|

पर्वत : पितृपक्ष (सोह्रश्राद्ध) मा मुस्ताङ पुग्ने श्रद्धालुको संख्या बढेको छ। अघिल्लो वर्षको सोह्रश्राद्धमा झण्डै एक लाख मुक्तिनाथ पुगेकोमा यो करिब २० हजारले बढेको अनुमान छ। 

धौलागिरीको प्रवेशद्वार डिमुवा नाकाका ट्राफिक प्रहरी इञ्चार्ज रेशमबहादुर थापाका अनुसार  १६ यता अवधिमा २ सय ५ जीप, १ सय ८० मोटरसाइकल, ४० वटा निजी कार र १० वटा बस मुस्ताङ गएका छन्। 

मुस्ताङका होटलहरु पनि अहिले पूरै भरिएको स्थानीय व्यापारीहरूले बताए। ‘तीर्थयात्रीको चापले होटल सञ्चालकहरुलाई भ्याइनभ्याइ भएको छ’, होटल व्यवसायी केशव रिजालले भने, ‘अहिले पाहुनाहरुको निकै चाप छ।’ 

सोह्रश्राद्धमा मुक्तिनाथ पुगेर कागबेनीस्थित कालीगण्डकी नदी किनारमा तर्पण र पिण्डदान गरे पितृहरु मुक्त हुन्छन् भन्ने विश्वास छ। नेपालको चार धाममध्येको एक मानिने मुक्तिनाथको दर्शनपछि मनोकामना पनि पूरा हुने विश्वास छ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने मुक्तिनाथ ३१ सय १० मिटरको उचाइमा पर्छ। पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै सडक यात्राबाट जान सकिन्छ भने पोखरा–जोमसोम हवाइ उडानले पनि यहाँ पुग्न निकै सहज भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.