|

झापा : प्रहरी संगठन भित्रको चौतर्फी दबाबमा भन्सार छली गरी भित्र्याइएको अवैध कपडासहित नियन्त्रणमा लिएको मिनी ट्रक सशस्त्र प्रहरीले छाडिदिएको खुलासा भएको छ। छाडिदिएको सो मिनी ट्रक नेपाल प्रहरी संगठन भित्रकै कर्मचारीको भएको समेत खुलेको छ। 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका वरिष्ठ हवल्दार सत्यन राजवंशीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मेची सहायक राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिकास्थित पुल चोकबाट शुक्रबार दिउँसो साढे ३ बजे मे १ ख २४९८ नम्बरको सेतो रंगको मिनी ट्रकसहित चार पोका कपडा नियन्त्रणमा लिएको थियो। ट्रकमा चालकसहित चारजना कामदार पनि रहेका थिए।

सशस्त्र प्रहरीले सामानको भन्सार कागजात र बिल देखाउन भनेपछि चालकले देखाउन नसक्दा सामान र ट्रक नियन्त्रणमा लिएको जनाइएको छ। सो सामान इलामको पशुपतिनगरबाट झापाको बिर्तामोड बजारतर्फ आइरहेको थियो। ट्रकमा बरामद गरिएको सामानमा विभिन्न प्रकारका महँगा लत्ताकपडा भएको पोकाहरू थिए।

त्यसभित्र पर्दाको कपडा, साडी, कुर्ता सरुवाल, तयारी पोशाकलगायत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रेशमकुमार थाक्सुले जानकारी दिए। तीन लाख ६२ हजार मूल्य बराबरको सामान सीमा सुरक्षा कार्यालयमा रहेको छ भने ट्रक राति नै छुटिसकेको व्यापारी स्रोतको दाबी छ।

६ घण्टापछि ट्रक छुट्यो

इलामको पशुपतिनगरबाट चोरी तस्करीको माध्यमबाट भित्र्याइएको चार पोका कपडासहितको मिनी ट्रक सशस्त्र प्रहरीले नियन्त्रण लिएको थिए। नियन्त्रणमा लिएको ट्रक र सामान सशस्त्र प्रहरीले ५ बजे सीमा सुरक्षा कार्यालय लिएर आएका थिए। सशस्त्र प्रहरीले सामान र ट्रक नियन्त्रण लिएलगतै चलखेल सुरु भयो।

नियन्त्रणमा लिएको ट्रक नेपाल प्रहरीका हवल्दार खम्बुसिंह बानियाँ र सामान पशुपतिनगरका व्यापारी चन्दन सिंघलको रहेको खुलेको छ। ट्रकधनी प्रहरी हवल्दार बानियाँ केही समय अघि पशुपतिनगरमा घुमुवा प्रहरीको रूपमा काम गरिसकेका छन्। हाल बानियाँको अन्यत्र सरुवा भइसकेको छ।

सामानधनी सिघंल चाइनिच सामग्री र भारतीय कपडाको कारोबारी गर्दै आएको व्यापारी हुन्। प्रहरी र व्यापारीको मिलोमतोमा तस्करी भइरहेको सामानसहित नियन्त्रणमा लिएको ट्रक सशस्त्र प्रहरीले छाडिदिएपछि सर्वत्र चर्चाको विषय बनेको छ। प्रहरी कर्मचारीको ट्रक भएकाले सशस्त्र प्रहरी छाडिदिएको व्यापारी समूहले आरोपसमेत लगाउन थालेका छन्।

सीमा सुरक्षा कार्यालय झापामा ट्रक पुगेपछि एक व्यापारी ट्रक छुटाउन सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाक्सुलाई भेटन कार्यालय नै पुगेका थिए। व्यापारी पुग्नुअघि नै सशस्त्र प्रहरी उपरीक्षक थाक्सुलाई राजनीतिक र प्रहरी संगठन भित्रैबाट ट्रक छाडिदिन भन्दै चौतर्फी दबाब आएको प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक थाक्सुले दवावलाई झेल्न नसकेपछि शुक्रबार राति ९ बजे नै ट्रक छाडिदिए। भन्सार बुझाउनुपर्ने ट्रक छाडिदिएको विषयमा थाहाकर्मीले राखेको जिज्ञासामा सशस्त्र प्रहरी उपरीक्षक थाक्सुले ट्रक कसैको दबाब नभई व्यवाहारिता हेरेर छाडिदिएको दाबी गरे।’ भाडामा ट्रक लिएको बुझिएकोले भन्सार पुगेर पनि छुटने रहेछ’, उनले भने, ‘त्यसैले ट्रकधनीको व्यवहारिकता हेर्नु पर्‍यो।’ ट्रक छाडनुमा कुनै आर्थिक मिलोमतो नरहेको उनको दाबी छ।

सशस्त्र प्रहरी यसअघि पनि इलामबाट झापा आउँदै गरेको सामानसहितको ट्रक नियन्त्रणमा लिएको प्रशस्त उदाहरण छन्। सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर राउवको समयमा १७ लाख भारतीय रुपैयाँसहित नियन्त्रणा लिएको मिनी ट्रक सशस्त्र प्रहरी भन्सार बुझाएको थियो। अहिले ट्रक छाडिनुमा सशस्त्र प्रहरीलाई चौतर्फी दबाबसहित मिलोमतो गरेको आशंकाले बजारमा चर्चा पाएको छ।

पशुपतिनगबाट भन्सार छली भित्र्याइएको सामान झापातिर 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो समयमा झापाका सीमातर्वी नाकाबाट हुने चोरी तस्करी नियन्त्रण अभियानमा तीव्रता दिएको छ। झापाका सीमावर्ती नाकामा प्रहरीले कडाई गरेपछि व्यापारीले इलामको पशुपतिनगर नाकालाई तस्करी पोइन्टको रूपमा रोजेका हुन्।

तर, त्यहाँबाट भित्र्याइएको सामान कानुनी रूपमा मान्यता हुँदैन। पशुपतिनगर भन्सार कार्यालयमा २० हजार रुपैयाँसम्मको सामानको प्रज्ञापनपत्र काटिँदैन। किनभने पशुपतीनगर जोडिएको भारतको बंगाल नाकामा भन्सार कार्यालय नभएकोले त्यहाँबाट एसएसबीले छाडिदिएको सामानअनुसार सामान नेपाल भित्रिन्छ।

एसएसबीले छाडिदिएअनुसार नै पशुपतिनगर भन्सारले सामानको प्रज्ञापनपत्र काटने गरेको मेची भन्सारका अधिकृत गणपति कडँलले बताए। उनले भने, ‘भारततर्फ भन्सार नहुँदा राजश्व संकलनमा समस्या भइरहेको छ। त्यहाँ ठूलो परिणामको सामान काटिँदैन। ठूलो परिणामको सामान मेची भन्सारतर्फबाटै नेपाल भित्रिन्छ।' 

पशुपतिनगरबाट पारिवारिक प्रयोजन बाहेकका ठूलो परिणामको सामानको पनि आउँदैन उनले बताए। त्यसैले पशुपतिनगरबाट ठूलो परिणाममा भित्रिने सरसामान भन्सार छलेर नै भित्रिन्छ। र त्यहाँबाट भन्सार छली भित्र्याइएको सामान झापा र इलामका बजारमा पठाइन्छ। त्यहाँका व्यापारीले स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हातमा लिएर तस्करीलाई प्रोत्साहन दिइरहेको यस अघिका विभिन्न घटनाले पुस्ट्याई भइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.