|

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ कुरुम्बाकी एक महिला विस्थापित भएकी छिन्। स्थानीय चिसापानी पञ्चमी बजारमा कोठा भाडामा लिएर बस्दै आएकी ५५ वर्षीया कृष्णमाया लावती बजारका केही व्यक्तिले ज्यान लिने धम्की दिएपछि विस्थापित भएकी हुन्।

बैशाख २८ गते कोठा छोडेर न्याय माग्दै सदरमुकाम फिदिम आएको भएता पनि उनले न्याय पाउन नसकिएको गुनासो गरिन्। जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको करिव एक महिना हुँदा पनि पीडकलाई प्रहरीले पक्राउ नगरेको बताइन्।

पीडित कृष्णमायाका अनुसार उनीमाथि गत बैशाख ११ गते स्थानीय दुर्गा योङहाङले चिसापानी पञ्चमी बजारमा रहेको युनियन चर्चको छतमा कुटपिट गरेको थिए। इलाका प्रहरी कार्यालय रविमा पीडक र पीडितबीच उपचार खर्च पीडकले बेहोर्ने गरी मिलापत्र भएको थियो। आगामी दिनमा कुटपिट र झै–झगडा नगर्ने सहमति जनाएका योङहाङलगायतले बजार छाड्न धम्की दिने गरेको उनले बताइन्।

उनले सोही ठाउँका चट्याङ लावती, सुजा लावती, सीता लावती, पर्त योङहाङ र दुर्गा योङहाङविरुद्ध उजुरी दिएकी छिन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख(डिएसपी)बामदेव गौतमले इलाका प्रहरी कार्यालय रविलाई पीडक पक्षलाई झिकाएर छलफल गरी पीडितलाई पुर्नस्थापित गराउन निर्देशन दिएको बताए। तर पीडित कृष्णमायाले भने गाउँ फर्किन आफूले असुरक्षित महसुस गरेको बताएकी छिन्। उनी अविवाहित महिला हुन्।

पीडक पक्ष भनिएकाले इलाका प्रहरी कार्यालय रविमा छलफल गर्न चाहेकोले सदरमुकाम फिदिमदेखि पीडितलाई उतै पठाउन भनेको डिएसपी गौतमले बताए। उनले पीडितले असुरक्षित महसुस गरेको भए आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सकिने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.