|

काठमाडौं : जब बर्षात् सुरू हुन्छ– शुरु हुन्छ बाढी पहिरोको जोखिम पनि। त्यसैगरि जाडोमा शीतलहरको।

अहिले सुक्खा मौसम छ। सुक्खा मौसममा आगलागी र डढेलोको जोखिम ह्वात्तै बढेको छ। चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको भयो।

सोही दिन मोरङको रङ्गेली-३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जले। १९ घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले जानकारी दिइन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चैत १ गतेदेखि आजसम्म (४ दिन)मा आगलागी र डढेलोका १३९ वटा घटनामा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भए। 

यस्तो डढेलो र आगलागीका घटना यो पटकमात्र भएको भने होइन। वर्षेनि चैत वैशाखमा देशभरि नै आगलागी र वनजंगलमा डढेलो लागिरहेको छ। तर यसको नियन्त्रण गर्न सरकारले भने केही कदम चाल्न सकेको छैन।

जब घटना घट्छ त्यसबेला तदारूकता देखाउने तर घटना हुनुभन्दा पहिले यसको रोकथामको पूर्वतयारी भने सरकारले गरेको पाइँदैन। 

आगलागी भइपछि बल्ल सांसदहरूले समेत संसदमा आवाज उठाएका छन्। आज भएको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अशोककुमार चौधरीले यसको रोकथामको लागि गम्भीर हुन सरकारसँग माग गरे।

‘मोरङ, भोजपुर, पाँचथरलगायत जिल्लामा आगलागी हुँदा धनजनको क्षति भएको छ, विगत १० वर्षको तथ्यांकअनुसार सो अवधिमा १८ हजार ७९२ आगलागीका घटना भएका र ७६९ जनाको ज्यान गएको छ भने २ हजार ५६८ जना घाइते भएका छन्। २२ अर्ब २३ करोडभन्दा बढीको आर्थिक क्षति भएको छ, आगलागीका घटना झन बढेका छन्, स्थानीय सरकारले मात्रै सक्दैन, त्यसैले केन्द्र सरकारले पनि रोकथाममा लाग्न माग गर्दछु,’ उनले भने। 

एमालेका सांसद हेमराज राईले पनि अहिले देशभरि आगलागीका घटना भइरहेका र यसको क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। अन्य सांसदहरूले पनि यसबारे आवाज उठाएका छन्। 

विज्ञ भन्छन् : पूर्वतयारी गरेको भए घटना हुने थिएनन्

फायर फाइटर किशोरकुमार भट्टराई सरकारले आगलागीका घटनाको रोकथामका लागि पूर्वतयारी नगरेकै कारण वर्षेनि ठूलो मात्रामा धनजनको क्षति भइरहेको बताउँछन्।

उनी भन्छन्, ‘जब घटना घट्छ, त्यसपछि बल्ल हामी देख्छौँ, आवाज उठ्छ रोकथामका लागि तर यो घटना हुनुपहिले यसबारे कुनै कुरा उठ्दैन। हामी रोकथामको लागि पूर्वतयारी नै गर्दैनौँ, त्यही भएर झन आगलागीको ग्राफ बढ्दै गइरहेको छ।’

उनका अनुसार सरकारलाई समय समयमा विपद्का घटना घट्छन् भन्ने जानकारी छ तर यसमा गम्भीर नभएको उनको भनाइ छ।

‘जस्तो एक्जाम दिनुपर्छ भने पहिले रूटिन आउँछ, बनाउनुपर्छ यसका लागि तर यस्ता घटनाको रूटिन अलरेडी थाहा छ, असार साउनमा बाढीपहिरो, जाडो महिनामा शीतलहर र अहिले आगलागीका घटना हुन्छन् भन्ने पहिलै जानकारी छ, मात्रै भूकम्पबारे थाहा हुँदैन तर यसको रोकथामको तयारी खै?,’ उनले भने।

