|

ओखलढुंगा : नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै दशौँ वर्षसम्म पनि नटुट्ने दावी गरेका छन्।

मत माग्न ओखलढुंगा आएका नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायमै रहने दावी गरेका हुन्।

उनले भने, ‘यो गठबन्धनको भविष्य छैन। कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु। हाम्रो सहयात्रा यो ५ वर्षमात्र होइन दशौँ वर्ष कायम रहन्छ। अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ।’ 

गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ। संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो।

‘यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन। संविधानविपरीतका गतिविधि निस्तेज गर्न बनेको हो गठबन्धन‚’ उनले भने‚ ‘प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२/६३ को जनआन्दोलनको जगमा निर्मित संविधान खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयास असफल बनाउन हामी एकताबद्ध भएका हौँ।’

राष्ट्रियसभा निर्वाचनमा कतिपय मत बदर हुने गरेकाले त्यसलाई सुधार्न नेता सिटौलाले अपिल गरे।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले संविधानको सफल कार्यान्वयनमा सबै दल मिलेर लाग्नुपर्नेमा जोड दिए। संविधान बनेर पनि सफल कार्यान्वयन नजाँदा सङ्घीयतामाथि नै प्रश्न उठ्न थालेकाले यसतर्फ सबै दल सचेत हुनुपर्ने उनको भनाइ छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संविधान बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेता सिटौलालाई नेतृत्व तहमा पुर्‍याउनुपर्ने बताए।

कोशी प्रदेशका जिल्लामा मत माग्ने क्रममा कांग्रेस नेता तथा उम्मेदवार सिटौला र गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की ओखलढुंगा आएका हुन्।

दुवै उम्मेदवारले गठबन्धनबाट जितेका नगरपालिका प्रमुख, उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग भेट गरे। जिल्ला तथा प्रदेशका गठबन्धनबाट चुनाव जितेका जनप्रतिनिधिले गठबन्धनको मत अन्यन्त्र नजाने वाचा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.