|

रौतहट : चन्द्रनिगाहपुरमा पार्किङको विषयमा विवाद हुँदा बुधबार चन्द्रनिगाहपुर बजार बन्द भएको छ। चन्द्रनिगाहपुरको वीरेन्द्र राजमार्गअन्र्तरगत सडकका पसलअगाडि सवारी साधन पार्किङको विषयमा व्यापारी र सवारी चालकबीच विवाद भएको थियो।

चन्द्रनिगाहपुर–गौर चल्ने म्याजिक सवारी साधनका चालक अजित चौधरी र चन्द्रपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा अधिकारी ग्लास हाउसका सञ्चालक वासु अधिकारीबीच विवाद भएको थियो। विवाद बढेपछि चालक चौधरीले आफुलाई मुखमा ढुंगा प्रहार गरी घाइते बनाएको अधिकारीले बताए। आफनो पसलअगाडि सवारी साधन नराख्न आग्रह गर्न आफूमाथि ढुंगा प्रहार भएको अधिकारीले बताए। चौधरीलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

सोही विवाद मिलाउन जाँदा नेपाल विद्यार्थी संघका नेता श्यामहरी चौलागाईंमाथि पनि आक्रमण भएको छ। आक्रमणमा घाइते चौलागाईंको टाउकोमा चोट लागेकाले चन्द्रनिगाहपुरस्थित जनता अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणको विरोधमा चन्द्रपुर उद्योग वाणिज्य संघले चन्द्रनिगाहपुर बजार बन्द गराएको छ। संघका पूर्वअध्यक्ष अधिकारीमाथि आक्रमण गर्नेलाई कडा कारवाहीको माग गर्दै बजार बन्द गराएको संघका अध्यक्ष सुनिल कुमार साहले बताए।

चन्द्रनिगाहपुर मुख्य चोकमा अव्यवस्थित पार्किङकको कारण दैनिकजसो विवाद हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.