|
लालपुर्जा वितरण गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई।

गोरखा : २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त जिल्लाको धार्चे २ केरौँजाका भूकम्पपीडितलाई लालपुर्जा वितरण गरिएको छ। आफ्नो जग्गामा बस्न नमिल्ने भएपछि त्यहाँका ४० घर परिवारलाई  स्थानान्तरणका लागि सार्वजनिक ठाउँको लालपुर्जा वितरण गरिएको गाउँपालिका प्रमुख सन्तबहादुर गुरुङले जानकारी दिए। केरौँजा गाउँ भूकम्पलगत्तै आएको गाउँमाथि र तलको पहिरोको समेत उच्च जोखिममा रहेको गाउँ हो। 

‘अहिले ४० घरधुरीलाई लालपुर्जा वितरण गरियो’ गाउँपालिका प्रमुख गुरुङले भने, ‘तीन वर्षयता यहाँका जनता घर बनाउने ठाउँ नहुँदा अस्थायी टहरोमा बस्तै आएका छन्। केहीले आफन्तको जग्गा भाडामा लिएर पनि बस्दै आएका छन्। तीनसय ५० घरधुरी भूकम्पपछि गएको पहिरोको उच्च जोखिममा भए पनि अहिले ४० धुरीलाई लालपुर्जा वितरण गरिएको हो।’  जिल्लाको विकट क्षेत्रमार उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको नागरिकता वितरणका लागि आयोजना गरेको घुम्ती शिविरको अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लालपुर्जा वितरण गरे। 

गाउँपालिका प्रमुख गुरुङले बाँकी अरू भूकम्प पीडितलाई पनि तत्कालै लालपुर्जा वितरण गरिने बताएका छन्। भूगर्भविद्, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुखलगायत कार्यकारी सदस्यहरूले स्थलगत अध्ययन गरेपछि विस्थापितहरुलाई केरौँजाकै विभिन्न क्षेत्रमा सार्न मिल्ने जनाएका थिए। डोङ्गानमा एक सय ४०, लामावेशीमा एकसय र बाङलामा ५२ घर धुरीलाई स्थानान्तरण गर्न लागिएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.