|
फाइल फोटो

काठमाडौं : सिस्नो पानी नेपालले बर्सेनि तिहारमा देउसी-भैलोको माध्यमबाट भ्रष्टाचार तथा विकृति विसंगतिमाथि व्यङ्ग्य गर्ने गरेको छ। सोही क्रमलाई निरन्तरता दिन यसवर्ष पनि बुधबार प्रज्ञा भवनमा प्रमुख दलका शीर्ष नेताहरु समेतको उपस्थितिमा सिस्नो पानी नेपालले व्यङ्ग्यात्मक देउसी प्रस्तुत गरेको छ।

सिस्नो पानीको यसवर्षको देउसीमा निसाना भ्रष्टाचारलाई बनाइएको छ। भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका प्रमुख गोपाल खड्कामाथि सिस्नो पानीको मुख्य निसाना छ।

हामी त्यसै आएनौं गोपाल सरले खटाए,
तेल भण्डारण गर्ने जमिन खोज्न पठाए।

दुई लाख पर्ने जमिनलाई २० लाख खनखन गन्या छन्,
गोपाल सरलाई गोपाल सरले स्याबास् भन्या छन्।

यसैगरी वर्तमान जम्बो मन्त्रिपरिषद्लाई पनि सिस्नो पानीको देउसीले व्यङ्ग्य गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ सदस्यीय मन्त्रिपरिषद् बनाएको विषयलाई यसरी व्यङ्ग्य गरिएको छ।

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ,
मन्त्रीमण्डल बोइलरको बथान जस्तो छ ।

केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो,
सबै मन्त्री अटाउनलाई हलै सानु भो।

यस्तै हालै बनेको वाम गठबन्धनप्रति पनि व्यड्ग्य गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही महिना अघिसम्मको कटाक्ष र अहिलेको मेललाई सिस्नो पानीले व्यङ्ग्य गरेको हो।

केपी ओली प्रचण्ड मिले भन्छन् रातारात,
हिजोसम्म काटाकाट आज चाटाचाट।

खोक्रो थियो राष्ट्रवाद भरिलो भो पुटुक्कै,
छिनको छिनमै लम्पसारवाद उठ्यो जुरुक्कै।

कांग्रेसको सहयोगमा भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित माओवादी केन्द्रकी रेणु दाहालले वाम गठबन्धन बनेपछि जिल्ला समन्वय समितिमा एमाले उम्मेदवारलाई भोट हालिन्। त्यसलाई पनि सिस्नो पानीले व्यङ्ग्य गरेको छ।

भरतपुरका कांग्रेस दाजै भोट कता हाल्या थ्यौ नि राजै
जिताउने एउटाले, बिताउने अर्कैले
तुमको ऐले कैसा लगता है … ।

गठबन्धन तोडी गयौ, मलाई एक्लै छोडी गयौ नि लै लै
कि लाउ माया मैतिर, कि लाउ माया उहीतिर
क्याबिनेट से क्युँ नही हट्ता है … ।

सिस्नो पानीले लोडसेडिङ हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा, नेपाल प्रहरीका डिआइजी सर्वेन्द्र खनाल, महजोडी तथा धुर्मुस-सुन्तली लगायतको भने प्रस‌ंसा गरेको छ।

 

हेर्नुहोस् सिस्नो पानीको देउसी : (पूर्णपाठ)

भन भन भाइ हो – देउसिरे
भन भन बैनी हो – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
भ्रष्टाचारको – केसैमा
अख्तियार भन्ने – राज्य थ्यो
लोकमान भन्ने – राजा थे
नकुरा गरौं – कस्ता थे
जंगबहादुर – जस्ता थे
शिकार खेल्थे – हेरेर
लुतेलाई लडाउँथे – बेरेर
अहिले त अख्तियार – खै कुन्नी
बन्दुकै पड्के नि – नसुन्नी

