|

नवलपरासी : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको काम तीव्र पारिएको छ। आयोजनाको पूर्व खण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८.५ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन्। आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको उनले बताए। अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाएको उनको भनाइ छ।

‘पूर्वी खण्डमा पर्ने दाउन्ने पहाडको पाँच किलोमिटर पहाडमध्ये चार किलोमिटर पहाड काटेर फराकिलो पारिसकेका छौँ’, उनले भने, ‘बाँकी रहेको एक किलोमिटर पहाड पनि एक महिनाभित्र काट्नेगरी काम अघि बढाएका छौँ।’

दुम्कीबासतर्फबाट पहाडको भित्तो काट्दै गएको जानकारी दिँदै उनले पहाडको भित्तो काटेर सकेपछि दाउन्नेको पहाडमा पनि कालोपत्रको काम अघि बढाउने बताए। अहिले गैँडाकोटको भेँडाबारीबाट झराही खोलासम्म, देवचुलीको रजहर, कावासोतीको डण्डा बजार र कावासोती बजार क्षेत्रमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए।
 
‘कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करिब ४०० मिटर विवाद भएको छ’, उनले भने, ‘एक महिनाभित्र विवाद भएको ठाउँबाहेक कावासोती क्षेत्रको सबै ठाउँमा कालोपत्रसकिन्छ।’ आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैँडाकोटको थुम्सी जङ्गल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाउने ठेक्का व्यवस्थापक झाको भनाइ छ। हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने जानकारी दिए।

‘दोस्रोपटक म्याद थप भएको समय २१ जुलाइमा सकिन्छ। त्यतिवेलासम्म पूर्वी खण्डको ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ’ उनले भने, ‘हामीले २०८१ को चैत मसान्तसम्म ९० प्रतिशत भौतिक प्रगति सक्नेगरी कार्ययोजना बनाएर निर्माण तीव्र पारेका छौँ।’ सडक विस्तारका लागि अहिले कुनै अवरोध छैन। गैँडाकोटमा बिजुलीको पोला सार्ने काम भइरहेका कारण त्यस क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको भन्दै त्यसबाहेक अन्य अवरोध नरहेको उनले बताए। 

२०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेन लिमिटेडसँग ठेक्का सम्झौता भएर चैत ८ देखि सडक विस्तारको काम शुरु गरिएको थियो। नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए। ‘पछिल्लो समय पूर्वी खण्डमा कल्भर्ट निर्माण, ठूला पुल निर्माण, तथा सडक किनारमा पर्खाल लगाउने काम भइरहेका छन्’ उनले भने, ‘सडक विस्तारको काम तोकिएकै समयभित्र सम्पन्न गराउन हामीले निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौँ।’
 
यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये अधिकांश पुलको निर्माण सकिएको उनले बताए। ‘ठूला पुल निर्माणको काम पनि धमाधाम भइरहेको छ। दुई पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, बाँकी पुलमा पनि काम भइरहेको हामीले पाएका छौँ’, उनले भने। यो खण्डको कुल बजेट नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रुपैयाँ रहेकोमा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडीबी)ले उपलब्ध गराउनेछ। 

नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्छ। यो खण्डको शहरी क्षेत्रमा चार लेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीनलेनको सडक विस्तार हुनेछ। सडक विस्तारका लागि आयोजनाको पूर्वी खण्डमा ३६ हजार २३२ रुख काटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.