बाढीबाट गत वर्ष झापामा १ हजार ४ सय ६५ परिवार बिस्थापित भएका थिए

|

इलाम : पूर्व सूचना प्रणाली अन्तर्गत इलामबाट झापा जाने नदीमा पानीको बहाव मापन गरेर त्यसको सुचना प्रभावित क्षेत्रका बासिन्दा र सुरक्षा निकायलाई मोबाइल तथा इन्टरनेट मार्फत जानकारी गराउन थालिएको छ।  

नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा इन्टरनेटबाटै नदीको बहावका विषयमा जानकारी गराउन थालिएको हो। जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई मोबाइलमा हावा र पानीको मात्राको जानकारी एसएमएसमार्फत जानकारी गराउन थालिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकालले जानकारी दिए। 

उनले इलामका ६ स्थानमा हावा पानी मापन केन्द्र तथा इलाम–झापाको सिमाना मैनाचुलीमा जल मापन केन्द्र स्थापना गरिएको बताए। मापन केन्द्र स्थापनाका लागी प्रत्येक ठाउँमा २५ देखी ३० लाख सम्म खर्च भएको उनले जानकारी दिए।

बाढीबाट गत वर्ष झापामा १ हजार ४ सय ६५ परिवार बिस्थापित भएका थिए। १२ जनाको मृत्यु भएको थियो भने बाढीले बगाएका ३ जना अझै बेपत्ता छन्। 
यस्तो दुर्घटनाबाट सर्वसाधारणलाई जोगाउन अहिले इलामको कन्याम, सोक्तिम, माइपोखरी, राँके, इलाम बजार र जितपुरमा हावापानी मापन केन्द्र राखिएको छ। त्यस्तै, इलाम–झापा सिमानाको मैनाचुलीमा जलमापन केन्द्र राखिएको छ। 

कन्काइ माइमा जलको मात्रा बढने वितिकै प्रभावित क्षेत्रका बासिन्दाहरुलाई मोबाइलमा स्वत : एसएमएस जाने प्रबन्ध गरिएको रेडक्रस सोसाइटी झापाका सभापती ढकालले बताए। उनका अनुसार कन्काइमा पानीको मात्रा ३.७ मिटर हुँदा चेतावनीको संकेत दिइन्छ भने ४.२ मिटर हुँदा खतराको संकेत स्वरुप साइन र माइकिङ गरिन्छ।

बाढी पहिरोबाट बच्न र आउन सक्ने खतराका विषयमा जानकारी गराउन सक्ने पूर्व सूचना प्रणालीका विषयमा शुक्रबार इलामका सञ्चारकर्मीहरुलाई पनि जानकारी गराइएको छ। नेपाल रेडक्रस सोसाइटी झापाको आयोजना, इलाम रेडक्रसको समन्वयमा भएको विपत जोखिम न्युुनिकरणमा सञ्चारमाध्यमको भुमिका विषयक गोष्ठीमा इलामका क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। 

गोष्ठीलाई रेडक्रस झापा सभापती लोकराज ढकाल, इलाम सभापती देवी गौतम, परियोजना वरिष्ठ संयोजक राकेशकुमार शाह र संयोजक शशिशरण खड्काले सहजीकरण गरेका थिए। 

मौसमबारे जानकारी लिन तलको लिङ्कमा क्लिक गर्नुहोस् : 

http://hydrology.gov.np/display/

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.