|

विराटनगर : नेपाल विद्यार्थी संघका जिल्ला नेताले विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राध्यापकहरुको नियुक्ति गरेको विषयलाई लिएर गत मंगलबार तालाबन्दी गरे। त्यसको पर्सिपल्ट आफूहरुलाई विश्वविद्यालयले शैक्षिक भ्रमणमा लानुपर्ने माग गर्दै इन्जिनियरिङका केही विद्यार्थीले पुसेट कलेजका क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुने । 

त्यसको भोलीपल्ट अर्थात शुक्रबार पुनः विभिन्न विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालयमा ५ सूत्रीय माग राख्दै अनिश्चितकालिन तालाबन्दी गरेका छन्। केही समययता आन्दोलन र तालाबन्दीबाट मुक्ति पाएको विश्वविद्यालय फेरि आन्दोलन र तालाबन्दीको मारमा पर्न थालेको छ। 

तालाबन्दी र व्यवस्थापकको लापरबाहीका कारण पटकपटक आन्दोलन हुने र विश्वविद्यालय जर्जर भएपछि अख्तियारले हस्तक्षेप गरेपछि त्यो क्रम रोकिएको थियो । 

तर, विद्यार्थी संगठनले शुक्रबार देखि अनिश्चितकालिन भन्दै पुनः आन्दोलनको घोषणा गरेपछि विश्वविद्यालयलाई अघिकै रोगले भेटेको छ। विद्यार्थीले २४ घण्टको अल्टिमेटम दिँदै सम्पूर्ण समेष्टर विद्यार्थीको लागि मौका परीक्षाको व्यवस्था गर्नुपर्ने, परीक्षा दिइसकेको ४५ दिन भित्र परीक्षाफल प्रकाशित हुनुपर्ने, उत्तरपुस्तिका चेकजाँचमा हुने अनियमितताको अन्त्य गरि निस्पक्ष तरिकाले जाँच हुनुपर्ने, रि–चेकिङ र रि–टोटलिङमा लाग्ने शुल्क घटाउनुपर्ने र पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै शैक्षिक क्यालेन्डर बनाउनु पर्ने माग राखेका छन्। 

पुसेट क्याम्पस र इष्टर्न इन्जिनियरिङ क्याम्पसका अनेरास्ववियु क्रान्तिकारी, संघीय विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी मञ्चका इकाइ समितिले तालाबन्दी गरेका हुन्। 

यसअघि बिहीबार पूर्वाञ्चल विश्वविद्यालयको एकमात्र विज्ञान तथा प्रविधिको उक्त आंगिक क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुख मनोजकुमार हलुवाईलाई दिउँसो २ बजे आफ्नै कार्यकक्षमा केहीबेर थुनेका थिए।

नेपाल इन्जिनियरिङ काउन्सिलले निर्धारण गरेको मापदण्ड अनुसारको अध्यापन नगराइएको र विद्यार्थीलाई शैक्षिक भ्रमणमा लानुपर्ने माग गर्दै कुरा गर्न जाँदा क्याम्पस प्रमुखले अमर्यादित व्यवहार गरेकोले कार्यकक्षमै थुनेको विद्यार्थीले बताएका छन्।

गत मंगलबार विश्वविद्यालयको कार्यकारी परिषद्ले प्रा.डा. सूर्यप्रसाद संग्रौलालाई परीक्षा नियन्त्रक, प्राडा मीनराज ढकाललाई अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक, सह–प्राध्यापक सञ्जेशप्रसाद कोइरालालाई योजना महाशाखा प्रमुख र देवीप्रसाद घिमिरेलाई कानुनी सल्लाहकारमा नियुक्त गरेको विरोधमा नेविसंघले तालाबन्दी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.