|

संखुवासभा : खाँदबारी नगरपालिका-८ पाठकगाउँ रातमाटेका विपन्न दलित परिवारले जनता आवास कार्यक्रममार्फत नयाँ पक्की घर पाउने भएका छन्। शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाको प्राविधिक तथा आर्थिक सहयोगमा वडा-८ का २४ विपन्न दलित परिवारलाई नयाँ घर बनाइ दिन थालेको छ।

वडाका पाठक गाउँ भित्रका पिप्ले, अर्चले, रातमाटे, पाठकगाउँ, डाँडागाउँ र चापाबोटे लगायत स्थानमा २४ ओटा घर निर्माण भइरहेको वडाअध्यक्ष डम्बर कटवालले जानकारी दिए। उनले भने, 'वडाभित्र धेरै विपन्न र दलितको बस्ती रहेको भए पनि ठोस कार्यक्रम गर्न नसकिरहेको समयमा जनता आवास कार्यक्रम प्रभाबकारी भएको छ।' 

वडाअध्यक्ष कटवालले जनता आवास कार्यक्रममा प्रपोजल पेश गरेर शहरी विकास कार्यालय धनकुटासँग निरन्तर रुपमा सम्पर्क र फ्लोअप गरेपछि हामीले पेश गरेको प्रपोजल पास भएको खबर पाए खुसी लागेको बताए। त्यसपछि त्यहिबाट प्राविधिकको टिमले आएर स्थलगत अवलोकन र अनुगमन गरेपछि घर बनाउन सुरु भएको पनि वडाअध्यक्ष कटवालले बताए। अहिले धेरै जनाको घर निर्माण सम्पन्न भइसकेको छ भने केहीको अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

साना झुप्रोमा बसिरहेका विपन्न दलित परिवारलाई तीन कोठे पक्की भवन निर्माण भएको छ। वडाले विपन्न दलित परिवारका झुप्रा घरहरू पुन:निर्माण गर्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटालाई अनुुरोध गरेको थियो। धनकुटाबाट आएका प्राविधिक टोलीले वडाका विभिन्न स्थानमा २४ परिवारको घर पुनर्निमाण गर्ने निष्कर्ष निकालेका थिए। त्यसैअनुरुप पुन:निर्माणको कार्यको शुरुवात भएको हो। घर निर्माण गर्ने भवन डिभिजन कार्यालय धनकुटाले प्रति परिवार ३ लाख ३० हजार रुपैयाँ बजेट दिएको छ। 

सरकारी निकायबाट किस्ता-किस्ता गरेर दिने रकम सुरुमा आफैँले लगानी गर्नुपर्ने ती गरिब र विपन्न दलितलाई बजारका साहूले घर पुन:निर्माणका लागि सिमेन्ट, इँटा र रड लगायतका निर्माणका सामग्री उधारो कसैले नदिएपछि निर्माण कार्य केही समय रोकिएको थियो।  

विपन्न परिवारले घर निर्माण रकमको गुनासो बोकेर आउन थालेपछि वडासमितिकै अगुवाइमा सबै सामान बजारबाट उधारो ल्याउने र उनीहरूले पाउने रकममध्ये सामानको बेग्लै चेक काटेर साहूलाई दिने शर्तमा पुन:निर्माण कार्यको सुरुवात गरेको वडाअध्यक्ष कटवालको भनाई छ। उनले भने,'हामीले निरन्तर अनुगमन अवलोकन गइरह्याै। काम सजिलै गरी सम्पन्न भयो। त्यसपछि शहरी विकास कार्यालयसँग नै समन्वय गरे दुई ओटा चेक बनाउन अनुरोध गरियो।'

दलित र विपन्न नागरिकले नयाँ पक्की घर पाएपछि उनीहरूमा खुशीयाली छाएको छ। नयाँ घर पाउने भएपछि उनीहरू दैनिक आफैँ खटेर घर निर्माण गरिरहेको वडा सदस्य गजेन्द्र गुरुङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.