|

  • वसन्त लिम्बू-

ताप्लेजुङ : लिम्बू जातिको परम्परागत खाना हो कोदोको जाँड हालेर तयार पारेको तोङ्बा, याङ्वेन, किनेमा, चाम्रे, फाँदो अचार, सिगोले, फापरको रोटी। त्यस मध्येको पनि मौलिक लिम्बू खाना झ्याउ (याङ्बेन) प्रति लिम्बू तथा गैर लिम्बूहरू पनि अचेल झुम्मिन थालेका छन्। यसको स्वादमा रमाउन चाहनेहरूको संख्या समेत बढ्दै जाँदा याङ्वेनको माग समेत उच्च हुन थालेको छ।

यसकाे माग स्थानीयदेखि अन्तर्राष्ट्रिय वजारमा समेत उच्च छ। याङ्वेनलाई नेपाली भाषामा झ्याउ भनिन्छ। उच्च लेकाली क्षेत्रको वनस्पतिहरू उत्तीस, गुराँस, कटुसको रूखमा पलाउने एक प्रकारको परजीवि वनस्पतिलाई हजारौं वर्षदेखि पूर्वका लिम्बू समुदायले खानाको रूपमा प्रयोग गर्दै आएका छन्। ‘लिम्बू समुदायले परम्परागत रूपमा उहिल्यैदेखि याङ्वेनलाई खाद्य पदार्थको रूपमा प्रयोग गर्दै आएको छ,’ स्थानीय मानध्वज लिम्बू भन्छन्, ‘यस्तो खाना तयार पार्नका लागि सबैभन्दा पहिले त लेकका रूखमा पलाएको झ्याउ चिन्नुपर्छ।’ यसपछि टिपेर बटुल्नुपर्छ। खरानी पानीमा निकै बेर उमाल्नुपर्छ। फेरि सुकाएर खान योग्य भएपछि सुंगुर, कुखुरा, खसी, राँगाको मासुसँग पकाउनुपर्छ। ‘निकै मिठो पो हुन्छ’ उनले भने। 

संस्कृति र मुन्धुमका जानकार ज्ञानु फुरुम्वोका अनुसार कृषि युग सुरू हुनु अगाडि मानिसले अन्न बालीका बीउ-बिजन रोप्ने, छर्ने, खाद्यान्न उत्पादन गर्ने चलन बसेको थिएन। त्यति बेला सिकार गरेको जीवजन्तुको मासु र रगतसँग रूखमा पलाएको झ्याउ पकाएर भोक मेटी शरीरमा शक्ति सञ्चय गर्ने चलन भएकाे उनको दाबी छ। ‘त्यही परम्पराको निरन्तरता हो याङ्वेन,’ उनले भने, ‘अहिले त लिम्बू समुदायसँगै गैर लिम्बूले पनि याङवेन र सेरगेङ निकै मन पराएका छन्।’ उनकाअनुसार यस्को प्रयोगले औषधिको काम समेत गर्ने लिम्बू समुदायको विश्वास छ। 

अन्य खाद्य पदार्थ जस्तो खेतबारीमा मानिसले बीउ रोपेर उत्पादन गर्ने नभएकाले लिम्बू समुदायले मात्र प्रयोगमा ल्याएको याङ्वेनको महत्व बेग्लै रहेको स्थानीय संगीता मादेनको भनाई छ। यता केही वर्ष अघिसम्म पूर्वी नेपालका उच्च पहाडी क्षेत्रमा याङ्वेन प्रशस्तै पाइन्थ्याे रे। अहिले ती सबै सामुदायिक वन भएकाले र याङ्वेनको महत्व बढ्नुका साथै व्यापार व्यवसाय पनि बढेकाले अभाव हुन थालेको छ। 

अहिले आएर याङ्वेनको माग ठूलाठूला सहर तथा विदेश सम्मबाट पनि आउने गरेको छ। स्थानीय कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार नेपालका देशकै ठूला शहरहरू धरान, इटहरी, काठमाडाैं, पोखराबाट पनि ठूलो मात्रमा माग छ। यस्तै लिम्बू समुदायको वाहुल्यता रहेका हङकङ, युके, सिंगापुर लगायतका वाहिरी मुलुकबाट समेत यसकाे माग उच्च छ। 'अहिले १ केजी याङवेनको ४ हजारदेखि ५ हजारसम्म पर्ने गरेको छ। माग पनि विदेशबाट धेरै आएको छ। तर मागअनुसार पठाउन सकिएको छैन' कोशेली घर सञ्चालक गुरुङ भन्छन्, 'खै जंगलमा पनि पाउन छाड्यो भन्छन्। मागै धान्न गाह्रो भो। याङ्वेन संकलक धनविक्रम इवाराम लिम्बूकाअनुसार अहिले झ्याउ धेरै बिक्री हुने भएपछि जंगलमा नै सकिन थालेको छ। 

लिम्बू परम्पराअनुसार याङ्वेनसँगै घ्यूमा चामल पकाएर बनाए चाम्रे, भटमास भुटेर ओखतीमा नुन,अकबरे खुर्सानी र अन्य मसला लगाएर पिठो बनाएपछि तयार हुने फाँदो अचार, किनेमा, गुन्द्रुकका विभिन्न परिकार, सँगुरको आन्द्राको याङ्वेन,रक्ती, चामल र अन्य मारमसला लगाएर पकाएको सेरगेङ लिम्बू परम्परागत खानाहरू हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.