|

जुम्ला : कर्णालीमा ऊर्जाको सम्भाव्यता अध्ययन गर्न ऊर्जामन्त्री महेन्द्र शाहीले कर्णालीका ४ जिल्लाको भ्रमण गरेका छन्। जुम्ला आइपुगेका मन्त्री शाहीले कर्णालीको मुख्य नदी कर्णालीको तिरैतिर भएर हुम्लासम्म पुगे।

त्यस्तै मुगुको राराताल हेरेर जुम्लाको तिला र हिमानदी पनि अवलोकन गरेको उनले बताए। उनले कर्णालीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, दैलेखसम्म पुगेको प्रसारण लाइन कालीकोटको चिल्खायामा सव–स्टेशन राखेर जुम्लालाई जोड्ने जनाएका छन्। उनले भने, 'कर्णाली जलस्रोतको धनी हुँदा पनि त्यसको सदुपयोग नगर्न नसक्दा पछि परेको छ, हाइड्रो पावरले नै यो क्षेत्रलाई माथि उठाउनेछ।' 

ऊर्जामन्त्री शाहीले हेलिकोप्टरबाट हुम्ला, मुगु, कालीकोट, जुम्ला र जाजरकोटको ऊर्जाको सम्भाव्यता अध्ययन गरेका छन्। अध्ययनका लागि ऊर्जामन्त्री शाही, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,पूर्व सभासद नरेश भण्डारी, पूर्व सभासद ल्यारक्याल लामा, नेकपा माओवादीका पोलिटब्युरो सदस्य प्रकाश रोकाया र प्राविधिकहरूको टोली आएको थियो।

ऊर्जामन्त्रीले आइतबार कर्णाली करिडोरको पनि अनुगमन गरेका छन्। कर्णालीमा गरेको अध्ययन अनुगमनको छलफल काठमाडौँमा पुगेर गर्ने र जलविद्युत कुन नदीमा निकाल्ने भन्नेबारे निर्णय गर्ने बताए। उनले अब कर्णालीवासीलाई अरूको भरमा नपर्न अनुरोध गरे। कर्णालीमा जलविद्युत आयोजनाका लागि लगानीकर्ताहरू इच्छुक रहेको पनि मन्त्री शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.