|

काठमाडौँ : बुधवार राति सुन्धारामा काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भयो। भिडियोमा नगर प्रहरीले व्यापारीमाथि लाठी चार्ज गरेको देखिन्छ। झडपमा फुटपाथ व्यापारीसँगै केही नगरप्रहरी घाइते भए। उक्त भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि यतिखेर महानगरपालिकाको चर्को आलोचना भइरहेको छ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति नै जारी गरेर महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले स्वरोजगार मजदुरहरूमाथि आक्रमणसँगै सामान समेत लुटपाट गरेको आरोप लगाएको छ। 

यतिमात्रै होइन‚ काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीलाई व्यवस्थापन गर्न नसक्दा पटक पटक दुःख पाइरहेका छन् उनीहरू। यसअघि २०७९ असार १७ गते काठमाडौँको बालुवाटारको फुटपाथमा मकै बेच्ने दम्पती चेतेन्द्र आचार्य र सीतालाई नगरप्रहरीले लछारपछार गर्‍याे। उनीहरूले आफ्नो सामान फिर्ता गर्न बिन्ती बिसाइरहे तर पाएनन्। उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भयो।

यसैगरी २०७९ असोज २७ गते पनि काठमाडौँ महानगरपालिकाको थापाथलीस्थित प्रसूतिगृहको मूलद्वार अगाडिबाट पानीपुरीको ठेलागाडा जफत गर्‍याे। ठेलागाडा जोगाउन नगर प्रहरीसमक्ष शर्मिला तामाङले अनुरोध गरिन् तर महानगरका नगर प्रहरीले उनले गरेको अनुरोध सुनेनन्।

प्रहरीले सामान छरपस्ट पारी गाडा उठाए। तामाङले ठेलागाडा समातेर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरलसँगै महानगरपालिकाको चर्को विरोध र आलोचना भएको थियो। यसरी महानगर आलोचना खेपिरहँदा पनि हालसम्म विकल्प दिन सकेको छैन। त्यसो त फुटपाथ व्यापारीहरू वेला वेला आन्दोलन गर्दै आएका छन्।

सन्ध्याकालीन बजारको व्यवस्था गर्न माग

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले महानगरभित्र सन्ध्याकालीन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थान निर्धारण गरी व्यवसाय गर्ने वातावरणको व्यवस्था गर्नुपर्ने माग गरेको छ। संघका अध्यक्ष माया गुरुङ र महासचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरी माफी मागियोस्, आक्रमण गरी गम्भीर घाइते बनाउने महानगर प्रहरीहरूलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरको सामान लुट्ने जस्ता आपराधिक कार्यप्रति काठमाडौँ महानगरपालिकाले मजदुरसँग माफी माग्नु पर्छ।’

संघले घाइते मजदुरहरूको तत्काल उपचार गर्नुपर्ने, जफत गरिएका सामान फिर्ता गर्नुपर्ने लगायत माग गरेको छ। आजै भित्रका कवाडी संकलकहरूले काठमाडौँ महानगरको निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका छन्। महानगर प्रमुख बालेन साहको निर्देशनमा महानगरले कवाडी संकलन केन्द्रहरूमा डोजर चलाउन लागेपछि कवाडी संकलकहरू महानगरको विरोधमा उत्रिएका हुन्।

घटनाको छानबिन गर्न सांसदको माग

बुधबार भएको उक्त घटना संसद्‌मा समेत प्रवेश गरेको छ। शुक्रबार(आज) भएको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद हरि ढकालले घटनाको छानबिन गर्न माग गरे। ‘अस्ति राति महानगरबाट फुटपाथ व्यवसायीमाथि ज्यादती भयो, हामी यसको निन्दा गर्न चाहन्छौँ, जुन फुटपाथमाथि ज्यादती भयो, उक्त घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गर्छु।’

यसैगरी एमालेका सांसद सूर्य थापाले पनि उक्त माग उठाएका छन्। ‘एक दर्जन स्वरोजगार मजदुर घाइते भएका छन्। उनीहरू अस्पताल भर्ना भएका छन्,निर्घात आक्रमण गर्ने चरित्रको खेद प्रकट गर्दै उपचारको माग गर्दछौँ’, उनले बैठकमा भने।

महानगर प्रहरी भन्छ : सुन्धारा घटनामा प्रतिरक्षा भएको हो

काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सुन्धारा घटनामा प्रतिरक्षा भएको बताएका छन्। सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको उनको भनाइ छ।

‘बुधवार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरू सुन्धारा जानुभएको थियो, उहाँ पुग्नेबित्तिकै आक्रमण भयो’, घटनाका बारेमा जानकारी गराउँदै उनले भने, ‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो। यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो। कसैमाथि दमन गर्ने वा धरपकड गर्ने काम हामीबाट भएको छैन, त्यो हाम्रो काम पनि होइन।’

उनका अनुसार नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर भएको उनको भनाइ छ।

‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले १ महिना अघिदेखि माइकिङ गरेर सचेत गराइरहेका थियौँ, १५ दिन अघिदेखि व्यापारीले नगर प्रहरीलाई गाली गर्न थालेका थिए, सडक व्यापारलाई महानगरपालिकाले पूर्ण निषेध गरेको छ, कुनै समय दिएर व्यापार गर्न पाउने भनेको छैन। यस्तो नीति पनि छैन’, उनले भने।

‘फुटपाथमा पसल थाप्न नदिने हाम्रो अभियान छ’

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर काठमाडौँका फुटपाथमा पसल राख्न नदिने अभियान नै महानगरको रहेको बताउँछन्। उनले फुटपाथ व्यापार गर्न नभई पैदलयात्रु हिँड्ने बाटो रहेको बताए।

‘फुटपाथ भनेको व्यापार गर्न बनाइएको त होइन नि ! यो त पैदलयात्रु सहज ढंगले हिँड्न पाउन भनेर पो बनाइएको हो, जहाँ निषेध गरिएको छ‚ त्यहाँ आएर जबरजस्ती पसल थाप्न पाइन्छ?’, उनले भने।

उनका अनुसार महानगरले उक्त क्षेत्रमा फुटपाथ नराख्न पटक पटक माइकिङ गरेको थियो तर हटाउन नमानेको उनले बताए। ‘उहाँहरू हट्न अटेर गरेपछि नगरप्रहरी गएका हुन्। त्यस वेला उक्त घटना घट्यो’, उनले भने।

उनका अनुसार यस विषयमा छानबिन भइरहेको छ। फुटपाथ व्यवसायीहरूलाई विकल्प दिन सकिँदैन ? भन्ने प्रश्नमा भने उनले भने, ‘यो कुरा मैले भनेर हुने होइन, माथिल्लो विभागले गर्ने हो,छलफल हुनुपर्‍याे।’

(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.