|

कालिकोट : चिनियाँ क्षेत्र ह्याजिमारमा खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामान खरिद गर्न गएका सो क्षेत्रका बासिन्दा यस वर्ष रित्तै घर फर्केका छन्। सडकले नछोएको कर्णालीका हुम्ला, मुगु र डोल्पाका उत्तरी भेकका बासिन्दा दैनिक उपभोग्य सामान किन्न छिमेकी देश चीनको तिब्बत जाने गर्थे।

बर्षको एक पटक लाग्दै आएको हाटबजार यस वर्ष सीमावर्ती क्षेत्रका तिब्बती वासिन्दा र चिनियाँ खाम्पाबीचको विवादका कारण नलागेको हो। सीमा क्षेत्रका तिब्बतीले चिनियाँ व्यापारी खाम्पासँग सामान किन्न नदिई आफूहरुसँग कारोबार गर्नुपर्ने भनी राखेको अडान नेपाली पक्षले नमानेपछि विवाद भएर हाट बजार नलागेको मुगु उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरवीर राउतले बताए। ‘चिनियाँ खाम्पा र स्थानीय तिबब्तीबीच विवादका कारणले हाट बजार लागेन' उनले भने, ‘सामान खरिद–बिक्री गर्न हाट लाग्ने ठाउँ तिब्बतको ह्याजिमार पुगेका मुगाली तथा सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा रित्तै घर फर्केका छन्।’

मुगुको मुगम कामारोङ गाउँपालिकाका नवनिवार्चित पदाधिकारीलाई बधाई दिन तथा हाटबजार लाग्नेबारे छलफल गर्न तिब्बी पक्षले निमन्त्रणा दिएका थिए। पाँच दिनसम्म चलेको व्यापारसम्बन्धी छलफलमा नेपाली क्षेत्रका बासिन्दाले आफूहरुले सिधै चिनियाँ व्यापारी खाम्पासँग सामान किन्न पाउनुपर्ने अडान राखेको र सोही विषयमा विवाद चुलिएपछि वार्ता टुङ्गिएको मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए।

‘सिधै ठूला व्यापारीसँग व्यापार गर्न नदिएर सीमावर्ती तिब्बतका बासिन्दा छोपाले बिचौलियाको भूमिका खेल्न खोजे' उनले भने 'नेपालीलाई दुःख र घाटा हुने देखेपछि यसवर्ष हाट चलाउन सम्झौता गर्न मानेनौं।’ मुगुको भोटे समुदाय र उत्तरी सीमावर्ती ह्याजिमोराङ जिल्लाका चिनियाँ नागरिकबीच वर्षौदेखि चल्दै आएको हाटबजार नचल्दा सदियौँदेखिको ऊन र नुनको सम्बन्धमा चिसोपना आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.