|
बाँकेको राप्तीपारी क्षेत्रमा नरैनापुरका बाढीपीडितलाई नेपालगन्जबाट हेलिकप्टरबाट पुर्‍याएको तयारी खाजा वितरण गरिँदै। फोटोः राकेशकुमार मिश्र/रासस

काठमाडौं : बाढीपहिरोबाट प्रभावित भएकाहरूको सहयोगका लागि राजनीतिक दलहरूले पनि सहयोग घोषणा गरेका छन्। राहत तथा उद्धारमा दलहरूले आफ्ना कार्यकर्ता खटाएका छन् भने कतिपयले आर्थिक सहयोग पनि घोषणा गरेका छन्।

नेकपा एमालेले बाढीपहिरोबाट पीडितहरूलाई राहत तथा सहयोग उपलब्ध गराउन प्राकृतिक विपत्ति राहत कोष स्थापना गरेको छ। मंगलबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले कृषि विकास बैंक, कालिमाटी शाखामा रहेको ०२१०३००७१७९१७ खाता नम्बर रहेको ‘नेकपा एमाले प्राकृतिक विपत्ति राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ। एमालेले पार्टीका समर्थक सुभेक्छुकलाई सक्दो आर्थिक सहयोग जम्मा गर्न अपिल गरेको छ। 

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि केन्द्रीय कमिटी पदाधिकारी तथा सदस्यहरू, सांसदहरू तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट एक महिना बराबरको तलब राहत स्वरुप उपलब्ध गराउने निर्णय एमालेले गरेको छ।

उसले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्न केन्द्रीय स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनलाई निर्देशन दिएको छ। प्रभावित जिल्लाहरूमा जिल्ला इन्चार्जको नेतृत्वमा कम्तिमा एक हजार जना स्वयंसेवक परिचालन गर्ने एमालेको निर्णय छ।

बैठकले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय उद्धार, राहत तथा पुनःस्थापना समिति स्थापना गरेको छ।

सरकारसँग माग

एमालेले बाढीपहिरो र डुबानबाट मृत्यु भएका परिवारलाई प्रति मृतक ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउन र तत्काल आवास तथा अन्य राहतको लागि प्रति परिवार १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

उसले आवास गुमाएकाहरूलाई तीन लाख अनुदान र तीन लाख निर्ब्याजी ऋण उपलब्ध गराउन पनि माग गरेको छ। प्रभावितहरूलाई जीवन निर्वाहका निम्ति स्वरोजगारमूलक काम गर्न दुई लाख रुपैयाँ ऋण उपलब्ध गराउन पनि माग गरेको छ।

खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरुको कृत्रिम अभाव र कालाबजारी तत्काल नियन्त्र गर्न पनि उसले माग गरेको छ।

संघीय समाजवादी फोरमले पनि बाढीपहिरो पीडितको राहतका लागि रकम जम्मा गर्न केन्द्रीय समिति सदस्य तथा सांसदहरूलाई निर्देशन दिएको छ।

पदाधिकारी र राजनीतिक समिति सदस्यहरूले तीन हजार रुपैयाँ, केन्द्रीय सदस्यहरूले दुई हजार रुपैयाँ, केन्द्रीय परिषद् सदस्यहरूले एक हजार रुपैयाँ र क्रियाशील सदस्यहरूबाट एक सय रुपैयाँ उठाउने उसले निर्णय गरेको छ। सांसदहरूले भने एक महिना बराबरको तलब दिनेछन्।।

बाढीपहिरो पीडितलाई आर्थिक सहयोग जुटाउन उसले एक हजारप्रति रसिद छाप्ने निर्णय पनि गरेको छ। संघीय समाजवादीले पनि बैंकमा खाता खोली आर्थिक संकलन गर्ने निर्णय गरेको छ।

सत्तारुढ नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रले यसअघि नै सहयोग घोषणा गरिसकेका छन्। कांग्रेसका २०७ जना सांसदले एक महिनाको तलब बाढीपहिरो र डुवान पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् भने माओवादी केन्द्रका ८२ जना सांसदले एक महिना बराबरको तलब दिने घोषणा गरेका छन्।

नयाँ शक्ति पार्टी, नेपालले पनि बाढी पीडितका लागि राहत संकलन र वितरण गर्ने निर्णय गरेको छ। उसले राष्ट्रिय युवा अभियानका संयोजक कमल शाहीको संयोजकत्वमा राहत संकलन समिति बनाएको छ। यो समितिले सोमबारदेखि नै नगद संकलन थालिसकेको छ।

यता मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले बाढीपीडितको उद्दारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ।

सरकारले बाढीपहिरो र डुवानमा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ। मन्त्रिहरूले पनि आफ्नो एक महिनाको तलब बाढीपहिरो पीडितको राहतमा दिने घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.