|

बाँके : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। हर्न निषेधित क्षेत्र घोषणासँगै नेपालगन्ज नगर क्षेत्रभित्र चालकले आफ्नो सवारीको हर्न बजाउन नपाउने भएका छन्।

जथाभावी हर्न बजाउँदा नगरमा ध्वनी प्रदुषण अत्याधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नेपालगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको हो। ‘हर्न निषेध शहर, हामी सबैको रहर’ भन्ने मुल नाराका साथ ‘हर्न निषेध’ घोषणा कार्यक्रममा बोल्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानले हर्न निषेधित क्षेत्र अभियानलाई सार्थक बनाउन प्रचार र दबाबमुलक कार्यक्रम आवश्यक भएको बताए। उनले घोषणालाई कार्यान्वयन भए नेपालगन्जबासी ध्वनी प्रदुषणबाट मुक्त हुने बताए। 

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सवारी साधनको तीखो र ठूलो हर्नले ध्वनि प्रदुषण भई बाटोमा हिड्ने बटुवा, स्कुले बालकालिका, क्याम्पसमा अध्ययनरत विद्यार्थी, अस्पतालका विरामी लगायतलाई असर गरेको बताए। उनले हर्नको असर तत्काल नदेखिए पनि यसले दीर्घकालिन असर गर्ने बताए। 

एक मंसिरदेखि एक महिनासम्म सचेतनामूलक प्रचार प्रसार कार्यक्रम गर्ने र पुस महिनादेखि ट्राफिक नियम अनुसार हर्न बजाउनेलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए। 

‘नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न ठाउँमा होर्डिङ बोर्ड राख्ने, पर्चा पम्पलेट बितरण गर्ने, ब्यानर राख्ने, यातायात ब्यवसायीसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम हुनेछ,’ उनले भने। उनले एक महिना पछि अँटेर गरेर हर्न बजाउनेलाई ट्राफिक नियम अनुसार  कारवाही गरिने जानकारी दिए। कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका कार्यक्रम अधिकृत शरद पौडेल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल रोकाय, सशस्त्र प्रहरी दङ्गा प्रहरी गण प्रदेश ६ का प्रमुख, उद्योगी, यातायात ब्यवसायी लगायतको उपस्थिति रहेको थियो।

हर्न निषेधित क्षेत्र घोषणा कार्यक्रममा उपस्थित सबैले ‘म आजदेखि हर्न बजाउँदैन’ भन्ने प्रतिवद्धता सहित सेतो ब्यानरमा हस्ताक्षर समेत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दस्तखत गरेर यो अभियानलाई सफल बनाउनका लागि प्रतिबद्धता जनाएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.