|

उदयपुर : सगरमाथाको प्रवेशद्वारको रूपमा रहेको सिद्धिचरण लोकमार्ग एक महिना बन्द हुने भएको छ। लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने ठाँटी भञ्ज्याङमा मर्मत गर्नुपर्ने भएकाले एक महिना यातायात बन्द हुने भएको हो। 

सडक मर्मतको जिम्मा लिएको निर्माण कम्पनीको अनुरोधमा डिभिजन सडक कार्यालयले आगामी जेठ १३ देखि असार १२ गतेसम्म राजमार्ग बन्द गर्ने भएको इलाका प्रशासन कार्यालय कटारीले जनाएको छ।

प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौड्यालले डिभिजन सडक कार्यालय लहानले बाटो बन्द गर्ने कार्यमा सहयोग गरिदिन भनेर पत्राचार गरेको बताए। ‘सडकले जेठ १३ देखि असार १२ गतेसम्म राजमार्ग पूरै बन्द गर्न हुन्छ,’ प्रमुख पौड्यालले भने ‘आंशिक रुपमा हो की पुरै राजमार्ग बन्द गर्ने हो, सडकको पत्रमा स्पष्ट नभएकाले डिभिजन सडकसँग सम्पर्क गरेर राजमार्ग मर्मत हुने छ।’

सडक डिभिजन सडक कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर चित्राञ्जन रानले मर्मत गर्ने स्थानमा डाइभर्सन निकाल्न समेत नकिने भएकाले बाटो बन्द गर्नु अवस्था अाएको बताए। ‘दुवैपट्टीको सडक पहिरोले लगेकोले सडक मर्मतको लागि सडक नै मर्मत गर्नु परेको हो।’ इन्जिनियर रानले भने ‘राजमार्गमा अत्याधिक चाप हुने भएकाले साना गाडी जीप भ्यान चल्न सक्ने गरी डाइभर्सन निकाल्ने तयारी छ।’

कटारी नगरपालिकाको ११ र १४ नम्बर वडाको सिमामा ठाँटी भञ्ज्याङमा सवारी सञ्चालन भएको अवस्थामा आरसीसी रिजिड पेभमेन्ट (सिमेन्ट ढलान) गर्न समस्या पर्ने भएकाले राजमार्ग बन्द गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ।

सडक मर्मत गर्न सिराहास्थित विकास निर्माण सेवाले असार १५ भित्र काम सक्नेगरी जिम्मा लिएको छ। एक महिना बाटो बन्द हुँदा व्यापारीलाई समस्या पर्ने कटारीस्थित उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का बताउछन। ‘वर्षाको सिजन सुरु हुन लागेको छ, अहिले नै सोलु, ओखलढुङ्गा र खोटाङमा खाद्यन्न लगायत उपभोग्य समानहरु ढुवानी गर्नु पर्ने हुन्छ,’ अध्यक्ष खड्काले भने ‘पहाडका पसलहरुमा थप सामान राख्नु पर्ने बेलामा बाटो बन्द हुनु व्यापारीका राम्रो होइन।’

राजमार्ग जसरी पनि मर्मत गर्नु पर्ने भएकाले एक महिना भन्दा कम समयमै मर्मत गर्न अध्यक्ष खड्काले माग गरे। ‘एक महिना बाटो बन्द गर्दा समस्या हुने भएकाले दिन रात काम गरेर १५ दिन भित्र काम गर्न सडक कार्यालयसमक्ष अनुरोध गर्दछु।’

पहाडी जिल्लालाई तराइसँग जोड्ने एक मात्र सडक भए पनि यसको समयमै मर्मत र निर्माणमा सडक विभागले ध्यान नदिँदा सवारी साधन सञ्चालन तथा दैनिक उपभोग्य वस्तु दुवानीमा समस्या उत्पन्न हुने भएको छ।

मुलुकका विभिन्न भाग, भुटान र भारतबाट खोटाङको हलेसी महादेव दर्शन गर्न आउने तीर्थयात्रुहरुलाई समेत असर पर्ने छ। विशेषगरी सडकमार्ग हुँदै भारत र भुटानबाट आउने तीर्थयात्री कटारी घुर्मी हुँदै हलेसी जाने गर्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.