|

विराटनगर : उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागोले मौखिक रूपमा खोला खन्ने जिम्मा ठेकेदारलाई दिँदा प्राकृतिक स्रोतको व्यापक दोहन भएको पाइएको छ। स्थानीयस्तरमा गठित जनस्तरको छानविन समितिले लामो समयसम्म स्थलगत रिपोर्टिङ गरी उर्लाबारीमा बुधबार एक कार्यक्रम आयोजना गरी यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो।

उर्लावारी नगरपालिका–१ मा पर्ने मिक्लु र ४ मा पर्ने सोल्टी खोलामा ‘च्यानल’ खन्न गरिएको निर्णय उल्ट्याउँदै खोलाको अवैध दोहन गरिएको समितिको प्रतिवेदनमा उल्लेख छ। खोलाले पुर्‍याउने क्षतिबाट बस्तीलाई जोगाउन तटबन्ध (च्यानल) खन्न गरिएको निर्णयविपरीत खोला उत्खनन् गरी ढुंगा, गिटी र बालुवा बिक्री गरिएको थियो।

उर्लावारी नगरपालिकाको चैत २८ गतेको कार्यपालिकाले बैठकले ४५ लाख रुपैयाँ बजेट बिनियोजन गरी खोलामा च्यानल खनेर डुबान हुने बस्ती बचाउने निर्णय गरेको थियो। तर, निर्णय विपरित खोला उत्खनन् गरी ढुंगा, गिटी र बालुवा बिक्री गरिएपछि स्थानीयवासी आक्रोशित छन्।

नगरपालिका प्रमुख फागोले कार्यपालिकाले गरेको निर्णयविपरीत खोला उत्खनन् गर्नका लागि भूमि कन्ट्रन्सनलाई दिएपछि उप–प्रमुख लक्ष्मी भण्डारीसहित वडा अध्यक्षहरूले त्यसको विरोध गर्दै आएका छन्। नगर कार्यपालिकाको बैठकले खोलाको बीच भागमा गहिरो बनाएर दुबै किनारा उठाउने कार्यका लागि ४५ लाख रुपैयाँ रकम बिनियोजन गरेको थियो। तर, खोलामा भएको ढुंगा, गिटी र बालुवा दुई किनारामा नथुपारी बिक्री गरेको पाइएको छ।

वातावरणीय प्रभाव मूल्याकंनसमेत नगरिएको मिक्लु र सोल्टी खोलालाई गहिर्‍याएर दुबै किरानालाई उठाउने निर्णय भएकोमा तीन किलोमिटरमध्ये ढेड किलोमिटर दुरीमा बालुवा, ढुंगा र गिट्टी भएको स्थान मात्रै खनिएको छ। उर्लावारीका गंगाप्रसाद बाँस्तोलाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले नगरका प्रमुख फागोले एकलौटी रूपमा मनोमानी ढंगले खोला खन्ने जिम्मा दिएको निष्कर्ष निकाल्दै उर्लावारीमा प्रतिवेदन सार्वजानिक गरेको हो।

नगरपालिकाकै बजेटबाट एक हजार ४६० मिटर दूरीमा २९ हजार ६७५ घनमिटरबाट ३ हजार ५६३ ट्रिपर ढुंगा, गिटी र बालुवा निकालेर बिक्री गरेको स्थानीय स्तरमा गठित जनस्तरको छानविन तथा दवाव समितिको प्रतिवेदनमा उल्लेख छ। कार्यपालिकाको निर्णय विपरित प्रमुख फागोले एकलौटी रूपमा खोला उल्खनन् गरेको भन्दै उप–प्रमुख लक्ष्मी भण्डारीले छानविनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मोरङलाई समेत आग्रह गरेकी थिइन्।

जिल्ला प्रशासन कार्यालय मोरङले इलाका प्रशासन कार्यालय उर्लावारीका तत्कालिन प्रमुख रामभक्त कुरुवाङ्गको संयोजकत्वमा समिति गठन गरेको थियो। तर, उक्त समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन।

बाँध वा च्यानलको नाममा अवैध उत्खनन् भएको उक्त खोला खन्नका लागि स्थानीय प्रशासनले रोक लगाएपनि खनेर बिक्री भइसकेको खोलाजन्य वस्तुको अध्ययन गरी दोषिमाथि कार्वाही र बिगो भराउन स्थानीयले माग गर्दै आएका छन्। उर्लावारी–१ का गणेश कटुवालले नगरपालिकाभित्रकै खोला खनेर नगर क्षेत्रभित्रकै वासिन्दालाई कर लिँदै बिक्री गरिएकोप्रति आपत्ती जनाउनुभयो।

खोलाबाट निकालेर बिक्री गरिने गरिएको उक्त खोलाजन्य वस्तुमा ६७३ रुपैयाँ प्रतिट्रिपर करसमेत असुल गरिएको छ। ठेकेदार कम्पनीका भीमप्रसाद पौडेल र नगरका प्रमुख फागोबीच भएको समझदारीका आधारमा खोलाबाट अवैध उत्खनन् भएको हो।

खोलामा च्यानल खन्नकै लागि पनि बोलपत्र आह्वान गर्नुपर्ने र सार्वजानिक सूचनाका आधारमा न्यूनदरमा काम गर्ने ठेकेदारलाई दिनुपर्ने मान्यतासमेत प्रमुखले तोडेको उप–प्रुमख भण्डारीको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.