|

इलाम : इलामको माई नगरपालिकामा भएको अनियमिततामा मुछिएका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाल निलम्बनमा परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरमा भएको आर्थिक अनियमितता अनुसन्धानका लागि उनलाई निलम्बन गरी हिरासतमा लिएको छ। यसअघि नगरका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। नगरको आन्तरिक लेखा परीक्षण(आलेप)का क्रममा  लेखा अधिकृत ढकालले सञ्चित कोषमा जम्मा हुने रकम 'इण्डोर्स' गरी आफ्नो नामको बैंक खातामा जम्मा गरेको पाइएपछि अख्तियारले नगरको श्रेस्ता लिएर अनुसन्धान अगाडि बढाएको हो। प्रमुख प्रशासकीय अधिकृत ढकालका स्थानमा उपसविच  माधव ढकाल सरुवा भएका छन्। 

कोष तथा लेखा नियन्त्रकको कार्यालय(कोलेनिका)का कर्मचारीले आलेप गर्ने क्रममा तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालले अनियमितता गरेको पाएका थिए। ढकाल उदयपुरको कटारी नगरपालिकामा सरुवा भइ हाजिर भएको एक महिना पनि बित्न नपाउँदै तीन करोड ९७ लाख ५० हजार रुपैयाँ हिनामिनाको आरोपमा ढकाल पक्राउ लगत्तै आलेपकै क्रममा रहेको नगरको आर्थिक श्रेस्ता अख्तियारले लगेको थियो।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार तत्कालीन लेखा अधिकृत ढकालले माई नगरपालिकामा आर्थिक वर्ष २०७४\७५ मा  निकासा भएको सञ्चित कोषको रकम एक करोड ४८ लाख ६३ हजार दुई भिन्नाभिन्नै मितिमा इण्डोर्स गरी आफ्नो नाममा रहेको व्यक्तिगत बै‌ंक खातामा  सारेका थिए । 

पहिलो चौमासिकमा निकासा भएको रकमबाट  २०७४ भदौ १ गते ४९ लाख ८७ हजार पाँचसय र दोस्रो चौमासिकमा निकासा भएको रकम २०७४ मंसिर २७ गते ९८ लाख ७६ हजार रुपैयाँ ढकालले आफ्नो बैंक खातामा सारेका थिए। कोलेनिकाका अनुसार वित्तीय समानीकरण र शसर्त अनुदान अन्तर्गत सञ्चित कोषमा जम्मा भएको रकम कोषबाट चालु र पूँजीगत खातामा रकमान्तर गर्दा झुक्याएर उनले चालु र पूँजीगतसँगै एक अर्को चेकबाट आफ्नो व्यक्तिगत बैक खातामा जम्मा गरेको पाइएको छ।

यस क्रममा लेखा अधिकृत ढकालले सामाजिक सुरक्षा तर्फको रकम वितरण गर्न भनी बैंक र प्रमुख प्रशासकीय अधिकृतलाई समेत झुक्याएको बताइएको छ। अनुसन्धानका क्रममा अख्तियारले नेपाल बैक इलामका तत्कालिन प्रबन्धक मोहन निरौलाको समेत बयान लिइएको छ। 

तत्कालीन लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत ढकालको पालामा एक सेवा निवृत्त र एक सरुवा भएका कर्मचारीको तलब समेत गायब पारिएको थियो। अवकाशप्राप्त खरिदार यामबहादुर बस्नेतको तलव भत्ता र सरुवा भएर अन्यत्र गएकी कर्मचारी  कमला कार्कीको चार लाख १५ हजार रकम समेत गायब पारिएको हो।

यस्तै विद्यालयको लागि निकासा भएको रकममा पनि करार शिक्षक भुक्तानीका नाममा अनियमितता भएको बताइएको छ। शिक्षामा भएको ८९ लाख ७६ हजार चार सय २५ रुपैया निकासा भएको तर यसको सवै निकासा भएका देखिएको छैन्। तत्कालीन लेखा अधिकृत ढकाल सरुवा भएर गएको कटारी नगरपालिकामा समेत तीन करोड ९७ लाख ५० हजार रुपैयाँ रकममा अनियमितता पाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.