|

काठमाडौं : संसदको विकास समितिले भूकम्प प्रभावितलाई सरकारले दिने अनुदानको दोस्रो किस्ता वितरण सहज बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ।

समितिको मंगलबार बसेको बैठकले पुर्ननिर्माणमा सरोकारवाला निकायसंग समन्वय गरी तिब्रता दिनुको साथै भूकम्प प्रभावितलाई दोश्रो किस्ता सहज उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएको हो।

झन्झटिलो व्यवस्था, जटिल भवन निर्माण आचारसंहिता लगायत कारणले पहिलो किस्ता प्राप्त गरेका भूकम्प प्रभावितले दोस्रो किस्ता लिन नसकेको भन्दै भवन निर्माण मापदण्ड लचिलो बनाउनुपर्ने आवाज उठिरहेको बेला समितिले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो।

समितिले पहिलो किस्ता लिएका भूकम्प प्रभावित दोस्रो किस्ता लिन नआउनुको कारण पत्ता लगाई तत्काल समस्या सम्बोधन गर्न पनि भनेको छ। त्यसैगरी शहरी विकास मन्त्रालयको प्राविधिक सहयोगमा स्थानीय सरकारको मातहतमा रही पुनर्निर्माणमा जनशक्ति परिचालन गर्न, गुनासो सुनुवाई प्रभावकारी बनाउन, आवास निर्माणका लागि दिने भनिएको ऋण उपलब्ध गराउन आवश्यक नीति बनाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैकलाई निर्देशन दिएको छ।

समितिले ७ सय ७५ वटा एकीकृत वस्ती विकासका लागि पहिचान भएका स्थानमा निर्माण कार्य अघि बढाउन, विद्यालय सरकारी कार्यालय, सम्पदा लगायतको पुनर्निर्माणको कार्यलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिएको छ। साथै हरेक महिना समितिमा पुनर्निर्माणको प्रगति विवरण प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.