|

पर्वत : कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका बासिन्दा उपचारका लागि सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पतालमा आउनुपर्ने बाध्यता थियो। ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ का लागि कुश्मा वा पोखरा नै जानुपर्ने बाध्यतामा रहेको उनीहरूले पछि गाउँमै यी सेवा पाए।

गाउँकै स्वास्थ्य संस्थामा ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ सेवा पाउन थालेपछि ठूलीपोखरी मात्रै नभई फलेवास नगरपालिकाको कार्कीनेटा र स्याङ्जाको आँधिखोला गाउँपालिकाका केही बस्तीका बासिन्दाले समेत सेवा लिए। गाउँमै विशेषज्ञ सेवा पाउँदा ठूलीपोखरी सहित आसपासका क्षेत्रका बासिन्दामा मिलेको खुसी लामो समय टिक्न सकेन।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा पूर्वाधार, उपकरण र जनशक्तिको आवश्यकता पूर्ति गर्न समस्या हुँदै आएको छ। कुनै ठाउँमा उपकरण आपूर्ति हुँदा जनशक्ति नभएको अवस्था छ त कतिपय ठाउँमा जनशक्ति भए पनि उपकरण अभाव छ। ठूलीपोखरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भने जनशक्तिको अभावमा ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ का उपकरण थन्किएर बसेको करिब चार वर्ष हुन लागेको छ।

एमबीबीएस चिकित्सकको दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा २०७६ सालदेखि नै दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएपछि समस्या हुँदै आएको छ। दरबन्दीअनुसार चिकित्सक नभएपछि निमित्तको भरमा सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रमा तीन वर्षयता उपकरण चल्न सकेका छैनन्। स्वास्थ्य केन्द्रमा रहेका ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ मसिन थन्क्याउनु परेपछि त्यहाँका बासिन्दा कुश्मा बजार आउन बाध्य भएका छन्।

मसिन चलाउने जनशक्ति नहुँदा स्वास्थ्य केन्द्रको एउटा कोठामा थन्किएर बसेका छन्।

चार वर्षदेखि निमित्तको भरमा रहेको स्वास्थ्य संस्थामा १३ जनाको दरबन्दी छ तर अहिले कार्यालय प्रमुख सहित आठजना कर्मचारी नभएको अवस्था छ। निमित्त कार्यालय प्रमुख कुमारी लामिछानेका अनुसार प्राथमिक उपचारका लागि दैनिक ३० देखि ४० जनासम्म बिरामी आउने गरेका छन्। स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन, बर्थिङ सेन्टर, किशोर किशोरी परामर्श सेवा सहित नियमित स्वास्थ्य सेवा प्रवाह हुँदै आएका छन्। तोकिएको दरबन्दी अनुसारको जनशक्ति नहुँदा यी सेवालाई नियमित रूपले सञ्चालन गर्न समस्या भइरहेको छ।

नगरपालिकाको समन्वयमा सङ्घ वा प्रदेश सरकारले आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो हुन नसक्दा समस्या भइरहेको वडाध्यक्ष झलकप्रसाद रिमालले बताए। केही दिनअघि प्रदेश सरकारका स्वास्थ्य सचिवसँग चिकित्सक पठाउनेबारे कुराकानी हुँदा एक हप्तामा पठाउने भनिए पनि दुई हप्ता बित्दा पनि चिकित्सक नआएको उनको भनाइ छ।

‘केही समयअघि एकजना डाक्टरलाई पठाउने भनेर रमाना पनि भएको थियो रे। त्यो पनि अन्तिम समयमा काटिएछ। म मन्त्रालयमै गएर सचिवसँग कुरा गर्दा एक हप्तामै पठाउने भन्ने कुरा भएको हो। तर दुई हप्ता हुँदा पनि चिकित्सक आएका छैनन्’, उनले भने, ‘वडाका तर्फबाट सम्बन्धित निकायमा पटक–पटक भनेको छु। प्रदेश र संघका सांसदहरूलाई, नगरपालिकाका प्रमुख उपप्रमुख, स्वास्थ्य सेवा लगायतमा पुगेर पटक पटक कुरा गर्दा पनि यहाँको अवस्था बुझिदिने कोही पनि भएन।’

पछिल्लो पटक वडाका तर्फबाट फेरि पत्राचार गरेर ‘डिजिटल एक्स रे’ मसिन सहित जनशक्तिको व्यवस्थापन गरिदिन अनुरोध गरेको वडाध्यक्ष रिमालको भनाइ छ।

स्वास्थ्य संस्थामा कार्यरत कतिपय कर्मचारी अध्ययनका लागि जाँदा दरबन्दी खाली भएकाले ती ठाउँमा जनशक्ति नपठाउँदा लाखौँ मूल्यका प्राविधिक उपकरण बिग्रिने जोखिम समेत बढ्दै गइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.