|
प्रतिकात्मक फोटा

कपिलवस्तु:  लाखौँको चिठ्ठा परेको भन्दै भाइबर तथा ह्वाट्सएपबाट ठगी गर्ने १ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३, झण्डिनगरका ३३ वर्षीय सन्तोष कुमार गुप्ता बानिया रहेका छन्।
उनलाई प्रहरीले कृष्णनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडबाट पक्राउ गरेको हो। विभिन्न व्यक्तिलाई फोन गरी तपाईंले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्डबापत ४० लाख रुपैयाँ लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेज गरी उनले प्रलोभनमा पार्ने गरेका थिए । 

लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछिमात्र उक्त रकम तपाईंको खातामा जम्मा हुने बताई आइएमई तथा विभिन्न बैंकमार्फत पैसा पठाउन लगाई उनले ठगी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक केशव ज्ञवालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले कृष्णनगरबाट पक्राउ गरेको हो।
 प्रलोभनमा फसेका व्यक्तिहरुलाई विभिन्न मनी ट्रान्सफरहरु र बैंकमार्फत रकम जम्मा गर्ने र ठगी गर्दै आएको कपिलबस्तु प्रहरीले जनाएको छ।
उनले स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ३, गल्याङ बस्ने बर्ष २३ की प्रेना थापालाई चिठ्ठा परेको छ भन्दै आफ्नो नाममा २५ हजार आइएमई गर्न लगाएका थिए। पैसा पठाउन दबाब दिएपछि थापाले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन्। पक्राउ परेका गुप्ताले जिल्लाका अन्य ब्यक्तिहरुबाट ४ लाख ६८ हजार रकम ठगी गरि सकेको प्रहरीले बताएको छ।
गुप्ता पक्राउ परेको दिन सोही बैंकबाट उनले मोहन बहादुर बस्नेतले सन्तोषको नाममा आइएमई गरि पठाएको एक लाख ४० हजार रकम समेत निकालिएको थियो। गुप्तासँगै अन्य संलग्न ब्यक्तिहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ। उनलाई मुलकी ऐन ठगीको महल बमोजिम जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद लिई आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.