|

कपिलवस्तु : भारतीय पक्षले एकपक्षीय रूपमा बनाएको बाँधका कारण कपिलवस्तुका दक्षिणी भेगका करिव एक हजार हेक्टर धान रोपिएको खेत डुबानमा परेको छ। भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फि रूपमा बनाएको चारवटा बाँधहरूको फाटक बन्द गर्दा सो धान बाली डुबानमा परेको हो।

जिल्लाको यशोधरा गाउँपालिका-५ मा पर्ने भगवानपुर, लोहरौली, मुडिला, कचरिहवा साथै सोही गाउँपालिका-७ स्थित रंगपुर र भैसहिया गाउँ, मायादेवी गाउँपालिका-८ स्थित बरकुल, बिजुवा, जमुनी, र हरिवंशापुर गाउँका एक हजारभन्दा बढी हेक्टर धान रोपेको खेत डुबानमा परेका छन्।

यस्तै कपिलवस्तुमा भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको कारण वर्षेनी खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ। फाटक नखोलेपछि दक्षिणी भेगका साविकका एक दर्जन गाविसको धानवाली लगाइएको भूभाग डुवानमा परेको हो। महलीसागरमा भारतले आफ्नो भूमि सिँचाइका लागि उक्त बाँध निर्माण गरेको भए पनि यस वर्ष भारतीय पक्षले १७ वटा फाटक बन्द गरी चार फिट अग्लो पटरी लगाएर पानी थुनेको छ। यही पानीले सीमापारी लोभलाग्दो तबरले धान रोपाइ भइरहेको छ भने नेपाली भूभाग डुबानमा पर्दै आएको छ। भारतले आफ्नो क्षेत्रस्थित १२० हेक्टरमा यहीं बाँधबाट सिँचाइ गर्दै आएको छ। तर नेपालतर्फका जमिनमा साढे तीन फिटदेखि चार फिटसम्म पानी जम्मा भएको छ। 

विगत २५ वर्षदेखि यस्तै समस्या झेल्दै आएका भगवानपुरवासीहरूले हरेक वर्ष यस्तै समस्या झेल्दै आएका छन्। नेपालतर्फका किसानले भने खेती गरे पनि फसल भित्र्याउन नपाउँदा गर्जो टार्न धौ–धौ पर्ने गरेको छ। प्रत्येक वर्ष धान र गहुँ बाली डुबानमा पर्ने गरेको छ। स्थानीय राधेश्याम पाठकले भारतले सीमानाकामा बनाएको बाँधका कारण खेतीयोग्य जमिन डुवानमा पर्ने गरेको गुनासो गरे। उनका अनुसार अहिलेसम्म क्षतिपूर्तिबापत एक रुपैयाँ पनि पीडितले पाएका छैनन्। उनीहरूले अहिलेसम्म पूरा उब्जनी स्याहार्न पाएका छैनन्।

खेतीपाती स्याहार्नै पाइँदैन

स्थानीय लोहरौला, भगवानपुर, रंगपुर गाउँका कृषकहरूले धान रोपिसकेका छन्। तर भारतीय पक्षले बनाएको बांधका कारण अहिले हजार बढी हेक्टर डुवानमा परेपछि धान खेती नष्ट भएको छ। एकपटक धान रोपेपछि अब रोप्न धानको बिउको समेत अभाव भएको छ। सिंगो गाउँवासीहरू यस वर्ष धानखेती राम्रो नहुने भन्दै चिन्तित भएका छन्।

पाँच/छ घण्टा लगातार पानी पर्ना साथ बाँधकै कारण पूरै खेत/गाउँ डुब्ने गरेको छ। ‘जे खेती गर्‍यो, त्यही डुब्ने गर्छ,’ पीडित कृषक इन्द्रजीत यादवले भने, ‘ऋण गरेर खेती गर्‍यो, ब्याज तिर्ने आम्दानी पनि हुँदैन।’ मनले नमान्ने भएकाले मात्र खेतपाती गर्दै आएको उनले सुनाए। ‘कुनै वर्ष उब्जनी स्याहार्न खेतमा जादैनौं,’ उनले भने, ‘पानीले सबै बाली कुहिन्छ।’

राहत र क्षतिपूर्तिको खोइ?

डुबानपीडितलाई सरकारले कहिल्यै राहत उपलब्ध नगराएको कृषकहरूको गुनासो छ। ‘क्षति हेर्न आउँदैनन्,’ स्थानीय धनराज यादवले भने, ‘राहत र क्षतिपूर्ति त परै जाओस्। सरकार प्रमुख भारत भ्रमणमा जाँदा पीडितले ध्यानाकर्षण गराउँदै आए पनि भारतीय पक्षबाट कुनै सुनुवाइ भएको छैन्। बाँधसँगै आवतजावत गर्न भनेर पूर्वपश्चिम अग्लो बाटो बनाइएको छ जसले बाँधकै काम गरेको छ।'

संघीय तथा प्रदेश सरकारको चासो

जिल्लाको दक्षिणी क्षेत्रमा भारतीय बाँधका कारण धान रोपिएको खेत डुबानमा परेपछि संघीय तथा प्रदेश सरकारले विशेष चासो देखाएको छ। यसपटक भारतीय पक्षले रातारात १७ वटा फाटकमा पटरी लगाएर बाँधको पानी अवरोध गरेपछि शनिबार कपिलवस्तुका क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ता र प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले स्थलगत अनुगमन गरेका छन्।

अनुगमनपश्चात् संघीय सांसद गुप्ताले भारतीय पक्षले स्थायी रूपमा बाँध बाँदेर नेपाली जनतालाई दुःख दिने कुचेष्टा गरेको बताए। आपसी सम्झौताविपरीत गई गरिएको यो कार्य नेपाल र नेपालीको लागि निन्दनीय रहेको उनको टिप्पणी छ। उनले भने, 'नेपाल र भारत सरकारका सम्बन्धित पक्षहरूले आपसी सहमतीमा यो समस्याको समाधान गर्नुपर्छ।' प्रदेश सरकारको तर्फबाट समेत पीडितकृषकको क्षतिपूर्तिका लागि उपयुक्त कदम अगाडि बढाउने प्रदेशसभा सदस्य श्रीवास्तवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.