प्रमुखकै नाम थाहा – पा छैन
बस्नेत कि उठ्नेत – थाहा छैन
नाता र गोताले – सताए
साला र ज्वाइँले – बिताए

भ्रष्टाचार फक्र्यो – फक्रिनु
सम्धीलाई कसरी – पक्रिनु
अन्यौलमा हो कि – परेका
दायित्वबाट – झरेका

हामी त्यसै आएनौं गोपाल सरले खटाए
तेल भण्डारण गर्ने जमिन खोज्न पठाए ।

दुई लाख पर्ने जमिनलाई २० लाख खन खन गन्या छन्
गोपाल सरलाई गोपाल सरले स्याबास भन्या छन् ।

अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन् ।

कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन् ।

समाजवादी बाटोमा देउवा ईंटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन् ।

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ ।

केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानु भो ।

बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो ।

राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नुभो
भाषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो ।

मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्‍या हेर्‍यै भो
देउवाजीको कालो बोको छेर्‍या छेर्‍यै भो ।

सिस्नुपानी नेपालैका हामी कवि कलाकार नि लै लै
प्रज्ञाको दैलो, खेल्दै देउसी भैलो,
नाच्दै आयौं छमछम ।

काठमाण्डूका खाल्डे सडक सबै सम्म पारेछन् नि लै लै
मेट्रो पनि चलेछ, मोनो रेल नि गुडेछ
चढी आयौं ठमठम ।

भ्रष्टले नि चुनाव लड्ने झण्डै बन्यो नि..यम्
विफल भयो छक्क परे दाजु राधेश्याम ।

सांसद हुन्जेल बिकाश बजेट छाडेपछि पेन्सन
दुईटै गुम्यो हेर्दा हेर्दै भयो टेन्सन ।

प्रधानमन्त्री कुल्चिहाल्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेर्छौँ रमिता ।

संबैधानिक आयोग हो कि रुञ्चे लाग्या बालक
अलिकति लाज मान देशका चालक ।

अनुदानको रासन हुम्ला जुम्ला पुग्दा कुहिन्छ
आधा पुग्छ मुखमा आधा अन्तै चुहिन्छ ।

बाटो छैन बत्ती छैन कणर्ालीका पाखामा
फुलो रैछ राजधानीको हेर्ने आँखामा ।

पुनर्निर्माण सीईओ टिकट लेर कुलेलाम
वर्षौंदेखि छाप्रोमै पीडित जिल्लाराम ।

हाम्रो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको
कदर गर्न राज्यले खोइ त जानेको ?

श्रमिक सधैं सकसमा कति आउँछन् बाकसमा
रोजगार जुटाउँ आफ्नै धर्ती आफ्नै आकाशमा ।

चुनाव आउँदा मधेसी, बाढी आउँदा परदेशी
काठमाडौंमै भुनभुन गर्छन् मन्त्री पाएसी ।

बिहान फोरम, दिउँसो कांग्रेस, साँझ हुन्छन् एमाले
मधेस कैले बन्छ ठाकुर यस्तो पाराले ।

मधेसको मुहार फेर्न देखाउ केही गरेर
हुन्न भलाइ दिल्लीको शरण परेर ।

भन भन साथी – मधेसमा
जंगली हात्ती – मधेसमा
डुवान र बाढी – मधेसमा
फोहोरका खाडी – मधेसमा
छुवाछुतले हान्छ – मधेसमा
डेंगुले लान्छ – मधेसमा
शीतलहर चल्छ – मधेसमा
तातोले पोल्छ – मधेसमा
भ्रष्ट र तस्कर – मधेसमा
सर्प र मच्छड – मधेसमा
बन्दुक र भाला – मधेसमा
विकाशमा ताला – मधेसमा
दाइजोको दलदल – मधेसमा
बोक्सीको खलबल – मधेसमा
दशगजा सर्छ – मधेसमा
गोविन्द मर्छ – मधेसमा
देवनारायण थुनिन्छ – मधेसमा
भोकमरी सुनिन्छ – मधेसमा
खानकै दरकार – मधेसमा
खोई कहाँ छ सरकार – मधेसमा

