|

धनुषा : सद्भाव र रङको पर्व होली तराई क्षेत्रमा शनिबार मात्र मनाइने भएको छ। उपत्यका र पहाडी क्षेत्रमा बिहीबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा मनाइएको होलीको भोलिपल्ट तराईमा मनाइन्छ। तर यसपालि जनकपुर क्षेत्रमा भने शनिबार मात्र होली मनाइने भएको हाे।

१५ दिन चल्ने मध्यमिथिला परिक्रमा सकिएको भोलिपल्ट मात्र जनकपुरमा होली मनाइने परम्परा छ। त्यही परम्पराअनुसार तराईका अन्य जिल्ला मनाइनेभन्दा एक दिन ढिलो मात्र जनकपुरमा होली मनाउन लागिएको हो। 

मध्यमिथिला परिक्रमाको अन्तिम दिन जनकपुरको परिक्रमा गरेपछि होली सुुरु हुने परम्पराअनुसार बिहीबार मध्यरातबाट मिथिला परिक्रमा सुरु भई शुक्रबार समाप्त हुन्छ। त्यसैले परिक्रमा सकिएको भोलिपल्ट अर्थात शनिबार मात्र  होली मनाइने भएको हो। जनकपुर क्षेत्रमा शनिबार फाल्गुण शुक्ल पूर्णिमाका दिन रङ हालेर, मीठो परिकार खाएर यो पर्व मनाउने गरिन्छ। यसैबीच जनकपुरको मध्यमिथिला परिक्रमालाई मध्यनजर गर्दै धनुषा सुरक्षा समितिले जनकपुर नगर क्षेत्रमा शुक्रबारसम्म मांस, मदिरा बिक्री वितरणमा निषेध गरेको छ। 

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला परिक्रमामा हजारौँ श्रद्धालु भक्तजन जनकपुरधाम आउने भएकाले विशेषगरी उनीहरूलाई मध्यनजर गर्दै हरेक वर्ष मदिरा र मांस निषेध गर्ने गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

होली गीत ‘जोगिरा सरर’ गाउँदै ढोल र मञ्जिराको तालमा मानिसहरू झुमिरहेका देखिन्छन्। युवायुवतीहरू एकआपसमा रङ छ्यापेर प्रेम र सद्भावको रंगीन पर्वको भरपूर मज्जा लिन्छन्।

१३ वर्षदेखि महामूर्ख सम्मेलन

होलीका अवसरमा जनकपुरमा प्रत्येक वर्ष आयोजना हुने ‘महामूर्ख सम्मेलन’ बिहीबार (आज) भइरहेको छ। होलीको अवसर पारेर जानकी मन्दिर प्रांगणमा बुधबार मिथिला नाट्यकला परिषद्ले होरैया गायन प्रतियोगितको आयोजनासमेत गरेको थियो। 

२०६१ सालदेखि जनकपुरमा महामूर्ख सम्मेलन गरिँदै आएको छ। १३ वर्षदेखि हुँदै आएको महामूर्ख सम्मेलनमा २०६१ सालको महामूर्खको उपाधि कवि नरेश ठाकुरले पाएका थिए। यस्तै, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन प्रमुख हरिबहादुर बीसी, २०६४ मा सद्भावनाका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्व मन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७० मा तमलोपाका नेता एवं सांसद डा. विजयकुमार सिंह, २०७१ मा एमाले नेता एवं सांसद शत्रुघन महतो र २०७२ मा स्मसान घाटलाई स्वर्गद्वार बनाएर चर्चा कमाएका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो। गत वर्ष सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो

यस वर्षको महामूर्खको उपाधि पाउनेमा भने नेकपा माओवादीका नेता तथा उद्योग, पर्यटनमन्त्री मातृकाप्रसाद यादव, नेपाली कांग्रेसका नेता प्रदीप गिरि र उद्योगी उपेन्द्र महतोमध्ये एक जनालाई दिइने चर्चा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.