|

चितवन : पूर्वी चितवनका ईट्टा भट्टामा कामगर्ने मजदुरहरू जागरुक बन्दै गएका छन्। युथ क्लव नारायणगढमार्फत ‘बेटर ब्रिक मापदण्ड’ अनुसारको प्रशिक्षण पाएपछि उनीहरू अधिकारबारे जागरुक हुन थालेका हुन्। 

पहिले मजदुरहरूलाई आफ्ना अधिकारबारे थाहा हुँदैनथ्यो। मालिकले जे भन्यो खुरुखुरु काम गर्ने गर्थे। अहिले भने आफ्ना समस्याहरू र अधिकारका बारेमा उनीहरू खुलेर बोल्न थालेको युथ क्वल नारायणगढको बेटर ब्रिक नेपाल परियोजनाका संयोजक रामचन्द्र आचार्य बताउँछन्।

उक्त परियोजनामार्फत युथ क्लबले मुख्यगरी ईट्टा भट्टामा रहेका मजदुर र तिनका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ। एकातर्फ मजदुरका दुई सयजना बालबालिकालाई प्रारम्भिक बाल शिकाई शिक्षा दिँदै आएको क्लबले मजदुरहरूलाई अधिकार र कर्तव्यको बारेमा समेत प्रशिक्षण दिने गरेको छ। एकजना मजदुर राजकुमार शाही धेरै कुराहरू सिक्न पाएको भन्दै अहिलो बालबालिकाहरू समेत पढ्न पाएकोमा खुसी व्यक्त गर्छन्।

आचार्यका अनुसार वर्षमा उनीहरूलाई तीन पटक प्रशिक्षण दिइन्छ। मुख्यगरी बेटर ब्रिकले पाँच वटा मापदण्डको बारेमा मदजुदहरूलाई प्रशिक्षण दिने गर्दछ। उनीहरूलाई कस्तो अवस्थालाई बालश्रम भनिन्छ र किन प्रयोग गर्नुहुँदैछ, काम गर्ने कार्य घण्टा कति हो? अतिरिक्त कार्य के हो? कार्यस्थलको सुरक्षा, स्वास्थ्य, सरसफाईको अवस्था कस्तो हुनुपर्छ, जवरजस्ती र बाध्यकारी काम कस्तोलाई भनिन्छ र आफ्नो आम्दानी, खर्च व्यावस्थापनका विषयमा प्रशिक्षण हुने गर्दछ। 

यसरी सीप सिकेपछि उनीहरूले ईट्टा मालिकसँग विभिन्न माग राखेर माग पूरा गराउन दवाव दिने गरेका छन्। चितवनको खनाल ईट्टा उद्योगमा शौचालयको समस्या भएपछि मजदुरकै मागमा ४ वटा शौचालय बनेको छ। त्यसैगरी, मनकामना ईट्टा उद्योगमा बालबालिकालाई पढाउने ठाउँ नभएको गुनासो मजदुरहरूले गरेपछि भवन बनाइदिएका छन्। 

विभिन्न ईट्टा भट्टामा दाउराले खाना पकाउन समस्या भएको गुनासो गरेपनि अहिले उनीहरू ग्याँसमा खाना पकाउन थालेका छन्। मजदुरहरूलाई समस्या नपरोस् भनेर उनीहरूको अधिकारको प्रत्याभूति गराउने गरी आफूहरूले काम गरिरहेको डिवी ईटा उद्योग कैलाश दाहाल बताउँछन्। 

सीप सिकेपछि उनीहरू मजदुर समिति र मजदुरकै गुनासो सुनुवाई समितिमा आवद्ध हुन थालेका छन्। यता मालिकहरूलाई पनि वर्षको एकपटक यस्ता विषयमा जानकारी गराएकाले दुबै पक्षले आफ्नो अधिकार र कर्तव्य बोध गर्न थालेको अनुभव छ, परियोजना संयोजक आचार्यको। 

यहाँ सञ्चालमा आएको खनाल, डिवी, गणेश, त्रिशुल र मनकामना ईट्टा उद्योगका करिव एक हजार मजदुरहरू यसरी प्रशिक्षणमा सहभागि हुने गरेका छन्। मुख्यगरी मजदुरहरू ६ महिना ईट्टा भट्टामा काम गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.