|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन्।

त्रिमूर्ति निकेतनले प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा निकेतनको उचाइ अभिवृद्धिका साथै नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान र पदक प्रदान गर्ने निर्णय भएको जानकारी बुधबार विज्ञप्तिमार्फत गराएको थियो। आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीबाट सम्मान तथा पदक प्रदान गरिने भन्दै बुधबार प्रचण्डलाई भेटेर निम्तोसमेत दिइएको थियो।

यस विषयमा बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले प्रचण्ड पदक ग्रहण नगर्ने निर्णयमा पुगेको जनाएको छ। ‘त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवम् सम्मान र पदकसम्बन्धी प्रगतिवादी चिन्तक एवम् स्रष्टाहरुले देखाउनुभएको चासो र सकारात्मक सुझावलाई ध्यान दिँदै अध्यक्ष क. प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा यसै प्रेस नोटमार्फत् जानकारी गराइन्छ,’ प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै सम्मान कार्यक्रममा उपस्थित हुन गरिएको निमन्त्रणलाई लिएर प्रचण्डले पदक तथा सम्मान ग्रहण गर्ने भनी समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रचण्डलाई सो पदक र सम्मान प्रदान गर्न लागिएको विषयको सामाजिक सञ्जाल र पार्टीभित्रै पनि आलोचना भएको थियो। पार्टीनिकट बुद्धिजीवी तथा लेखक/साहित्यकारहरुले पदक ग्रहण गर्ने/नगर्ने विषयमा सोच्न सुझाव दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.