|

बाँके : नेपालगन्जको अति व्यस्त मानिने पुष्पलाल चोकस्थित पुष्पलालको शालिक मूनि पाइप बम राखेको आरोपमा पक्राउ परेका एक जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ। ‘हाम्रो नेपाल, राम्रो नेपाल’ नामक राजनीतिक दलको अध्यक्ष भएको बताउने नलगाड नगरपालिका–४, जाजरकोटका २७ वर्षीय प्रदीप ओलीलाई प्रहरीले बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

उनलाई बिहीबार दिउँसो करिव तीन बजे पुष्पलाल चोकदेखि पाँचसय मिटर पूर्वस्थित एक होटलबाट पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। उनले बम राखेको एक घण्टादेखि नै प्रहरीले ओलीलाई पछ्याएको बताए। ‘बम डिस्पोज हुनुभन्दा एक घण्टाअघि नै प्रहरीले ओलीलाई पक्राउ गरिसकेको थियो,’ उनले भने।

‘हाम्रो नेपाल, राम्रो नेपाल’ र ‘कमाण्डो’ समूहको पर्चा, लेटरप्याड, ४१ हजार पाँचसय १० रुपैयाँ, भारतीय तीन सय रुपैया, एभरेष्ट बैंकको चेकबुक, आधा दर्जन सिमकार्डसहित पक्राउ परेका ओलीले आफूले सर्वसाधारणलाई त्रसाउनका लागि पुष्पलाल चोकमा बम राखेका स्वीकार गरेका छन्।

प्रहरीका अनुसार बम राख्ने ओली को उपनाम ‘दयालु’ रहेको प्रहरीले जनाएको छ। उनी अध्यक्ष रहेको ‘हामी नेपाली हाम्रो नेपाल’ नामक संगठन वि.सं. २०५५ सालमा १५ जना व्यक्ति मिलेर स्थापना गरेको जानकारीमा आएको एसपी पौडेलले जानकारी दिए।

संगठनको भ्रातृ संगठन ‘कमान्डो ग्रुप’ को हवाला दिँदै पुष्पलाल चोकमा बम राखेको बताउँदै पौडेलले समाजमा डर, त्रास फैलाउनेबाहेक उनको अन्य मनसाय नदेखिएको उनले बताए। ‘ओली अध्यक्ष रहेको संगठनको देशमा कुनै संगठन भएको फेला परेको छैन,’ उनले भने।

पुष्पलाल चोकमा बम राखेका ओलीले लगत्तै नजिककैको होटल एभरेष्टमा फोन गरेर जानकारी गराएका थिए। उनले निलो प्लाष्टिकको झोलामा ज्याकेटभित्र बेरेर साकेट बम राखेका थिए। बिहीबार बिहान सवा ९ बजे निलो प्लास्टिकको झोलामा भेटिएपछि पुष्पलाल चोक तनावग्रस्त भएको थियो। उक्त बम करिव ७ घण्टापछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.