|

दैलेख : जिल्लाको महाबु गाउँपालिकामा १० शय्याको अस्पताल भवन निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ। संघीय सरकारको योजनाअन्तर्गत निर्माणाधीन १० शय्याको अस्पताल भवनको ढलान भत्किएपछि पानी चुहिने भएको हो।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका पालामा ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’अन्तर्गत महाबु गाउँपालिकामा निर्माण हुँदै गरेको १० शय्याको अस्पताल भवन निर्माणकै चरणमा भत्किन थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

भ्याट बाहेक ५ करोड ५४ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण थालिएको अस्पताल भवनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गलत भएका कारण अहिले समस्या देखिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पाण्डेले बताइन्। उनले डिपिआर गर्ने कम्पनीले ढलानमा राखिने सेकेण्डरी बीम छुटाएका कारण भवनको ढलान चर्किएर पानी चुहिने भएको बताइन्।

‘डिपिआर गर्ने कम्पनीले भवनको सेकेण्डरी बीम छुटाएका कारण ढलान चर्किएर पानी चुहिने भएको हो। भवनमा देखिएको समस्या समाधान गर्न निर्माण कम्पनीलाई भनेका छौं, भुक्तानी रोकेका छौँ। निर्माण कम्पनीले आफूले इस्टिमेटअनुसारको काम गरेको भन्छ’, पाण्डेले भनिन्।

स्थानीय बासिन्दा भने कमिशनको चक्करमा काम अघि बढाएपछि बन्दै गरेको अस्पतालको भवन भत्किन थालेको आरोप लगाउँछन्। स्थानीय प्रकाश बुढाले जनप्रतिनिधि र कर्मचारीले मिलेमतो गरी कमिशनको चक्करमा अस्पताल भवनमा निर्माणमा लापरबाही गरेको आरोप लगाए।

उनले राज्यको ठूलो लगानीमा स्थानीय सरकारले देखाएको लापरबाही स्वीकार्य नहुने बताए। ‘राज्यले अस्पताल भवन निर्माणमा ठूलो लगानी गरेको छ। स्थानीय सरकार र कर्मचारीको मिलेमतोमा कमिशन खाने चक्करले काममा लापरबाही भएको देखिन्छ’, बुढाले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा निर्माण कम्पनीले इस्टिमेटमा सेकेण्डरी बीम नराखेका कारण समस्या आएको बताए। उनले डिपिआर निर्माण कम्पनीले ड्रइङमा सेकेण्डरी बीम राखे पनि इस्टिमेटमा छुटाएको बताए।

उनले गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माणको काम हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको बताएका छन्। २०७८ असारमा सम्झौता भई ०७९ पुस मसान्तमा भवन निर्माणको काम सकाउनुपर्ने भए पनि एक वर्ष म्याद थप भएकाले ०८० पुस मसान्तसम्म काम सकिनुपर्ने बताए।

उक्त अस्पताल भवन विस्तृत आयोजना प्रतिवेदन निर्माणको जिम्मा जेन्स ग्रुप अफ कम्पनीले लिएको जनाइएको छ। कम्पनीका सञ्चालक महेश ढुङ्गानाले आफूहरूले स्वास्थ्य मन्त्रालयको नम्स अनुसार अस्पताल भवनको विस्तृत आयोजना प्रतिवेदन निर्माण गरेको बताए। उनले डिपिआर गर्दा भवनको बीम छुटेको भन्नु गलत रहेको बताए।

‘हामीले स्वास्थ्य मन्त्रालयको नम्सअनुसार अस्पताल भवनको डिपिआर डिजाइन गरेका हौँ। डिपिआरमा अहिले नराखिएको बीम छुटाइएको छैन, स्थानीय सरकार र निर्माण कम्पनीले कसरी निर्माण गरे, आफूलाई जानकारी छैन’, ढुङ्गानाले भने।

महाबु अस्पतालको डिपिआर आर्थिक वर्ष २०७७।०७८ मा निर्माण गरिएको जेन्स ग्रुप अफ कम्पनीका सञ्चालक ढुङ्गानाले बताए। स्वाइल टेस्ट डिटेल डिजाइन गरी अस्पताल भवनको डिपिआर निर्माणको काम ११ लाख ७८ हजारमा सम्पन्न गरिएको जनाइएको छ।

अस्पताल भवन निर्माणको जिम्मा लिएको मजदुर न्यौपाने जेभी सुर्खेतका सञ्चालक भक्तिप्रसाद न्यौपानेले आफूले डिपिआर इस्टिमेटअनुसार काम गरेको बताए। उनले इस्टिमेटमा भवन निर्माणका लागि सेकेण्डरी बीम नराखिएको बताए।

अस्पताल भवन निर्माण कम्पनीका सञ्चालक न्यौपानेले आफूले गरेको निर्माणमा गल्ती नरहेको बताए। ‘इस्टिमेटमा सेकेण्डरी बीम राखिएको छैन। हामीले इस्टिमेटअनुसार काम गरेका हौँ। हाम्रो गल्ती ठहरिए छानबिनपछि पुनः काम गर्न तयार छु’, न्यौपानेले भने।

उनले अस्पताल भवन निर्माण हुँदै गर्दा गाउँपालिकाका इन्जिनियरलाई सेकेण्डरी बीम थप्न आग्रह गर्दा समेत बजेटको सुनिश्चितता नगर्ने भनेपछि आफूले इस्टिमेटअनुसारकै काम अघि बढाएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.