|

रुपन्देही : सम्झौताअनुसार समयमै काम भएको भए आगामी पुससम्म गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तयार हुने थियो। बिडम्बना, अनेक उल्झनहरुबाट राष्ट्रिय गौरवको आयोजना भनिएको विमानस्थल निर्माणको काम सुस्त भयो। 

कहिले कामदार अभाव, कहिले आन्तरिक समस्या त कहिले ठेकेदार कम्पनीको विवाद। यस्ता अनेक कारणले विमानस्थलको २६ प्रतिशत मात्रै काम भएको छ। निर्माणस्थलमा मेसिनरी उपकरण र निर्माण सामग्री असरल्ल छन । 

गत १ चैतदेखि स्थानीय ठेकेदार कम्पनी नर्थवेष्ट इन्फा नेपाल प्रालिले काम गरेको छैन। मुख्य ठेकेदार चिनीयाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले एक्लै काम गरिरहेको छ। 

दैनिक १६ आन्तरिक र ६ वटा बाह्य विमानहरु उड्न सक्ने क्षमताको यो विमानस्थलको स्तरोन्नतिको काम ठप्पै नभएपनि कछुवा गतिमा छ। विमानस्थलको निर्माणको काम सन्तोषजनक नभएको स्वीकार्दै नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल भन्छन्,‘हामीले चिनीयाँ कम्पनीलाई असोज १ गतेसम्मको समय दिएका छौं, त्यसबेलासम्म पनि काम राम्रोसँग अघि बढेन भने ठेक्का सम्झौता तोड्न सक्छौं।’

संसदको लेखा समितिले चासो देखाउँदै ताकेता गरेपछि चिनीयाँ कम्पनी व्यवस्थापन फेर्ने तयारीमा छ। गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार नर्ग वेष्ट कम्पनीले म्यानेजर र विज्ञहरुको समू्ह नै परिवर्तन गर्ने तयारी गरेको जानकारी पठाएको छ। 

‘भाषा र अन्य विभिन्न कारणले हालको समूहले कामलाई तीव्रता दिन नसकेका कारण छिटै नै व्यवस्थापन परिवर्तन गर्छौं भन्ने जानकारी आएको छ,’उनले भने।

स्वार्थ समूहको जालोमा फस्यो विमानस्थल निर्माण

विमानस्थलको स्तरोन्नति गर्ने चर्चासँग विभिन्न स्वार्थ समूहहरु सक्रिय थिए। कांग्रेस र एमालेका नेताहरु नै यसको लविङमा लागे। ग्लोवल टेण्डरमार्फत चिनीयाँ कम्पनीले ठेक्का पायो। 

त्यसपछि सुरुका ९ महिना उदयपुरका एमाले निकट व्यवसायी नारायण कार्कीको नाममा रहेको हिमालयन इन्फ्राटेक प्रालिले स्थानीय कम्पनीका रुपमा काम गर्‍यो। त्यतिबेलैदेखि एमाले निकट व्यवसायीहरुकै अर्को कम्पनी नर्थवेष्ट इन्फा नेपाल प्रालिले अनौपचारिक रुपमा काम गरिरहेको थियो। जसमा एमाले नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार र युवा संघ नेता राजु गुरुङ संलग्न थिए। 

नर्थवेष्टले अनौपचारिक सम्झौतामा ढुवानीको काम गरिरहेकै समयमा हिमालयन गायवब भयो। काम थालेको ९ महिनामै कम्पनी भागेपछि चिनीयाँ कम्पनीले नर्थवेष्टलाई नै स्थानीय ठेकेदार कम्पनीको रुपमा काम दियो। 

चिनीयाँ कम्पनीले ८० प्रतिशत काम दिने शर्तमा सम्झौता गराएको थियो। तर आर्थिक र राजनीतिक द्वन्द्व बढ्दै गएपछि गत चैतमा चिनीयाँ कम्पनीले नर्थवेष्टलाई हटायो। 

नर्थवेष्टलाई हटाउनमा एमालेकै युवाहरु सुमन पुरी, बालकृष्ण शिवाकोटी लगायत लागिपरेको र आफुहरुले काम पाउनुपर्ने दाबी गरिरहेको आरोप लागेको छ। 
युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतनिकट युवा अन्जित विष्टको नेतृत्वमा रहेको वेष्ट प्रोजेक्ट कम्पनी चिनीयाँ कम्पनीसँग अबको काम गर्ने भन्दै लागिरहेको छ।   

यस्ता छन् विमानस्थल निर्माण सम्पन्न भएपछिका सपना

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको लागत ६ अर्ब २२ करोड छ। सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य राखेकोमा अहिले यो मिति सर्दै सर्दै २०१८ को जुन १५ तोकिएको छ। 

यो विमानस्थलबाट सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यो विमानस्थललाई लिइएको छ।   

सञ्चालनमा आएको एक वर्षमा चार लाख १३ हजार बढीले विमानस्थल प्रयोग गर्ने आयोजनाको अनुमान छ। यही विमानस्थलबाट वार्षिक ६० लाख जनालाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गराउने लक्ष्य छ।  

तीन किलोमिटर लामो धावनमार्गको निर्माण जारी रहेको विमानस्थलमा तत्काल बोइङ ७७७–२००, एयरबस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन्। हाल सञ्चालनमा रहेको विमानस्थलको धावनमार्गलाई ट्याक्सी वेमा परिणत गर्ने तयारी गरिएको आयोजना प्रमुख शर्माले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.