|

रुकुमः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रुकुममा सरकारी कर्मचारीमाथि कालोमोसो दलेपछि कर्मचारी आतंकित बनेका छन्।

पार्टीको निर्णयअनुसार जिल्लाका केही सरकारी कर्मचारीमाथि सार्वजनिक स्थलमै कालोमासो लगाएर बजार घुमाएपछि अन्य कर्मचारीमा पनि आतंक फैलिएको हो।

अहिले रुकुम जिल्लामा रहेका विभिन्न विकासे सरकारी कार्यालयका प्राविधिक र आर्थिक फाँटमा कार्यरत कर्मचारी सबैभन्दा बढी आतंकित बनेका छन्।

असार मसान्तको कामको चाप र आर्थिक भुक्तानी दिने यस समयमा यसरी सिलसिलाबद्ध रूपमा घटना गराइएको एक कर्मचारी बताउँछन्। एक साताबीचमा जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाई सवभिडिजिनका दुई जना इन्जिनियरलाई कालोमोसो दलेपछि कर्मचारीहरू थप आतंकित बनेको एक कर्मचारीको भनाइ छ। 

अभियान लोकमानलाई कालोमोसो दल्ने चन्द्रबहादुर बुढाको नेतृत्वमा
जिल्लामा कर्मचारीमाथि कालोमोसो दल्ने कार्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी रुकुमले गरेको छ। यस पार्टीका जिल्ला सेक्रेटरी निलम्बित अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई कालोमोसो दलेर चर्चामा आएका चन्द्रहादुर बुढा छन्। 

भ्रष्टाचार र अनियमितता गर्ने कर्मचारीमाथि पार्टीको योजनाअनुसार नै कालोमासो दलिएको उनले बताए। ‘हामी भन्दा पनि जनता आफैँ अग्रसर, सहभागी र सूचना दिएर भ्रष्टाचारी कर्मचारीमाथि ठीक पार्न लागेका हुन्’, उनले भने, ‘हाम्रो पार्टीले त कारवाहीको लागि प्राविधिक सहयोग गरेको मात्र हो।’ 

सेक्रेटरी बुढाले नैतिकवान् र इमान्दार कर्मचारी आतंकित हुन आवश्यक नभएको तर जनताको पसिना र श्रममा भ्रष्टाचार गर्ने कर्मचारीलाई नछोडिने बताए। 

प्रहरी प्रशासनलाई जिल्लाका विभिन्न ठाउँमा सरकारी कर्मचारी र कार्यालयमार्फत् भएको भ्रष्टाचारको जानकारी गराउँदा पनि कुनै सुनुवाइ र कारवाही नभएपछि आफ्नो पार्टीले त्यसको नेतृत्व गरेको उनको भनाइ छ। 

चुनावको समयमा शान्तिपूर्ण आन्दोलन गरिरहेका आफ्ना कार्यकर्तालाई विना कमजोरी महिनौँ थुनेर दुःख दिएको भन्दै यसले गर्दा पार्टी र जनतामा पनि प्रहरी प्रशासनप्रति विश्वास नभएकाले यसरी कारवाही अभियान चलाउनुपरेको उनको दाबी छ। 

‘हामीले सुखसँग खान पाएका छैनौँ, बस्न पाएका छैनौँ, प्रहरीले निरन्तर हाम्रो पिछा गरिहेको छ’, उनले भने। चन्दा माग्दा नदिएर कालोमोसो दल्नुभएको भन्ने आरोप छ नि? भन्ने प्रश्नमा उनले भने, ‘हिजोआज हाम्रो कुनै चन्दा माग्ने योजना छैन, चन्दा नदिएर यसो गरिएको पनि होइन, यो त केवल जनताको सूचना र मागलाई सम्बोधन गरेको मात्र हो’, ‘दैनिकजसो पार्टीलाई नराम्रा कर्तुतसहितका सूचना आइरहेका छन्, सूचनाहरूको हामीसँग चाङ छ, कुनै दिन सार्वजनिक गर्छौं।’ 

यी हुन् कालोमासो दलिने कर्मचारी
आधिकारिक ट्रेड युनियन रुकुमले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना र दोषी उपर कारवाहीको माग गरेको छ। विज्ञप्तिमा पार्टीको नाम उल्लेख नगरिएको भए पनि अज्ञात समूह उल्लेख गरिएको छ। 

विज्ञप्तिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमका इन्जिनियर सन्दीप शाह र जिल्ला समन्वय समिति रुकुमका सबइन्जिनियर चिताराम खड्कालाई कालोमोसो लगाई कानुनको बर्खिलाप गरेको उल्लेख गरिएको छ। 

अध्यक्ष विश्व केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा यसले गर्दा कर्मचारीतन्त्रमा त्रास, आतंक र भयको अवस्था सृजना भएको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको छ। शाहलाई असार २६ र खड्कालाई २२ गते विभिन्न योजनामा भ्रष्टाचार गरेको भन्दै रंगेहात भेटाएर कालोमासो दलिएको बताइएको छ। 

दोषी उपर कारवाही हुन्छः प्रजिअ
रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले यस्ता क्रियाकलाप गर्नेहरूलाई कारवाही हुने भन्दै सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेका छन्। 

अहिले यो व्यक्ति र यो पार्टी किटान नभएको बताउँदै केही संलग्न पक्राउ गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ। कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न भनेको र त्यस्ता गतिविधिहरूबारे प्रहरी प्रशासन सक्रिय भएर अनुसन्धान गरिरहेको उनले बताए।

दोषीलाई कारवाही हुने बताउँदै उनले भने, ‘कालोमोसो भन्दा पनि सरकारी कर्मचारीमाथि कालोमोसो फालिएको छ, राज्यको कानुनभन्दा ठूलो कोही छैन, प्रहरी प्रशासन कानुनको कार्यान्वयन र पालना गर्न गराउन सक्रिय छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.