अर्थमन्त्री भन्छन्, राज्यले खुट्टे पनि लगाउन सक्नु पर्छ

|

काठमाडौं : वित्तीय संघीयता कार्यान्वयनमा आएसँगै करको विषयमा बहस बढेको छ। कतिपय स्थानीय तहले बढाएको करलाई हेरेर संघीयतामाथि नै प्रश्‍न उठाउन पनि शुरु भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडा करको दायरा वृद्धि गरिएको विषयमा कुनै पनि किसिमको समस्या नभएको दाबी गर्छन्। कतिपय  स्थानीय तहले जनताले चुक्ता गर्ने क्षमताभन्दा बढी कर लगाउन खोज्दा समस्या सिर्जना देखिएको र त्यस विषयलाई अतिशयोक्ति गरिएको अर्थमन्त्री खतिवडाको दाबी छ।

करको विषयलाई लिएर संवैधानिक व्यवस्था र कानुनमा कुनै पनि किसिमको अन्योलता नभएको अर्थसचिव डा. राजन खनाल स्पष्ट पार्छन्। 'संवैधानिक व्यवस्था र कानुनी व्यवस्थामा अन्योलता छैन', उनी भन्छन्, 'संविधानले पनि दोहोरो कर लागेमा के गर्ने भन्ने विषयमा समेत उल्लेख गरेको छ। तर सबैलाई यसबारेमा चेतना नभएर केही समस्या देखिएको हो।'

पछिल्लो समय जनतासँग कति कर उठाउने, कसरी उठाउने, अथवा कर उठाउने कि नउठाउने भन्ने विषयलाई दुहुनो गाईसँग तुलना गर्न खोजिएको छ। कतिपयले वित्तीय संघीयता कार्यन्वयनमा आएपछि जनतालाई दुहुनो गाई बनाएको गुनासोसमेत गरेका छन् भने कतिपयले गाईवस्तुलाई घासपात नदिइ दुहुनु बस्दा लात्तीले हान्न सक्ने चेतावनी दिएका छन्।

अर्थसचिव डा. खनाल भने कर उठाउँदा मुख्यतया दुई तरिकाबाट अघि बढ्नु पर्ने बताउँछन्। पहिलो तरिका बाच्छाले दूध खाँदा गाईले आनन्द माने जसरी हो भने अर्को तरिका जुकाले टोक्दा थाहा नपाए जसरी हो।

'अन्तर्राष्ट्रिय अभ्यास तथा पूर्वीय दर्शनमा करका विषयमा धेरै उल्लेख गरिएको छ', अर्थसचिव डा. खनाल भन्छन्, 'बाच्छाले गाईको दूध खाँदा जसरी गाईले आनन्द मान्छे त्यसै गरी कर लगाउनु पर्छ।' जनताले कर तिर्दा आनन्द अनुभूति गरेर तिर्न सक्ने वातवरण बनाउनु पर्ने खनालको भनाई छ।

यसै विषयमा अर्थमन्त्री डा. खतिवडा करको सैद्धान्तिक पाटो औल्याउँदै फूलबाट मौरीले रस चुसेको प्रसंग जोड्छन्। ‘करको सिद्धान्तले फूलबाट मौरीले रस जसरी निकाल्छ त्यसैगरी सरकारले कर लगाउनु पर्ने' उनले कर तिर्नेले जनताले करको प्रभाव महशुस नगर्ने तर लिनेले महशुस गर्ने गरी उठाउनु पर्ने बताए।

कर उठाउनका लागि अर्थसचिव डा. खनालले सुल्झाएको अर्को उपाय हो जुकाले रगत खाने तरिका। 'जुकाले टोक्दा थाहा नपाए जसरी जनतामाथि कर लगाउनु पर्छ', खनालले भने,  'खाने काम त भइरहेको हुन्छ तर मान्छेले थाहा नै पाएको हुँदैन।'

कर उठाउने अर्को तरिका पनि गाईसँगै जोडिएको छ। अर्थमन्त्री डा. खतिवडाले गाईलाई खुट्टे लगाए जसरी पनि कर लगाउनु पर्ने बताउँछन्। 'दुध दिने गाईलाई घास खुवाउनु पर्छ तर घास खुवाउँदा पनि अटेर गर्ने गाईलाई खुट्टे लगाउनु पर्छ' खतिवडाले भने, 'कर नतिर्नेलाई खुट्टे लगाउन पनि सरकारले सक्नु पर्छ।'

अर्थसचिव डा. खनालले स्थानीय तहले प्राप्त अध्ययन बिना कर लगाउन खोज्दा समस्या उत्पन्न भएको बताएका छन्। उनले छिमेकी देश भारतमा नुनमा कर बढाउँदा ठूलो आन्दोलन भएको प्रसंग कोट्याउँदै करको संवेदनशिलतामा सबै तहका सरकारले ध्यान दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.