​उर्जा क्षेत्रमा लगानी शून्य, पर्यटनमा बढ्यो

|

काठमाडौं:  आर्थिक वर्ष २०७३/७४ मा नेपालमा १६ अर्ब ८६ करोड ८६ लाख १० हजार रुपैयाँको वैदेशिक लगानी प्राप्त भएको छ। उद्योग विभागमा दर्ता भएका विभिन्न ३९५ वटा उद्योगका लागि करिब १७ अर्ब रुपैयाँको विदेशी लगानी नेपालमा आएको हो। यो रकम आर्थिक वर्ष २०७२/७३ को भन्दा करिब ३ अर्ब रुपैयाँ थोरै हो। 

गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा धेरै पर्यटन उद्योग छ भने त्यसपछि सेवा क्षेत्रमा रहेको छ। १५२ पर्यटन उद्योगको लागि ६ अर्ब ६५ करोड ९ लाख रुपैयाँको विदेशी लगानी नेपाल आएको उद्योग विभागको तथ्याङ्क छ। त्यस्तै १५७ सेवा क्षेत्रका परियोजनामा ५ अर्ब ८३ करोड ८३ लाख ७० हजार, ५५ उत्पादनमुलक परियोजनामा ४ अर्ब १ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी प्राप्त भएको उद्योग विभागले जानकारी दिएको छ।

त्यस्तै २० कृषि परियोजनामा २८ करोड ४० लाख, दुई निर्माण परियोजनामा १ करोड  ७० लाख, ८ सूचना प्रविधिमा आधारित परियोजनाको लागि ८ करोड ८७ लाख ४० हजार र २ खनिज उद्योगको लागि ४ करोड रुपैयाँको वैदेशिक लगानी प्राप्त भएको छ।

परियोजना बढे पुँजी बढेन

आर्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३/७४ मा वैदेशिक लगानीका परियोजनाहरु ४७ वटा बढेका छन्। तर लगानी भने गत वर्षको तलुनामा न्युन छ।

गत वर्ष २० अर्ब ५४ करोड ३८ लाख ९० हजार रुपैयाँ लगानी आएकोमा यो वर्ष लगानी ३ अर्ब ६७ करोड ५३ लाख ८० हजार रुपैयाँ लगानी कम आएको हो। गत वर्षको तुलनामा वन तथा कृषि क्षेत्रमा ७ करोड ५५ लाख, निर्माण क्षेत्रमा ३० लाख, उत्पादनमूलक उद्योगमा १ अर्ब ८३ करोड ३१ लाख ५० हजार रुपैयाँ वैदेशिक लगानी घटेको छ। त्यस्तै सेवा क्षेत्रमा २ अर्ब ७२ करोड ७८ लाख ४० हजार रुपैयाँ घटेको छ।

गत वर्ष उर्जा क्षेत्रमा ३ अर्ब ७२ करोड ६० लाख ३० हजार रुपैयाँ लगानी आएकोमा २०७३/७४ मा लगानी नै आएको छैन।

तर  पर्यटन क्षेत्रमा भने उल्लेख्य लगानी बढेको छ। पर्यटन क्षेत्रमा गत वर्षको तुलनामा २६ परियोजना र ४ अर्ब ५६ करोड १४ लाख रुपैयाँ लगानी बढेको छ। त्यस्तै २०७२/७३ मा लगानी नै नआएको खनिज क्षेत्रमा ४ करोड रपैयाँ वैदेशिक लगानी आएको छ।

पाँच वर्ष यताकै न्युन लगानी

आर्थिक वर्ष २०७३/७४ मा दर्ता भएका उद्योग सहित उद्योग विभागमा दर्ता भएका  वैदेशिक लगानीको परियोजना ४ हजार ६९ पुगेका छन्।  यी परियोजनाको लागि कुल पुँजी ३ खर्ब ७५ अर्ब ५८ करोड ८६ लाख १० हजार रुपैयाँ रहेको छ।

पछिल्लो पाँच वर्षमा २ खर्ब ११ अर्ब ५१ करोड ११ लाख पचार हजार रुपैयाँ वैदेशिक लगानी आएको छ। सबै भन्दा बढी आर्थिक वर्ष २०७१/७२ र सबै भन्दा कम आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक लगानी आएको छ।

पाँच वर्षमा आएका वैदेशिक लगानीको तथ्याङ्क हेर्नुहोस्

आर्थिक वर्ष

दर्ता भएका उद्योग

कुल पुँजी रुपैयाँमा

२०७३/७४

३९५

१६ अर्ब ८६ करोड करोड ८५ लाख १० हजार

२०७२/७३

३४८

२० अर्ब ५४ करोड  ३९ लाख ९० हजार

२०७१/७२

३७०

८१ अर्ब ३७ करोड ६ लाख

२०७०/७१

३०७

४० अर्ब ७३ करोड ७२ लाख ७० हजार

२०६९/७०

३१७

५१ अर्ब ९९ करोड ७ लाख ८० हजार रुपैयाँ

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.