|

काठमाडौं : एउटा नदी बग्दै जाँदा विभिन्न ठाउँमा विभिन्न परिचय बनाउँदै जान्छ तर बग्न छाड्दैन। यो उसको विशेषता हो। एउटा मान्छे पनि समाजमा विभिन्न व्यक्तिका लागि भिन्नाभिन्नै परिचय बनाएको हुन्छ।आफ्नो कामको व्यापकतासँगै उसको परिचयको क्षेत्र पनि फरक पर्दै जान्छ। रेडियो नेपालमार्फत् अढाई दशक आफ्नो आवाज देशका कुनाकुनासम्म पुर्‍याएका रमेश पौडेलको परिचय पनि फरक फरक छ। साहित्य क्षेत्रमा उनी कविको रूपमा परिचित छन्। मुक्तककारको रूपमा परिचित छन्। आवाजको दुनियाँमा उनलाई संचारकर्मी भनेर चिन्छन् मान्छेहरू। साहित्य कृतिमा कभर डिजाइन गर्नु उनको अर्को कर्म हो। यो मात्र उनको परिचय होइन, उनी कुशल कवि तथा गीतकार पनि हुन्। उनले लेखेका दर्जनौँ गीतहरू पनि आमनेपालीमा उस्तै लोकप्रिय छन्। उनका लोकप्रिय गीतहरूमध्ये एक हो- 'के वर मागी फर्कियौ भन तिमीले फुज्ने देउतासित?'

केही दिनअघि रेडियो नेपाल पुग्दा उनी आफ्नो काममा व्यस्त थिए। व्यस्तताको बाबजुद पनि उनले यो गीत आफूले सिर्जना गरेकामध्ये राम्रो सिर्जना रहेको बताए। 'हुनत म कला, साहित्यको विद्यार्थी हुँ, आफूले सिर्जना गरेको कुनै पनि चिज रोज्नुपर्‍यो भने रोज्नुपर्ने सूचीमा यो गीत पनि पर्छ', पौडेलले भने।

कवि, लेखक, गीतकारले सिर्जना गर्ने कुनै पनि रचनाले यतिसम्म उचाइ लिन्छ भनेर अनुमान गरेर लेखेको हुँदैन। लेख्दै जाँदा कुनै निकै हुने गर्छ भने कुनै ठीकै। आफूले लेखेको भन्दैमा लोकप्रिय भइहाल्छ भन्नु आत्मरति रहेको बताउँछन् उनी। भन्छन्, 'स्रष्टालाई निकै लागेको आफ्नो सिर्जना पाठकलाई मन नपर्न सक्छ। स्रष्टालाई ठीकै लागेको रचना पाठकलाई मनपर्न सक्छ। यो लेखकको लेखन क्षमतामा निर्भर रहन्छ।'

लेखनको पृष्ठभूमि, भाषा-शिल्पिले आमपाठकलाई जति आकर्षित गर्न सक्छ, त्यो सिर्जना कालान्तरसम्म रहिरहने उनी बताउँछन्। उनले यो गीत कुनै नयाँ परिवेश र प्लटमा गएर लेखेका होइनन्। दैनिक जीवनमा हरेक व्यक्तिले गर्ने र देख्ने दृश्य नै लेखेको बताउँछन्। एउटी अविवाहित युवती मन्दिर दर्शन गरेर फर्कने बेलाको उमेर र समयको कुरा मात्र हो। यही दृश्यलाई अलिक सुललित तवरले आफूले लेखेको उनले बताए।

उनले यो गीतको प्रसंग यसरी निकाले। वि.सं. २०४९ मा उनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक सकेर बसेका थिए। कुनै एक बिहान उनी कमलादीस्थित गणेश मन्दिरको बाटो हुँदै हिँड्दै थिए। त्यहाँ उनले धेरै भक्तजनहरू हातमा थाली बोकेर मन्दिरको दर्शनका लागि लामबद्ध रहेका देखे। त्यही लाइनमा कोही युवती थिइन्, जहाँ उनको आँखा पर्‍यो। उनी बोल्दाबोल्दै टक्क अड्किए र केही सम्झिन खोज्दै बोले, 'ठ्याक्कै स्वरूप यस्तो खाले युवती हो भनेर भन्न सक्दिनँ, ऊ अहिले मेरो नजरमा इन्द्रेणी हो, जुन पानी पर्दा मात्र देखिने गर्छ।'