भरतपुरका कांग्रेस दाजै भोट कता हाल्या थ्यौ नि राजै
जिताउने एउटाले, बिताउने अर्कैले
तुमको ऐले कैसा लगता है…।

गठबन्धन तोडी गयौ, मलाई एक्लै छोडी गयौ नि लै लै
कि लाउ माया मैतिर, कि लाउ माया उहीतिर
क्याविनेट से क्यूँ नही हट्ता है… ।

बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले
दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले ।

गुण्डा डनले टिकट पाए एमालेमा पसेर
चरी-घैंटे रुँदा हुन् माथि बसेर ।

इन्काउण्टरमा परेर तिनीहरु मरिगए
इन्काउन्टरमा नपर्नेचैं मन्त्री हुनेभए ।

दीपक मनाङेलाई आउँदो गृहमन्त्री बनाइदेउ
नवराज सिलवाललाई गृह राज्य देउ ।

केपी ओली प्रचण्ड मिले भन्छन् रातारात
हिजोसम्म काटाकाट आज चाटाचाट ।

खोक्रो थियो राष्ट्रवाद भरिलो भो पुटुक्कै
छिनको छिनमै लम्पसारबाद उठ्यो जुरुक्कै ।

माओवादी सिंगै एकनाथ चुरे भावर एमाले
पासवान गुप्ता त्रिपाठी माले मसाले ।

आलु केरा पिँडालुमा नुनखुर्सानी खन्याए
नयाँ नेपाल कम्युनिष्ट पार्टी सलाद बनाए ।

एमाले र माओवादीको लगनगाँठो बरी लै
दुई दिनको रामछायाँ कि जुनी भरिलाई ?

तिमी आफैं मिल्यौ कि मिलाउने ले मिलायो ?
दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो ?

गर्मी हुँदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर ।

बाबुरामको नयाँ पसल वर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घार न घाट भो ।

काठमाडौंमै सिंगापुर – देखियो
फोहोरले फ्लाइओभर – छेकियो
मोनोरेल मनमनै – चढियो
चिप्लेर झण्डै – लडियो
सुरुङमार्गबाट – छिरेर
द्रुतमार्ग हुँदै – फिरेर
मेलम्ची पानी – चाखियो
निजगढमा बोइङ – राखियो
चीनबाट चुच्चे – रेल आयो
पाइपलाइनबाट – तेल आयो
बाहिरी रिङरोडमा – फिलीली
बसपार्कको टावर – फिलीली
कान्छीको हात – समाउँदै
साततले बाटोमा – घुमाउँदै
स्मार्ट सिटीको – घरैमा
नेभिटेकरको – भरैमा
भान्सामै ग्यास आउँछ – भनेर
नेताका कुरा – सुनेर
सस्तैमा बेचियो – सिलिण्डर
झल्याँस्स ब्यूझेँ – गाडीमा
भाडा पो माग्छ – किलिण्डर
महानगर एक्सप्रेसको – किलिण्डर ।।

हाम्रो देशका कर्मचारी युनियनका अधिकारी नि लै लै
आफ्नो जागीर खाउ भन्दा, थानीयमा जाउ भन्दा
सरकारलाई नै ढाल्न कसिन्छन् ।

हाम्रो देशका अस्थायी शिक्षक जाँचै नदिई थायी माग्छन् नि लै लै
दलको झोला बोकेर, दलकै नारा घोकेर
यिनले कस्तो शिक्षा बक्सिन्छन् ।

तिहारको किनमेल गरौं दरबारमार्ग बजारमा
सत्र सयको जुत्तालाई २४ हजारमा ।

जति भन्छन् त्यति पैसा तिरी फुत्त भाग्नु है
नत्र कुट्लान् ब्यापारीले चुप लाग्नु है ।

बैंकहरु सुरुखुरु ब्याजमात्रै बढाउँछन्
गभर्नरज्यू तपाईंलाई के के चढाउँछन् ?

