|

फत्तेपुर (बाँके) : उनको नाम दिव्य बुढामगर (गुरुङ)। घर राप्ती–सोनारी गाउँपालिका–७, मोहनपुर। बिहीबार नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारीले बाढी पीडितका लागि राहत वितरण गर्दा उनी दिनभर खटिइन्।

उनको घरमा बाढी नपसेकोले उनी राहत वितरणमा खटिएकी भने होइनन्। बाढी पसेर छिमेकीको घरमा बास भएको छ उनको। श्रीमान कामको सिलसिलामा कतारमा छन्। एक वर्षकी छोरीलाई निमोनिया भएको छ। तैपनि उनी सामाजिक दायित्व निर्वाह गर्न राहत वितरण कार्यमा खटिएकी छन्।

उनको घरमा ५ दिनदेखि चुल्हो बलेको छैन। ‘घरमा जानै सकेको छैन, खाना बनाउने र बस्ने त परको कुरा भयो,’ उनले आफ्नो ब्यथालाई मनमै राखेर हँसिलो अनुहारमा भनिन्।

बाढीले क्षतविक्षत बनाएको घर देखाउँदै उनले अन्नपात केही जोगाउन नसकेको बताइन्। बाढीले सर्वस्व लगेर छिमेकीको घरमा बास भए पनि उनले अहिलेसम्म कुनै राहत पाएकी छैनन्। आफूले भन्दा अरुले पाएकोमा उनलाई खुसी लागेको छ। ‘जसको केही छैन उसले राहत सामग्री पाउँदा खुसी लाग्छ,’ उनले भनिन् ।

नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष गंगाकुमारी चन्द शाह पनि बिहीवार फत्तेपुरका टेपरी, ढेलैयाका बाढी पीडितलाई राहत वितरणमा खटिइन्। उनको घरमा पनि बाढीले क्षति पुर्‍याए पनि उनी पीडितको नाम संकलन, राहत वितरणमा खटिदै आएकी छन्। ‘आफूलाई मात्र राम्रो भएर भएन, सबैको घरमा चुल्हो बलेपो खाँदा मिठो लाग्ला,’ उनले भनिन्।

विपदका सारथी बने जनप्रतिनिधि

नवनिर्वाचित जनप्रतिनिधि विपदमा जनताका सारथी बनेका छन्। विपदका बेला जनप्रतिनिधिहरु रातदिन नभनी बाढी पीडितको उद्धारमा खटेका छन्। उनीहरु बाढीका बेला सुरक्षित ठाउँमा सार्न सक्रिय भए। आफ्नो स्थानीय तह र वडाका बासिन्दाको अवस्था बुझ्न दिनरात उनीहरु तल्लिन रहे।

हेलिकोप्टरबाट उद्धार गर्न नसेको ठाउँमा जोखिम मोलेर राप्ती–सोनारी गाउँपालिका–७ का वडाअध्यक्ष रामलखन थारु बाढीमा फसेकाहरु भएको ठाउँमा आफै पुगेर उद्धार गरे। करिब ४८ घण्टासम्म बाढीमा फसेकाहरुको उद्धार गर्न उनी आफै खटिए। ‘ठूलै जोखिम मोलेर डुंगाको सहायतामा उद्धार गर्न सफल भयौँ,’ उनले भने ।

उनी विहानदेखि राति ११ वजेसम्म बाढीपीडित क्षेत्रमै खटिन्थे। बाढी पीडितको वेदना सुनेर घरमा बस्न मनै लाग्दैनथ्यो,’ उनले भने, ‘मैले बाढी पीडितका लागि धेरै के गरेको छु र आफ्नो जिम्मेवारी र दायित्व निर्वाहमात्र गरेको हुँ।’

राप्ती–सोनारी गाउँपालिका–६ का वडा अध्यक्ष जनकबहादुर थारु पनि बाधा अड्नको कुनै प्रवाह नगरी दिनरात बाढी पीडितको उद्धारमा खटिए। उद्धार गर्ने क्रममा उनको दाहिने खुट्टा सीसाले काट्दा समेत उनी आफ्नो दायित्वबाट पछि हटेनन्। काटेको खुट्मा पट्टी बाँधेर उनी बाढीपीडितको उद्धार र राहतको जोहो गर्न तल्लिन छन्। बिहीबार राहत वितरण कार्यक्रममा भेटिएका वडा अध्यक्ष थारुले आफूलाई दु:ख भए पनि जनतालाई दुख नहोवस् भन्ने पक्षमा आफू रहेको बताए। ‘खुट्टा सुनिएको छ, यो दुखाई भन्दा मलाई जनताले पाएको दु:खले पोलेको छ,’ उनले भने।

मनकारी हातहरु राहत बाँड्न बाढी प्रभावित क्षेत्रमा

राहतका लागि मनकारीहरु बाढी पीडित क्षेत्रमा पुग्न थालेका छन्। बुधबारसम्म कोही जान नसकेको राप्तीपारीका बाढी प्रभावित क्षेत्रमा बिहीबार हेफर इन्टर नेशनलको सहयोगमा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले राहत वितरण गरेको छ। सहकारीले आफ्ना साधारण सदस्यका परिवारलाई राहत सामग्री वितरण गरेको हो।

विहीवार सहकारी सदस्य मध्ये ७ सय ५० घरधुरीलाई प्रति ब्यक्ति ५ किलो चामल, एक किलो नुन, एक किलो दाल र प्रति परिवार एक लिटर खाने तेल प्रदान गरिएको हेफर इन्टर नेशनलका फिल्ड अफिसर प्रदिप शर्माले बताए। उनले २६ क्वीन्टल चामल, ७ क्वीन्टल ५० किलो दाल, ३ सय ५० लिटर खाने तेल र ७ सय ५० किलो नुन वितरण गरिएको जानकारी दिए।

सहकारीमा आवद्ध सबै सदस्यका घर बाढीले क्षति नपुर्‍याएकोले क्षति पुर्‍याएको परिवारलाई राहत सामग्री प्रदान गरिएको सहकारीका ब्यवस्थापक दिव्या गुरुङले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.