|

रामेछाप : जनप्रतिनिधिले प्रतिबद्धता अनुसारको काम नगरेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको स्थानीयले गुनासो गरेका छन्।

निर्वाचनको बेला हालका गाउँपालिका अध्यक्षले आफू निर्वाचित भएको तीन महिनामै गाउँपालिकाभित्र बाँकी रहेको वडाहरूमा बत्ती बाल्ने प्रतिबद्धता जनाएको तर डेढ वर्षसम्म प्रक्रियासमेत सुरु नभएको स्थानीय रोज लामाले बताए। बत्तीको मिटर र मिटर बक्स खरिद गर्न भनी गाउँपालिकाले एक वर्ष पहिले दुर्इ हजार ४०० घरबाट प्रतिघर एक हजार ८५५ रुपैयाँको दरले संकलन गरेको रकमसमेत कहाँ छ भन्ने पत्तो नभएको उनको भनाइ छ।  

गाउँपालिकाले सरकारी सवारी साधनको समेत दुरुपयोग गरेको अर्का स्थानीय राजन खड्काको आरोप छ। विकास निर्माणको काममा समेत गाउँपालिकाले पक्षपात गरेको स्थानीयले आरोप लगाएका छन्।

गाउँपालिकाले भने स्थानीय युवाले विकास निर्माणको काममा गाउँपालिकालाई सहयोग नगरेको गुनासो गरेको छ। स्थानीय युवाको असहयोगको कारण विकास निर्माणको कामले गति लिन नसकेको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताए।  विद्युतको मिटर र मिटर बक्स किन्न भनी स्थानीयसँग लिएको रकम सम्बन्धित वडाहरूमा रहेको उनले दाबी गरे।

निर्वाचनको बेला भोट माग्ने क्रममा आफूले जनतासँग गरेको प्रतिबद्धता आफ्नो कार्यकालमा ९५ प्रतिशत पूरा गर्ने गाउँपालिका अध्यक्ष खड्काको भनाई छ। उनले आफ्नो कार्यकालभरी आउँने आफ्नो तलबबापतको रकम गाउँपालिका भित्रका गरिव दुःखीलाई समान रूपमा वितरण गर्ने समेत घोषणा गरेका छन्।

निर्वाचन बेला भोट माग्ने क्रममा आफूले जनतासँग गरेको वाचाअनुसार आफ्नो सम्पूर्ण तलव गरिब/दुःखी जनतालाई बाड्ने अध्यक्ष खड्काको उद्घोष छ। गाउँपालिकाले नागदहको धोबीमा आयोजना गरेको सर्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.