जति घटना घटे पनि यसबाट कसैले नसिकेको उनी बताउँछन्। ‘गत वर्ष पनि आगलागीका घटना भए तर हामीले यसबाट सिकेनौँ। सरकारले नियन्त्रणको लागि तालिम दिएन, दक्ष जनशक्तिको व्यवस्थापन गरेन,’ उनले भने, ‘विदेशी मुलुकमा हेलीबाट जंगलमा लागेको आगलागी नियन्त्रण गर्छ तर हाम्रोमा त्यस्तो केही सुविधा छैन।’

उनका अनुसार केन्द्र सरकार होस् या स्थानीय सरकारले होस् पहिला समुदायमा चेतना जगाउनु आवश्यक छ। यदि आगलागी भए कसरी रोकथाम गर्ने भनेर यसका लागि तालिम दिनुपर्छ।

‘पहिला त स्थानीय समुदाय सचेत हुनैपर्छ किनभने त्यहीँबाट नै आगलागी हुने हो, त्यसैले जिम्मेवार पनि बनाउनुपर्छ। कसैले जंगलमा आगो लगाएको भए उसलाई सचेत गराउनुपर्छ, स्थानीय तहले औजार उपकरणको व्यवस्था गर्नुपर्छ,’ उनले भने।

पहिला नै आगलागी हुने सम्भावित ठाउँको पहिचान गरि सुरक्षा अपनाए यसरी घटना नदोहोरिने उनको भनाइ छ। 

सचेत गराइरहेका छौँ तर लापरबाही भयो : प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने यस्तो घटना दोहोरिन नदिन निरन्तर जनसमुदायमा जनचेतना फैलाइरहेको दाबी गरेको छ। प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङ्गले आगलागीका घटना बढ्नुमा लापरबाही देखिएको बताइन्।

उनले भनिन्, ‘वर्षेनि चैत वैशाखमा डढेलोका घटना भइरहेका छन्, यो वर्ष बढी भइरहेको हो कि भन्ने छ। यो बढ्नुमा विज्ञहरूका अनुसार लापरबाही नै देखिएको छ, तीन तहबाटै सचेतना त भइरहेको छ तर अपेक्षित भने भएन भन्ने छ।’ 

आगलागीका घटना रोकथामका लागि प्राधिकरण र गृह मन्त्रालयबाट जहाँ बढी जोखिम छ त्यो जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पूर्वतयारी र घटना घटे तत्कालै नियन्त्रण गर्न निर्देशन दिएको उनले बताइन्।

‘हामीले समन्वय गरेर अहिले पनि व्यापक सचेतना दिइरहेका छौँ, हाम्रो प्राधिकरणको पेजबाट पनि भिडियोमार्फत नै सन्देश दिइरहेका छौँ,’ उनले भनिन्।

प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले डढेलो नियन्त्रणमा जनसमुदायको महत्वपूर्ण भूमिका रहने बताए।

उनी भन्छन्, ‘आगलागी हुनबाट बच्ने पहिलो उपाय भनेको वनजंगलमा आगो नलगाउनु नै हो, खरबारीमा पनि आगो लगाउन हुन्न, चुरोटको ठुटो जथाभावी नफाल्ने, निभाएर मात्रै फाल्ने, वनभोज खान जाँदा राम्रोगरि आगो निभाउने, वनमा जाँदा सलाई लाइटर प्रयोग नगर्ने, डढेलो लागेको देखे पहिला प्रहरी र पालिकालाई खबर गर्ने गर्नुपर्छ, यसो गरे आगलागीका घटना रोक्न सकिन्छ।’ 

आगलागी भइहाले घरबस्ती र जंगलको बीचमा सुरक्षाघेरा बनाउनुपर्ने उनको सुझाव छ।

‘कथम् कदाचित अरूले लगाएको आगो तपाईंहरूको घरबस्तीमा आउँदै छ भने घरबस्ती र जंगलको बीचमा कम्तीमा पनि ५ मिटरदेखि २० मिटरसम्म सुरक्षा घेरा बनाएर राख्नुहोला, यो भनेको त्यहाँको वनमारा, पातपतिंगर, स्याउला, झाडी सफा गरेर सुरक्षा घेरा बनाउने हो, यसो गरे अर्कोमा सल्कन सक्दैन,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतना अपनाउन अपिल गरेका छन्।

उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ, घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतना अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.