|

चितवन : दिवंगत आफन्तको सम्झनामा पश्चिम चितवनको पार्वतीपुर बजारमा गाईजात्रा निकालिएको छ। भरतपुर महानगरपालिका-२१ स्थित विवेक श्रेष्ठले आफ्नी हजुरआमाको सम्झनामा गाईजात्रा निकालेका हुन्।

स्थानीय नेवार समुदायको सहभागितामा बिहान डोकोमा दिवंगत व्यक्तिको कपडाबाट गाई र बाच्छीको प्रतिमा बनाएर मादल, ढोलक तथा मृदुंगा र झुरुम्बाको तालमा नाचेर गाईजात्रा निकाली बजार परिक्रमा गरिएको थियो। सो क्रममा यहाँका नेवार समुदायको बाक्लो सहभागिता थियो। उनीहरुले फरक भेषभूषामा बाजाको तालमा लठ्ठी देखाएर नाच प्रदर्शन गरेका थिए।

बिहान आफ्नो घरबाट शुरु भएर बजार परिक्रमा गरी पहिलो चरणको गाईजात्रा सकिएको र आज साँझ पुन बाँदर नाच, राजारानी नाच प्रदर्शन गरेर गाईजात्रा निकालिने श्रेष्ठले जानकारी दिए। मल्ल राजाकै पालादेखि शुरु भएको गाईजात्रा शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्ने मुल उद्देश्य रहेको विवेक श्रेष्ठ बताउँछन्।

उनकाअनुसार तत्कालीन राजा प्रताप मल्लले आफ्नो पुत्रशोकमा परेकी रानीलाई  खुसी तुल्याउन र दुनियालाई पनि यस्तै शोक पर्छ भन्ने देखाउन गाईजात्रा निकालेका थिए।

हरेक घरमा शोक पर्छ, मानिसको जन्म र मृत्यु स्वाभाविक हुने भएकाले मृत्युलाई त्यही रुपमा बुझ्नुपर्ने भन्ने सन्देश समेत गाईजात्राले दिन्छ। राजाले जनतालाई पनि आफ्नो शोकमा यसैगरी गाईजात्रा निकाल्नु भनेकाले सो समयदेखि गाईजात्रा निकाल्न थालिएको हो।

हरेक वर्ष जनैपूर्णिमाको भोलीपल्ट गाईजात्रा मनाउने चलन छ। मुख्यगरी काठमाडौ, भक्तपुर र ललितपुरमा बढी मनाईने गरेको छ। पश्चिम चितवनको पार्वतीपुर बजारमा भने पहिलो गाईजात्रा निकालिएको देखिएको स्थानिय अपिल घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.