|
तस्विर– तिलु तिमिल्सिनाको फेसबुक

काठमाडौं : दीपावलीका विभिन्न आकर्षणमध्ये रंगवली (रेखी वा रंगोली) पनि एक हो। लक्ष्मीपूजाको दिन घरआागन र पूजाकोठामा हालिने विभिन्न प्रकारकाो रेखीले दीपावलीलाई रौनक दिइरहेको हुन्छ। 

पुराणमा बताइएको ६४ प्रकारको कला जसमध्ये रंगवली पनि एक कला हो। तण्डुलकुसरमवलिविकार नामक कलामा विभिन्न प्रकारका विन्यासद्वारा भूमिलाई सजाउने काम गरिन्छ। संस्कृतमा रंगवली भनिने यो कलालाई नेपालीमा रेखी भनिन्छ। नेपाली संस्कृतिमा  रेखी हाल्ने कला विभिन्न स्थानअनुसार आ–आफ्नै किसिमको छ।

कुनै पनि मांगलिक कार्य (विवाह, व्रतबन्ध अदि) कार्यमा पूजा स्थलमा अग्निस्थापना (होम), रुद्री, सत्यनारायणको पूजा आदिमा पनि चामलको पिठो अविर(रातो), केशरी(पहेँलो)ले रेखी हालेर मात्र पूजाको सुरुवात गरिन्छ। नेवारी समुदारले म्हपूजा गर्दा र नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउने क्रममा हाल्ने रंगवलीले यी पर्वहरूलाई आकर्षक बनाउँछन्।

नेपालको पश्चिमी क्षेत्रमा महिलाहरूले चामलको पिठोलाई पानीमा घोलेर पातलो पारी औंलाले कोरेर रेखी हाल्ने चलन छ, जसलाई 'ऐपन' भनिन्छ। नेवारी संस्कृतिमा रेखीलाई अझ विविधतायुक्त बनाइन्छ। म्हपूजा गर्दा परिवारका प्रत्येक सदस्यहरूको छुट्टाछुट्टै 'मण्डल'  बनाइएको हुन्छ, जसमा प्रयोग गरिने विभिन्न रंगहरूको प्रयोगले यस पर्वलाई मनमोहक बनाउँछ। 

विशेषगरी रेखी ज्यामितीय आकार प्रकारमै हुने गर्दछ । त्यसैले पनि ज्यामितीय गणित पनि यसै कलाद्वारा उत्पत्ति भएको मान्न सकिन्छ। रंगवलीमा स्वस्तिक, पद्म, कोण आदिको साथै माछा, पशुपक्षी सूर्यचन्द्र आदिका चित्र बनाइन्छ। परम्परागत रूपमा हालिने रंगवलीमा चामलको पिठो र अविर केशरीको प्रयोग हुन्छ। ठाउँअनुसार अरु निलो, हरियो आदि रंगको पनि प्रयोग गरिन्छ।

भारतको उत्तरी भागमा होली र दीपावलीमा मात्र रंगवली हाल्ने चलन भए पनि दक्षिण भारतमा दिनहुँ  घर सजाउने चलन छ। विशेषगरी तमिल, तेलगु, कन्नड मलयालम क्षेत्रमा प्रत्येक दिन आँगन करेसा सफा गरी रंगवली हालेर घर सजाउने गरिन्छ। मराठी कांकणी अञ्चलमा पनि दैनिक रंगीविरंगी रंगवली हाल्ने गरिन्छ। ब‌ंगाली समुदायमा आँटाको पिठोद्वारा बनाइएको रंगवलीलाई 'अल्पना' भनिन्छ।

भारतको गुजरात प्रान्तमा कमल आकृतिसँग सम्बन्धित रंगवली बनाइन्छन्। दीपावलीमा हालिने कमलको रेखीलाई यहाँ ज्यादै शुभकारक मानिन्छ। राजस्थानको ‘मांगडा’ नामक रेखी सबैभन्दा विविधतायुक्त रंगको संयोजन) भएको रेखी मानिन्छ। मगधमा बनाइने मण्डल, केरलको फूलकोमल आदि प्रसिद्ध रेखी मानिन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.