि हो। यही उर्वर भूमि देखेर हामी यहाँ बस्यौं नत्र हामी तराई झर्थ्यौं,’ उनले भने, ‘यो नदीले हाम्रो उर्वर जमिन काट्दै लागेको छ। यहाँबाट २/३ परिवारको त उठिबास नै भइसकेको छ।’ 

उनले सरकारले मेसिनरी वाल र तारजालीसहितको तटबन्ध गरे बस्ती जोगिने बताए।

आफू जनप्रतिनिधि भएर आइसकेपछि त्यहाँको समस्या समाधानका लागि पटक–पटक प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको भए पनि सुनुवाई नभएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए। 

गत वर्षको अविरल वर्षापछिको बाढीले त्यहाँ लगाएका सबै जाली बगाएर लगेको र अहिले डाइनी गाउँ उच्च जोखिममा रहेको उनले बताए। गाउँपालिकासँग  तटबन्धका लागि पर्याप्त बजेट नभएको अध्यक्ष पार्कीको भनाइ छ।

‘हामीसँग त्यहाँ दीर्घकालीन रूपमा टिक्ने खालको तटबन्धका लागि बजेट छैन। त्यसमा पालिकाले ४/५ लाख खर्च गर्न सक्थ्यो तर त्यति पैसाले त्यहाँ पूर्णरूपमा ठूलो खोलामा तटबन्ध गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघको सरकारले नै त्यहाँको तटबन्धका लागि बजेट उपलब्ध गराउनुपर्छ।’ 

प्रदेश सरकारलाई गुहारेर जसरी भए पनि यसवर्ष त्यहाँको तटबन्ध निर्माण गरी बस्ती जोगाउन पहल गरिने अध्यक्ष पार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.