|

पर्वत : गत असोज ७ गते लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुरालाई श्वासप्रश्वास तथा ढाड दुख्ने समस्यासम्बन्धी बिरामी भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरियो।

उपचारका क्रममा उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा चिकित्सकको लापरबाहीका कारण दुराको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी नाराबाजी र होहल्ला गर्दै अस्पतालमा भौतिक क्षति गरे। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड गरे।

बिरामीलाई बचाउन निकै प्रयास गर्दा पनि बचाउन नसकेको अवस्थामा उपचारमा संलग्न चिकित्सकमाथि हातपात भएको भन्दै चिकित्सकहरूले पनि होहल्ला गरे। पोखराका अन्य अस्पतालमा कार्यरत चिकित्सकहरू समेत मणिपाल पुगेर त्यहाँका चिकित्सकहरूको साथमा उभिए। चिकित्सकका तर्फबाट पनि अस्पतालका सिसा लगायतका सामग्रीमा क्षति पुग्यो।

मृतक पक्षका मानिसहरूले उपचारमा लापरबाही भएकाले सुकमायाको मृत्यु भएकाले उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने माग गर्दै सडक आन्दोलन गरेका वेला चिकित्सकहरूले पनि आफूहरू असुरक्षित रहँदा उपचारमा संलग्न हुने वातावरण नभएको भन्दै सरकारले सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै सडक आन्दोलनमा नै उत्रिए।

काठमाडौँमा चिकित्सकहरूले सरकारलाई निकै दबाब दिइरहेको वेला पोखरामा दुराका मृतक पक्ष, अस्पताल प्रशासन, प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायतको वार्तामा ६ बुँदे सहमति जुट्यो। मृतक पक्षको आन्दोलन रोकियो, चिकित्सकहरू पनि काममा फर्किए।

सहमतिको एउटा बुँदामा उल्लेख थियो‚ डाक्टरमाथि आक्रमणको आरोपमा पक्राउ परी म्याद थप गरिएका विनय गुरुङउपर दर्ता भएको कसुर मुद्दामा कानुनी रीत पुर्‍याएर सहजीकरण गर्ने। यही बुँदाको आधारमा धेरैले सोचेका थिए‚ ‘प्रहरी हिरासतमा रहेका विनय रिहा हुन्छन्, यो केस पनि सकिन्छ।’ तर कास्की प्रहरीले गुरुङलाई रिहा गर्नु त के अस्पतालमा आक्रमण र तोडफोडमा भएकाहरूलाई पहिचान गरेर पक्राउ गर्न सक्रियताका साथ लागिरहेको छ। सहमति भएको भोलिपल्टबाटै कास्की प्रहरीले थप व्यक्तिलाई पनि पक्राउ गर्दै अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार तोडफोड र चिकित्सकमाथि कुटपिटमा संलग्न ३४ वर्षीय विनयलाई असोज ८ गते पक्राउ गरिएको थियो। सीसी टिभी क्यामेराबाट पहिचान गर्दै जाँदा थप सातजनालाई असोज १२ गते प्रहरीले नियन्त्रणमा लियो।

३५ वर्षीय सुजित मुल्मी, २२ वर्षीय मनीष थापा, ३५ वर्षीय अभिनाश गुरुङ, ३६ वर्षीय अरुण गुरुङ, २७ वर्षीय नीतेश गुरुङ, २९ वर्षीय विवेक गुरुङ र ३१ वर्षीय प्रदीप गुरुङलाई प्रहरीले न्यूरोडबाट पक्राउ गरेको थियो।

चिकित्सकको पक्षबाट होहल्ला तथा नाराबाजीमा संलग्न डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो। उनलाई असोज ९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्माको जिम्मा लगाई छाडिएको थियो।

पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ। एउटा ‘केस’ को समाधानका लागि घटनामा संलग्नहरूलाई नछोड्ने ‘मुड’मा रहेको कास्की प्रहरीले दोषीलाई नछाड्ने अडान लिँदा चिकित्सक र आम सर्वसाधारणले पनि केही ढुक्कको श्वास फेरेको बताउँछन्।

आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग सरकारका तर्फबाट भएको वार्तामा दोषीलाई नछाड्ने सहमति भयो। देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमणका घटना भएपछि सरकारले नै यसलाई चासोमा राखेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि गोरखामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.