सरकार किन्ने पार्टी किन्ने टियु किन्ने अन्सारी
अपार्टमेन्टलाई अस्पतालमा गरे नामसारी ।

मेडिकलका माफियाले सरकार उठबस गराउँछन्
कारवाही गर्ने निकायलाई घाँस चराउँछन् ।

फ्रुटी बेच्ने दुगड दाजु रैछौ साह्रै बफादार
झोल किन्ने ग्राहकलाई चोक्टा उपहार ।
विश्वधनी सूचीमा विनोदलेे नाम टल्काए
कर छल्न यता उद्योग टाट पल्टाए ।

उद्योगी र व्यापारीले राज्यमा दाइँ गर्दछन्
नेता उनकै दाना खान आइँ गर्दछन् ।

मोबाइल देनन् मेयरसापलाई मोटर देनन् चढ्नलाई
बाधा गरे विरोधीले अघि बढ्नलाई ।

हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्
केको विद्या केको सुन्दर माखै मारेनन् ।

काठमाडौंका मेयरसा साहेब जितेपछि कता गायव नि लै लै
एकसयएक सपना जनतालाई देखायौ
आफू भने झ्याप्पै निदायौ ।

महानगर कर्मचारी, नेताजनका छोरा ब्वारी नि लै लै
फाल्न पनि गाह्रो छ, फाल्न झनै साह्रो छ
निर्वाचितलाई पिठ्युँ देखाए ।

आशिर्वाद :

देशबाट जाओस्- भ्रष्टाचार
सबैमा छाओस् – सदाचार
अख्तियारको निन्द्रा- भंग होस्
भ्रष्टलाई थुन्ने – ढंग होस् ।

बराबर बाँड्ने – भान्छे होस्
नेतालाई छुँदा- मान्छे होस्
गुण्डाले गोली – नताकोस्
डनले टिकट – नथापोस्

सडकमा बालक – नबगुन्
ठेक्दारले निर्माणमा – नठगुन्
डाक्टरले किड्नी – नकाटुन्
उम्मेदवारले जनता – नढाँटुन्

रेमिट्यान्सको रेट – बढ्दो होस्
हुण्डीको रजाईं – घट्दो होस्

भाइवरमा बाउआमा – नटाँसियून्
साइवरमा छोराछोरी – नगाँसियून्

बाँदरले मतपत्र – नच्यातून्
चपाएर ब्यालेट – नफ्याँकुन्
हारे नि जित्ने – दाउ हुन्
रेणुका जस्ता – बाउ हुन्
लोडसेडिङ फर्केर – नआओस्
इन्भर्टरले मौका – नपाओस्
अँध्यारो नेपाल – मूर्दावाद
जनार्दन कुलमान – जिन्दावाद

युनियनको जालो – उध्रियोस्
कर्मचारी चाला – सुध्रियोस्
स्वास्थ्य वीमा – जिन्दाबाद
गिरीराज गगन – धन्यबाद

लालबाबुमा झैं – इमान हुन्
सुशीला जस्ता – श्रीमान हुन्
महको जस्तो – बनोट होस्
धुर्मुसको जस्तो – अठोट होस्

सर्बेन्द्र जस्तो – सिपाही होस्
बाग्मती जस्तो – सफाइ होस्

दिल्लीले निम्तो – नगरोस्
चुनावको मिति – नसरोस्

संविधान पूर्ण – सफल होस्
समृद्धि यात्रा – डबल होस्

विदाइ:

बाढी पहिरो भूकम्प महामारी अनिकाल
युगौंदेखि रोएको रोयै छ नेपाल

खोलानाला बन्दकी कष्टपूर्ण जिन्दगी
कैले देख्न पाइन्छ यो देशको समृद्धि ?

कति सोध्नु एउटै प्रश्न कति खेल्नु भैलो
बन्द गर्द्यौ बिन्ती छ देशमा भाँडभैलो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.