यो गीतको स्थायी उनले बेलुका आएर आफ्नै डेरामा लेखे। त्यही साल उनले मधुपर्कमा यो गीत छापे। उनका पितासरह साहित्यकार कृष्णप्रसाद पराजुलीले मधुपर्कमा उक्त गीत पढेपछि फोनमा भनेको कुरा आज पनि सम्झिरहने बताउँछन् उनी। पराजुलीले फोनमा भनेछन्, 'मैले यही पृष्ठभूमिमा गीत लेख्छु भनेको तैँले उछिनिछस्, स्याब्बास छोरा!' उनी पराजुलीको यो वाक्य सुनाउँदै गर्दा अलिक भावुक देखिए।

रेडियो नेपालको आधुनिक नेपाली गीत प्रतियोगितामा उनको यो गीतले प्रथम स्थान हासिल गर्‍यो। प्रतिस्पर्धा हुँदा यस गीतलाई शान्तिराम राईको संगीतमा निमा लामाले गाएका थिए तर रेकर्ड भने दश वर्षपछि मात्र भयो। आखिर किन? पुरस्कृत यस गीतलाई लिएर रेडियो नेपालमा काम गर्ने उनका मित्र भूपेन्द्र रायमाझीले कुनै चलचित्रमा राख्नुपर्छ भनेर पौडेललाई आग्रह गरेका थिए। कुनै पनि फिल्मको जुनसुकै प्लटमा राख्न सकिने यस गीतलाई रायमाझीले यस्तो अफर गरेपछि पौडेलले नाइँनास्ती गरेनन्। उनी भन्छन्, 'भूपेन्द्रजीले दस वर्ष गोजीमा हाल्नुभयो। कुनै चलचित्रमा भने हाल्नुभएन। सायद व्यस्त पो हुनुभयो कि!' 

गीत रेकर्डिङ गर्नुभन्दा पहिले साहित्यिक सर्कलमा यो गीत लोकप्रिय भइसकेको बताउँछन् उनी। श्रवण मुकारुङ, खुमनारायण पौडेलहरूले उनलाई यो गीत जुनसुकै कार्यक्रममा सुनाउन आग्रह गर्थे रे! उनी भन्छन्, 'आफूलाई कविता सुनाउन मन लाग्ने, साथीहरू कविता छाडेर गीत सुनाउन आग्रह गर्नुहुन्थ्यो।'

वि.सं. २०५९-०६० सालतिर नारायण रायमाझीले यो गीत रेकर्डिङ कहाँ पुग्यो भनेर खोजी गरे। यो गीतको रेकर्डिङ गर्ने जिम्मा पौडेलले नारायण रायमाझीलाई दिए। रायमाझी स्वयंले यो गीत बोकेर हिँडे। स्वर भने रामभक्त जोजिजुको भरियो। संगीत भरेर पहिलोचोटि सुन्दा कस्तो लाग्यो त? भन्ने प्रश्नमा उनी भन्छन्, ' रायमाझीजी स्वभावमा जति भद्र हुनुहुन्छ, उस्तै भद्र र शान्दार संगीत गर्नुभएको रहेछ। शब्दले न्याय पाएको अनुभव हुन्छ। यद्यपि, अलिकति फास्ट बिटमा भएको भए अझै शानदार बन्थ्यो कि!'

हरेक गीतमा संगीतकारले आफ्नै मिहिनेत गरेको हुन्छ। शब्दको मर्म बुझेर संगीतकारले धून भर्‍यो र शब्द र धून सुहाउने स्वर भए गीत अमर रहने उनको दाबी छ। यो गीत 'प्रीति' एल्बममा समावेश छ, जहाँ राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्दमा 'तिम्रो प्रीति पहिले हो कि मेरो प्रीति पहिले' बोलको गीत पनि  रहेको छ। यस गीतको  सुटिङ सूर्यविनायकमा भएको थियो। 

रेडियो नेपालको वि.सं. २०५० मा सम्पन्न आधुनिक गीत प्रतियोगितामा प्रथम भएका पौडेलका दर्जनौँ गीत चर्चित छन्। उनको 'आभाषित आलाप' नामक गीतसंग्रह प्रकाशित छ भने 'आकांक्षा' र 'आराधना' एल्बम बजारमा आएका छन्। उनको 'लेखिन बाँकी कविता'ले नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव, २०५८ मा प्रथम स्थान हासिल गरिसकेको छ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.