|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदबीच टेलिफोन वार्ता भएको छ। फोन वार्तामा प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा भएको युएस बंगलाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

बंगलादेशकी प्रधानमन्त्री हसिनालाई टेलिफोन सम्पर्क गर्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गरेका हुन्। बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको कुरा बताएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बगजाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संवादका क्रममा प्रधानमन्त्री ओलीले दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको विज्ञप्तिमा लेखिएको छ। ‘त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले शीघ्रातिशीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिनुभयो’, विज्ञप्तिमा भनिएको छ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भए लगत्तै प्रधानमन्त्री ओली घटनास्थल निरीक्षण गर्न पुगेका थिए। बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत जानकारी गराएका थिए।

‘दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी गराउनुभयो। बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त गर्नुभयो’, विज्ञप्तीमा भनिएको छ।

विमान दुर्घटनास्थलको अवलोकनपछि प्रधानमन्त्री ओलीले दुर्घटनामा घाइते भएकाहरूको काठमाडौं मेडिकल कलेज लगायत विभिन्न अस्पतालको स्थलगत अवलोकन गरेका थिए।

दुर्घटनामा ४९ जनाको मृत्यु भइसकेको छ। बाँकी २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.