|

चितवन : राप्ती नदीको बाढीले बगर बनाएको नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहाका पव रेष्टुरेष्टहरु पुरानै स्वरुपमा फर्किएको छ। साँझको समयमा सूर्यास्त हेर्दै रमाउन पर्यटकहरु जमघट हुने सौराहाको राप्ती किनार गएको साउन २८ गतेको बाढीले बगर बनाएको थियो।

करिब तीन महिनाको अथक प्रयासमा बगरहरु सुन्दर पर्यटकीय नगरीको पुरानै स्वरुपमा फर्किएको रेष्टुरेष्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) का अध्यक्ष गोकर्ण गिरी बताउँछन्।

अहिले नदी पव रेष्टुरेष्टहरु सबै नयाँ बनेका छन्। राप्तीको ड्यामबाट हेर्दा आकर्षक देखिन्छ, यहाँ तस्बिर र सेल्फीमा रमाउने पर्यटक प्रशस्त छन्। बगर बनेका झण्डै एक दर्जन रेष्टुरेण्टहरुमा करोडौंको लगानी गरिएको रेवान सौराहाले जनाएको छ। साउन २८ गते राति आएको बाढीले समग्र सौराहालाई नै प्रभावित बनाएको थियो। त्यसमध्ये कतिपय होटलहरुले एक सातादेखिनै सेवा शुरु गरेका थिए। तर राप्ती किनार भने बगर बनेकाले पुरानै स्वरुपमा ल्याउन समय लागेको हो।

‘पर्यटकका लागि सबै सेवा शुरु भइसकेको छ, सौराहाबीच रेष्टुरेण्टका सञ्चालक बलराम दाहालले भने, 'रेष्टुरेष्ट पुरानै स्वरुपमा ल्याउन झण्डै ५३ लाख रुपैयाँ खर्चनुपर्‍यो।’ उहाँका अनुसार किनारका पर्यटकीय क्षेत्रको पुननिर्माणका लागि झण्डै ३ करोड रुपैयाँ खर्चनुपरेको छ।

सौराहामा बढी पर्यटकीय चहलपहल हुने राप्ती किनार हो। साँझ यहाँ आएर पर्यटकले किनारको मजा लिने र रमाइलो गर्ने, सूर्यास्तको मजा लिंदै चिसो हावामा रमाउँछन्। मिठा परिकारसहित जमघटमा रमाउनु यहाँको विशेषता हो।

नदी पारी चितवन निकुञ्ज भएकाले बेलाबेलामा जंगली जनावरहरु पानी खान राप्ती आउँदा सहजै देख्न सकिन्छ। गैंडा, चित्तल, गोही दैनिक देखिन्छ। राप्ती किनार सौराहाको गहनाको रुपमा रहेको पर्यटन व्यवसायी जीतु तामाङ उल्लेख गर्छन्।

त्यसैले हरेक होटलमा बस्ने पर्यटकहरुको साँझको रोजाई राप्ती किनार हुन्छ। पर्यटक आउने भएकाले व्यवसायीले पनि किनारलाई सजिसजाउ र झकिझकाउ बनाएर आकर्षक पार्ने गरेका छन्।

बढीले सौराहा विच रेष्टुरेन्ट, राप्ती विच रेष्टुरेन्ट, सन्सेट भ्यू रेष्टुरेन्ट, राप्ती रेष्टुरेन्ट, सेन्ट्रल विच, टपटेन रेष्टुरेन्ट, टिफिन हाउस रेष्टुरेण्ट र रिभर विच रेष्टुरेण्टलाई बगर बनाएको छ। सँगै रहेको होली जंगल पव र टाइगर क्याम्पको भौतिक संरचना केही जोगिए पनि ठूलो क्षति बेहोरेको थियो। अहिले भने सबै उठेका छन्।

रत्ननगर नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका पर्यटन व्यवसायी बलराम दाहाल विभिन्न क्षेत्रका ड्यामहरु नाघेर बाढी आउँदा पर्यटकको मौसममा हेर्दाहेर्दा पवहरु बगर हुँदा करोडौंको घाटा भएको बताउँछन्।

बाढीले होटलहरुमा करिब १५ करोड रुपैयाँको क्षति भएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले बताए। रेष्टुरेण्ट व्यवसायको मात्रै ५ करोड ४१ लाख रुपैयाँको क्षति भएको बताउँछन् क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी। जसमा ४३ वटा रेष्टुरेन्टहरु छन्। यहाँ करिव ६० रेष्टुरेन्ट र ११० होटलहरु सञ्चालनमा छन्।

दैनिक २ हजार ८०० पर्यटक बस्न सक्ने क्षमता सौराहामा छ। हात्ती, सफारी, जिप सफारी, डुंगा सफारी गर्ने, अनि चितवन निकुञ्जका गैंडा, बाघ लगायत वन्यजन्तु अवलोकनका लागि पर्यटकहरु लालायित हुने पर्यटन व्यवसायी शिरलाल परियारको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.